'गरिबका आँशु देखेर कांग्रेसलाई दया लागेन?'

|

काठमाडौं : सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीकी सचेतक शान्ता चौधरीले सरकारले गरिब जनताका पक्षमा काम गर्नुपर्ने बताएकी छन्।

संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकमा सचेतक चौधरीले प्रश्न गरिन्, 'चर्को गरी बोल्नेका विषय मात्रै भावनात्मक हुन्छन्? गरिबका विषय भावनात्मक हुँदैनन्? गरिबका पक्षमा बोल्नै नहुने? त्यसो भए गणतन्त्र किन चाहियो? हलो जोत्नेका विषयमा भावनात्मक हुँदैनन्?'

भगवानका नाममा मान्छेलाई रुवाउन नहुने चौधरीको भनाइ थियो। उनले भनिन्, 'धर्म हाम्रो आस्था हो, संस्कृति हो, पहिचान हो। मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ? गरिबका आँशु देखेर प्रतिपक्षलाई अलिकति पनि दया लागेन?'

अहिले प्रमुख प्रतिपक्षी कांग्रेसले गुठी विधेयकलाई लिएर धेरै हल्ला गरिरहेको भन्दै चौधरीले कांग्रेसका संसदहरूलाई आफ्नो विगत हेर्न सुझाव दिएकी थिइन्। उनले भनिन्, '२०४१ सालदेखि गुठी विधेयकमा पटकपटक संशोधन प्रयास भएको छ। २०४९ सालमा गिरिजाप्रसाद कोइरालाले र २०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला गुठी विधेयक संशोधन प्रयास भएको थियो। प्रतिपक्षका सांसदहरूले त्यतातिर मात्रै सोच्नु हुँदैन।'

काठमाडौं उपत्याकाभित्र र बाहिरका गुठीका समस्या फरकफरक प्रकृतिका भएका चौधरीको भनाइ थियो। अहिले सरकारले संसदमा दर्ता गरेको गुठी विधेयकले दुवैका समस्या समाधान गर्ने उनको दाबी थियो। उनले भनिन्, 'दाङको स्वर्गद्वारी गुठीको १२०० बिघा जमिन १६०० घरपरिवारले जोतभोग गरिरहेका छन्। आज स्वार्गद्वारी मन्दिरलाई संरक्षण गर्नेको अवस्था नाजुक छ। त्यतातिर कसैले हेरिरहेको छैन।'

'मन्दीर संरक्षण गर्न आफ्नो हातमा ठेला उठायो ती किसानका पक्षमा बोल्ने कि नबोल्ने? एउटा मन्दीरको पक्षमा बोलिन्छ, एउटा गुठीयारको पक्षमा बोलिन्छ, ती किसानको पक्षमा बोल्ने कि नबोल्ने?', चौधरीका प्रश्न थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.