|

काठमाडौं : कोपा अमेरिकाअन्तर्गत सोमबार समूह 'बी' को आफ्नो पहिलो खेलमा एसिया कप विजेता कतारले पाराग्वेको सामना गर्दैछ।

विश्वकै ठूलो रंगशाला मराकानामा राति पौन १ बजे हुने खेलमा दुवै टिम जित निकाल्दै समूह चरण प्रवेशको दाउँमा रहेका छन्। एसियाकपको उपाधी जितेको कतारले उपविजेता जापानसँगै आमन्त्रित टोलीको रुपमा कोपा अमेरिकामा सहभागीताको अवसर पाएको हो।

हालसम्म कतारले पाराग्वेसँग ३ मैत्रीपूर्ण खेलमा १ जित १ हार र १ बराबरीको नतिजा निकाल्न सफल भएको छ। २६ फेब्रअरी १९८६ मा १–१ बराबरी खेलेको कतार १ मार्च १९८६ मा ३–० ले विजयी भएको थियो। १३ नोभेम्बर २००९ मा अन्तिम पटकको भेटमा कतार २–० ले पराजित भएको थियो।

सन् २०२२ को विश्वकप आयोजक कतारलाई पाराग्वेविरुद्ध जित निकाल्दै लयमा रहेको प्रमाणित गर्न अवसर रहेको छ। कतारी टोली हसन अल हायदोसको कप्तानीमा उत्रिनेछ। पाराग्वे कोपा अमेरिका सन २०११ को उपविजेता टोली हो।

इक्वेडरलाई स्वारेज र काभानी चुनौती

त्यसैगरी, दोश्रो खेलमा पौन ४ बजे उरुग्वेले इक्वेडरको सामना गर्नेछ। मिनारियो रंगशालामा खेल हुनेछ। दक्षिण अमेरिकी फुटबलको सवैभन्दा बढी ट्रफी जित्ने टोली हो उरुग्वे।

उसले ११ वटा दक्षिण अमेरिकी च्याम्पियनसिप र ४ वटा कोपा अमेरिका आफनो पक्षमा पारेको छ। इक्वेडर विरुद्ध उरुग्वेको इतिहास समेत बलियो देखिन्छ । यी २ टोली ४७ खेलमा आमनेसामने भएका थिए। जस्मा उरुग्वेले ३० जित, ११ बराबरी र ६ खेलमा हार व्यर्होरेको छ।

इडिन्सन काभानी र लुइस स्वारेजमा रोक्न इक्वेडरको डिफेन्सिङ लाइनलाई मजबूत बनाउनुपर्ने देखिन्छ। २७ संस्करणको प्रतियोगितामा सहभागीता जनाएको इक्वेडरले ११८ खेलमा सहभागीता जनाउँदै १६ खेल मात्र आफ्नो पक्षमा पार्न सफल भएको छ।

इक्वेडर सन् १९९३ को संस्करणको सेमिफाइनल पुग्ने टिम हो। यता उरुग्वेले पछिल्लो पटक २०११ को उपाधी जितेको थियो। दक्षिण अमेरिकामा सबैभन्दा बढी उपाधी जित्ने टोली उरुग्वे हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.