'संसदीय मर्यादा कायम राख्ने भूमिका निभाउन सभामुखसँग आग्रह'

|

काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपालले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भूमिका निर्वाह गर्न सभामुखसँग आग्रह गरेको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद लक्षमणलाल कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भुमिका निर्वाह गर्न सभामुखसँग आग्रह गरेका हुन्।

राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई दिएको निर्देशन संवैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिन भनेर संसदीय गरिमामाथि नै चुनौति दिने काम गरेको भन्दै कर्णले संसदको गरिमा, मर्यादा बचाउन अभिभावकको भूमिका निर्वाह गर्न सभामुखलाई आग्रह गरेका थिए। समिति र संसदको अवहेलना र उपहास नहोस् भन्ने तर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए।

राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा कर्णले आक्रोश पोखेका थिए। संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउदै उनले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको दाबी गरे।

कर्णले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगको आलोचना गरेका थिए।

'समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्ने? मन्त्रीको जन्म यही संसदबाट भएको हो। मन्त्री आकाशबाट आएको होइन। मन्त्रीले बुझ्नुपर्छ। यो संसदले जन्माएको हो मन्त्री', कर्णले लोकसेवालाई पनि सचेत गराउँदै भने, 'लोकसेवा आयोगको अध्यक्षले भन्छ म मान्दिनँ। प्रवक्ताले भन्छ म मान्दिनँ। अब कसको कुरा मान्ने त? संविधान पनि नमान्ने, कानुन पनि नमान्ने र संसदलाई पनि नमान्ने हो भने यो देश कसले चलाइरहेको छ? एकजना मन्त्री र एकजना लोकसेवा आयोगले चलाउन सक्छ यो देश? विज्ञापनको विरोधमा आन्दोलन भइरहँदा कसैलाई चिन्ता नभएपनि हामीलाई चिन्ता छ। यहीँ समानुपातिक समावेशीका लागि हामीले लडाई गर्‍या हो, आन्दोलन गर्‍या हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.