खेल संचालन गर्न आइसिसीसामु ४ विकल्प

|

आइसिसी विश्वकप क्रिकेटको १२ औँ संस्करण इंग्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गरेका छन्। १२ औँ संस्करणको एक दिवसीय विश्वकपमा लिगचरणका झन्डै आधा खेल सकिएका छन्।

लिग चरणमा जम्मा ४५ वटा खेल हुनेछन्। विश्वकपमा १० टिम सहभागी रहेकाले प्रत्येक टिमले लिग चरणमा ९ खेलमा प्रतिस्पर्धा गर्नेछन्। आधिकारिक रूपमा १० वटा टिम प्रतिस्पर्धा गरिरहेको प्रतियोगितामा ११ औँ टिम आफ्नै तालमा प्रवेश गरेको छ।

११ औँ टिमको एउटै उद्देश्य छ, प्रतिस्पर्धामा रहेका आधिकारिक दुई टिमको  खेल बिगार्ने। यो ११ औँ टिम हो वर्षा। जारी विश्वकपमा अहिलेसम्म भएका २१ मध्येका महत्त्वपूर्ण ४ खेल वर्षाका कारण रद्द भएका छन्। वर्षाले एकपछि अर्को खेल रद्द भएपछि आइसिसी माथि प्रश्नको बाढी चलेको छ।

वर्षा हुन्छ भन्ने जानेर पनि किन इंग्ल्यान्डमा प्रतियोगिता आयोजना गरियो? रिजर्व डे को व्यवस्था किन भएन? ४ वर्षमा आउने प्रतियोगितालाई आइसिसीले किन खल्लो बनायो? यी र यस्तै प्रश्न यो ११औँ खेलाडीका कारण आइसिसीतर्फ तेर्सिएका छन्।

अहिलेसम्म दक्षिण अफ्रिका र वेस्टइन्डिज, श्रीलंका र पाकिस्तान, श्रीलंका र बंगलादेश तथा भारत र न्युजिल्यान्डबीचका खेल वर्षका कारण रद्द भएका छन्।

विश्वकपको इतिहासमा वर्षा बलियो बनेको यो नै पहिलो पटक हो। यसअघि सन् १९९२ र २००३ मा दुई-दुई वटा खेल वर्षाले रद्द भएका थिए। यस अघिका ११ संस्करणमा भएका ४०० भन्दा बढी खेल मध्ये ९ वटा खेल मात्र वर्षाले रद्द भएका थिए। वर्षाले खेल रद्द हुँदा टिमले अंक बढ्नु परिरहेको छ। यति मात्र होइन लाखौँ रकम खर्च गरेर खेल हेर्न इङ्ल्यान्ड पुग्ने समर्थक निराश बनेका छन्। फेरी पनि मौसमको गडबडी यती नै हो भन्ने अवस्था छैन। अझ अगाडि खेलिने कति खेलमा वर्षाको प्रभाव पर्ने हो अहिले भन्न सकिन्न।

आज विश्वकपका दुई चीर प्रतिद्धन्द्धी भारत र पाकिस्तान आमनेसामने हुँदा मौसम बाधक बन्ने पूर्वानुमान गरिएको छ। त्यहाँको मौसम विभागले दिउँसो २ बजे पछि वर्षाको अनुमान गरेको छ। यस बिचमा वर्षाका कारण खेलको मज्जा लिन नपाएका दर्शकले आइसिसीलाई केही सुझाव पनि दिएका छन्। तर ती सुझाव कतिको व्यवहारिक छन् त?

१.   स्टेडियममा अस्थायी छानो 

२००९ मा बिम्बलडनको सेन्टर कोर्टमा अस्थायी छानो लगाइएको थियो। केही दर्शकले यही प्रकारले अस्थायी छानोको व्यवस्था गर्न माग गरेका छन्। तर, क्रिकेट मैदानमा छानो लगाउने काम त्यति सजिलो छैन। यो जटिल र खर्चिलो काम हो। टेनिस स्टेडियम सानो भएकाले छानो हाल्न सम्भव भए पनि क्रिकेट स्टेडियममा यसो गर्न असाध्यै कठिन छ।

२.   मैदानलाई प्लास्टिक सिटले ढाक्ने

भारत र न्युजिल्याण्ड बिचको खेल वर्षा रोकिएपनि ग्राउण्ड हिलो भएका कारण रद्द भएको थियो। दर्शकको माग के छ भने, वर्षा हुन्जेलसम्म मैदानको सबै भागमा प्लास्टिकको कभर राखियोस्। यसो गर्नाले वर्षा सकिने बित्तिकै कभर झिकेर खेल सुरु गर्न सकिन्छ। अहिले वर्षा हुँदा पिचमा मात्र  कभर राख्ने चलन छ। तर यसका लागि धेरै भन्दा धेरै ग्राउन्ड कर्मचारी आवश्यक्ता पर्छ। आर्थिक हिसाबले यति धेरै ग्राउण्ड कर्मचारी राख्न इङल्यान्डमा सम्भव छैन। हुन त ग्राउण्ड छोप्ने काम इङल्यान्डमा १९८१ देखी २००१ सम्म भएकै हो। तर, यसो गर्दा मैदानको घाँसमा गुम्सिएर पसिना बढी आएको थियो। जसले ब्याटिङ गर्न समस्या पैदा भएको थियो।

३. 'रिजर्व डे'को व्यवस्था

यस अघि सन् १९९९ मा विश्वकप आयोजना गरेको इङल्याण्डले रिजर्व डे अर्थात् सुरक्षित दिनको व्यवस्था गरेको थियो। तर यो पटक लिग चरणका खेलमा सुरक्षित दिनको व्यवस्था छैन। सेमिफाइनल र फाइनल खेलमा भने रिजर्व डे राखिएको छ। रिजर्व डे राख्नाले प्रतियोगिता लामो हुने भएकाले नराखिएको आइसिसीले जनाएको छ। आइसिसीका मुख्य कार्यकारी डेभिड रिचर्डसनले रिजर्व डेमा चाहिँ पानी नपर्ने के ग्यारेन्टी छ? भनेर प्रश्न पनि गरेका छन्।

४.  इङल्याण्ड र वेल्स बाहेक अन्य स्थानमा विश्वकप आयोजना

यो सुझाव भने व्यवहारिक छैन। वर्षा त जहाँ पनि हुन सक्छ। वर्षाको सम्भावना ज्यादा छ भन्दैमा प्रतियोगिता आयोजना गर्न नदिने भन्ने हुन्न।

वर्षालाई टिमको भाग्यसँग जोडेर पनि हेरिएको छ। कमजोर मानिएका टिमले वर्षा कै कारण अंक पाएका छन्। अर्को तर्फ खेल रद्द नभएको अवस्थामा भने वर्षा पछि अस्वाभाविक नतिजा पनि निस्कने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.