|

काठमाडौं : पसिना छुटाउने मध्य दिनको चर्को घाम। राजधानी काठमाडौँको पोखरीमा हुलका हुल महिला धमाधम भित्ता सम्याउँदै र खुट्टाले माटो मुछ्दै छन्। प्राकृतिक मिश्रण बज्र तयार हुँदै छ। इँटा पखालिँदै छ। 

राजा प्रताप मल्लको पालामा बनेको रानीपोखरी २०७२ सालको भूकम्पले भत्कियो । पुनःनिर्माण गर्न लाग्दा केही समयअघि विवाद पनि देखियो तर अहिले भक्तपुरका कामदार आएपछि काम धमाधम भइरहेको छ। ‘सुरुमा आउँदा यहाँ हामीजत्रै घाँस र गन्हाउने फोहोर धेरै थियो, मरेका कुकुर पनि फाल्यौँ’  माटो मुछ्दै शर्मिला नापितले भनिन्, ‘अब पोखरीको रूप सिँगार्दै छौँ।’ 

अर्को महिला समूह उबडखाबड माटाका भित्ता सिनित्त पार्न व्यस्त थिए। पूर्णकेशरी बाटी, पूर्णेश्वरी तमखुलगायत लामालामा फेद भएका कोदालाले भित्ता खारखुर पार्दै माटो तल झार्दै मिलाउँदै थिए। ‘पहिले बिग्रेको यो भित्ता बनाउनुपर्‍यो नि,’ बाटीले भनिन्, ‘बल्ल यसमा माटो पोत्ने हो।’ अर्को समूह पुराना इँटा धुँदै पखाल्दै छुट्याउन व्यस्त थियो। 

‘पुराना इँटाभरि लेउ नै लेउ छ, त्यही झार्दै धुँदै छौँ,’ तमखुले भने, ‘इँटा पुराना भए पनि बलिया छन् पर्खाल बनाउन नयाँसँग यही इँटा मिसाउने हो।’ उनीसँगै कृष्णा दुवाल र कृष्णश्वरी बासी काम गर्दै छन्। यसरी नै रानीपोखरी पुनःनिर्माणअन्तर्गत पर्खाल र पोखरी निर्माण यतिबेला महिलाको हातमा पुगेको छ भन्ने खबर गोरखापत्र दैनिकमा छ।

पोखरीमा कताकति अलि अलि पानी देखिन्छ। पूर्वपट्टि लाग्दै गर्दा रानीपोखरी छिर्ने जमलतिरको ढोकाबाट अलिक तल सानासाना दुईवटा कृत्रिम पोखरी बनाइएका छन्। त्यसमा बज्र (प्राकृतिक लेपन) र माटाले टालेको एउटा पोखरी र अर्को सिमेन्टको पर्खाल सहितको आधुनिक पोखरीको नमुना छ। कुन पोखरीमा बढी पानी टिक्छ भनेर हेर्नका लागि त्यसो गरिएको मैयाँकेशरी ध्वजूले जानकारी दिए। 

रानीपोखरी पुनःनिर्माण अघिल्लो तीन वर्ष आधुनिक सामग्री प्रयोगको विषयलाई लिएर विवादित रह्यो। त्यसपछि भक्तपुरमा स्थानीय आफैँले गरिरहेको पुनःनिर्माण हेर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातìव विभाग र काठमाडौँ महानगरपालिकाका पदाधिकारी पुगेका थिए। उनीहरुले आगामी भाइटीका सम्म तयार हुनस सक्ने बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.