|

तनहुँ : स्वास्थ्य कार्यालय तनहुँले जिल्ला कारागारका कैदी बन्दीलाई आइतबार मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिएको छ। आत्महत्या तथा अपराधिक घटना न्यूनीकरणमा मद्दत पुर्‍याउने उद्देश्यले कैदीबन्दीलाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिइएको स्वास्थ्य कार्यालय तनहुँका जनस्वास्थ्य अधिकृत एश्वर्यचन्द्र भट्टराईले जानकारी दिए। 

कार्यक्रममा पश्चिमाञ्जल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत मानसिक रोग विशेषज्ञ डा. लिपा वैद्यले परामर्श दिएकी थिइन्। कारागार सुधार गृह भएको र सजाय पुरा गरिसकेपछि फेरि पनि त्यस्ता घटना दोहोरिने जोखिम हुने भएकोले न्यूनीकरणका लागि परामर्श दिइएको भट्टराईले बताइन्।

कारागारका १४८ जना कैदीबन्दीलाई परामर्श दिइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। जिल्ला स्वास्थ कार्यालय तनहुँका प्रमुख रमेश बाह्रकोटीले शारीरिक स्वास्थ्यको उपचार मात्रै नभई मानवीय जीवनमा मानसिक स्वास्थ्यको पनि उपचार गर्न जरुरी रहेकोले परामर्श दिइएको बताए।

जिल्ला कारागार तनहुँका निमित्त प्रमुख नारायण अधिकारीले कारागार सुधार गृहको रुपमा रहेकाले मानिसलाई सुधार परामर्शले टेवा पुग्ने बताए। उनले सुधार गृहको रुपमा सार्थक तुल्याउन समय समयमा कैदीबन्दीलाई मानसिक स्वास्थ्य परामर्श दिन आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.