|

काठमाडौं : दुईदिने ‘बृहत भारतीय शैक्षिक मेला २०१९’ राजधानीमा सम्पन्न भएको छ। भारतका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको चौथो तलामा जेठ २३ देखि उक्त शैक्षिक मेला सुरु भएको थियो।

उक्त शैक्षिक मेलामा शनिबार भारतका प्रतिष्ठित विश्वविद्यालय र कलेजको सहभागिता रहेको थियो। प्लस टु तथा स्नातक तहको परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरिएको एक्स्पोमा भारतमा अधययन गर्न उपयुक्त, विषय, त्यसको प्रभाव र अध्ययनका लागि आवश्यक तयारीका बारेका जानकारी दिइएको थियो।

कार्यक्रमका सदस्य लक्ष्मण शाहका अनुसार शनिबार पाँच सय र आइतबार तीन सयको हारहारीमा विद्यार्थीको उपस्थिति रहेको थियो। आइतबार कार्यक्रममा आफ्ना छोराछोरीको पढाईको लागि भारतीय कलेजबारे बुझ्न करिब ५० अभिभावकको पनि सहभागिता रहेको उनको भनाई छ। उनका अनुसार नेपाली विद्यार्थी भारतका विश्वविद्यालयमा पढ्न जाँदा त्यहाँका विश्विद्यालयकोबारे बुझ्दै सहकार्य गरेर जाने वातावरण सिर्जनाको लागि यो कार्यक्रम सञ्चालन गरिएको हो।

सदस्य शाहले उक्त मेलामा उच्च शिक्षा अध्ययनको लागि भारतको एनएसि, एबिइटी, एनबिएलगायतबाट मान्यताप्राप्त उत्कृष्ट विश्वविद्यालय तथा कलेजको बारेमा नेपाली विद्यार्थीलाई पूर्ण जानकारी गराइएको बताए। उनले भने, ‘विद्यार्थीलाई विश्वविद्यालय सँगसँगै त्यहाँ पढाई हुने इन्जिनियरिङ, म्यानेजमेन्ट, प्यारामेडिकल, फेसन डिजाइन, आइटी, पाईलट ट्रेनिङ र आयुर्वेदिक संकायको बारेमा जानकार गराइएको छ।’

उक्त मेलाबाट नेपाली विद्यार्थी भारतसम्म पुगेर सबै कलेज र विश्विद्यालय घुमेर बुझ्नुभन्दा यही सबै विषयबारे जानकारी लिन पाउँदा विद्यार्थीलाई सहज भएको छ। मेलामा विद्यार्थीले निःशुल्क रुपमा भारतबाट आउने ठूला र उत्कृष्ट विश्विद्यालयबाट परामर्श, शुल्क संरचना, कलेजको वातावरण, भर्ना हुने तरिका, छात्रवृत्ति, भारतीय शिक्षाको प्रावधान र व्यवस्था र होस्टेल तथा खानापिनको व्यवस्थाको बारेमा प्रत्यक्ष जानकारी लिएका छन्। आयोजक समूहका अनुसार उक्त शैक्षिक मेलामा एउटै थलोमा ४० भन्दा बढी भारतीय कलेज र विश्विद्यालयको प्रतिनिधित्व रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.