|

काठमाडौं :  भूकम्प प्रभावित ५० प्रतिशत बढी विद्यालयहरूको पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ। शुक्रबार एकैदिन दक्षिणकाली नगरपालिकाका ३ र गोकर्णेश्वर नगरपालिकाको १ गरी चार विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ।

दक्षिणकाली नगरपालिका– ३ को सेतीदेवि माध्यमिक विद्यालय, गणेश आधारभूत विद्यालय र वडानम्बर-४ को फर्पिङ मावि साथै गोकर्णेश्वर नगरपालिकाको चामुण्डा माविलाई नयाँ भवन हस्तान्तरण गरिएको हो।

दक्षिणकाली नगरपालिकाका नवनिर्मित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख मोहन बस्नेतले इकाइले बनाइदिएको भवनमा विद्यार्थी र गुणस्तर बढाउने जिम्मा नगरले लिने बताए। नगरका १९ वटा विद्यालयमध्ये कसैको जग्गा नभए पनि नगरले स्थानीयको सहयोगमा व्यवस्थापन गरिदिएपछि १३ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिए।

काठमाडौंमा भूकम्पका कारण २४१ विद्यालयमा क्षति पुगेको थियो। जसमा ६४ बनिसकेका छन्। ६८ वटा निर्माण सम्पन्न हुने तरखरमा छन्। इकाइका इञ्जिनियर सागर पौडेलका अनुसार ५० प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको र आगामी माघ महिनासम्ममा थप ३० प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न हुनेछ।

अब जिल्लामा ६१ विद्यालयका भवन बनाउनुपर्ने देखिन्छ जसमा २९ वटा विद्यालय जग्गा नहुँदा निर्माण कार्य हुन सकेको छैन। ती विद्यालयहरूलाई मर्ज गर्ने कि के गर्ने भन्नेमा छलफल चलिरहेको र बाँकी ३१ वटा चाहिँ १८ महिनाभित्र बनाइसक्ने इकाइका इञ्जिनियर पौडेलले जानकारी दिए।

 ‘इकाइले भवन बनाउँदै जाओस् त्यसमा टन्न विद्यालय भर्ने काम नगरले गर्छ’ उनले भने, ‘अब नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी टिभी र विद्युतीय हाजिरीको व्यवस्था नगरले गर्छ।’  विद्यालयमा गुणस्तर सुनिश्चितताका लागि नयाँ योजना ल्याइने स्पष्ट पार्दै नगरप्रमुख बस्नेतले यस्तो सुविधा सम्पन्न विद्यालय छाडेर अन्त नजान स्थानीयवासीसँग आग्रहसमेत गरेका छन्।

विद्यालयको गतिविधि अब नगरपालिकाबाट र अभिभावकले घरबाट नियाल्ने कामको तयारी भइरहेको भन्दै बस्नेतले इकाइले विद्यालयहरूमा शौचालय र खानेपानीको पनि व्यवस्था गरिदिने भएकोमा खुसी व्यक्त गरे। यसवर्ष नगरले विद्यालय खाजाको कार्यक्रमसमेत बढाएको उनको भनाइ छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का आयोजना निर्देशक इमनारायण श्रेष्ठले आफूहरूले बनाइदिएको भवनमा विद्यार्थी र गुणस्तर बढाउने साथै मर्मतसम्भार गर्ने काम नगर र स्थानीयले गर्नुपर्ने बताए। यी भवनहरूको सदुपयोग गर्ने चुनौती स्थानीय र नगरको भएको स्पष्ट पार्दै श्रेष्ठले भने, ‘यी भवनमा विद्यार्थी भराउनुस् नपुगे थप भवन बनाइदिन्छौँ।’

भूकम्पले विद्यालयको भवन मात्रै नभई अभिभावक, विद्यार्थी र शिक्षकको मन, खुसी र आत्मविश्वास पनि भत्काएको भन्दै आयोजना निर्देशक श्रेष्ठले पुनर्निर्माणले उनीहरूको मन, खुसी र आत्मविश्वासको पनि पुनर्निर्माण गराइदिएको स्पष्ट पारेका छन्।

भूकम्पले झण्डै ८ हजार विद्यालय भवनमा क्षति पुर्‍याएकाले एकैचोटी निर्माण कार्य गर्न गाह्रो हुने भएकाले इकाइले विभिन्न मोडलमा पुनर्निर्माणको काम अगाडि बढाइरहेको श्रेष्ठले जानकारी दिए। यसवर्षदेखि इकाइले भवनसँगै शौचालय र खानेपानीसमेत निर्माण गरिदिन सुरु गरेको श्रेष्ठले बताएका छन्।

दक्षिणकाली नगरपालिका-३ का कार्यवाहक वडाध्यक्ष लक्ष्मी भण्डारीले जिल्ला कार्यान्वयन इकाइलाई भवनसँगै अन्य भौतिक पूर्वाधारमा पनि सहयोग गर्न आग्रह गरिन्। गणेश आधारभूत विद्यालयका प्रअ हरिशचन्द्र श्रेष्ठले नयाँ भवन पाएपछि अबको ध्यान गुणस्तरीय सिकाइमा केन्द्रित गरिने बताए। सुविधासम्पन्न यस विद्यालयलाई छाडेर अन्त नजानसमेत उनले अभिभावकहरूसँग आग्रह गरेका छन्। 

जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) काठमाडौंका प्रमुख अर्जुन रायमाझीले इकाइले बनाइदिएको भवनमा विद्यार्थी संख्या बढाई गुणस्तरीय शिक्षण सिकाइ गर्न आग्रह गरेका छन्। विद्यालय भवन निर्माण गर्दा आफूह¿ले सिकाइसँगै सुरक्षालाई पनि ध्यान दिएको भन्दै उनले सबैलाई आफ्ना बच्‍चा सामुदायिक विद्यालयमै पढाउनसमेत आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.