|
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गुठीलाई कुदृष्टि लाउनेको कहिले भलो नभएको भन्दै केपी ओली नेतृत्वको सरकारको दिनगन्ती शुरु भएको बताएका छन्।

गुठी विधेयकको विरुद्धमा आइतबार कांग्रेसले आयोजना गरेको विरोधसभामा बोल्दै उनले पशुपतिनाथ चलाउन खोज्दा तत्कलिन प्रधानमन्त्री पुष्पकमल दाहाल र कुमारीजात्रालाई चलाउन खोज्दा बाबुराम भट्टराईको हालत के भयो? भन्दै बुझ्न प्रधानमन्त्री ओलीलाई सुझाव पनि दिए। उनले सामाजिक सहिष्णुतालाई बिथोल्नका लागि गुठीसम्बन्धि विधेयक ल्याएको आरोप पनि लगाए।

सिंहले संविधानको मर्म र भावना विपरीतको गुठी विधेयकविरुद्ध संसदमा कुरा उठाइरहेको कांग्रेस आजबाट सडकमा पनि विरोधमा उत्रिएको बताए। “गुठीमा जसले कुदृष्टि राख्छ त्यसको कहिल्यै भलाई भएको छैन। ओली सरकारको पनि दिनगन्त शुरु भइसकेको छ। यसको राम्रो छैन भविष्य,” नेता सिंहले भने “यो सरकारलाई आफूले गरेको गलत सच्याउने मौका दिनुपर्छ। यदि सच्चिएन भने जनताको मतबाट आउको सरकार जनताले नै त्यसको टुँगो लगाउँछन्। सरकारले गम्भीर भएर सोचोस्।”

काठमाडौंको जनतालाई सामन्तीको संज्ञा दिइएको भन्दै उनले आपत्ती जनाउँदे उनले काठमाडौंवासीले विकसित गरेको संस्कृति,परम्पराले नै नेपाललाई विश्वमा चिनाएको स्मरण गराए। नेपालको मूल धर्मसाँस्कृतिलाई नै समाप्त गर्ने मनसायले गुठी विधेयक ल्याइएको भन्दै धर्म, संस्कृतिको रक्षा गर्न काठमाडौंवासीलाई उठ्न पनि आग्रह गरे। नेता सिंहले गुठी विधेयकविरुद्ध विभिन्न संघ संस्थाले सुरु गरेको आन्दोलनमा कांग्रेसको पूर्ण साथ समर्थन रहेको पनि बताए।

विरोधसभामा कांग्रेस काठमाडौंबाट निर्वाचित सांसद भीमसेनदास प्रधान, गगन थापा, राजेन्द्र केसी,  कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, नवीन्द्रराज जोशी पनि सहभागि थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.