विधेयक हाललाई फिर्ता लिन सांसदको सुझाव
विधेयक हाललाई फिर्ता लिन सांसदको सुझाव
काठमाडौं : सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि त्यसलाई साम्य पार्न सरकार र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सक्रियता देखाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान विधेयकबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालसँग छलफल गरेका छन्।
विहान मन्त्रीसँग जानकारी लिएका प्रधानमन्त्री ओलीले अहिले काठमाडौं उपत्यकाबाट निर्वाचित प्रतिनिधिहरूसँग छलफल गरिरहेका छन्। गुठी बिधेयकमा विवाद किन? अब कसो गर्दा उचित होला? भन्ने विषयमा प्रधानमन्त्रीले छलफल गरेका हुन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार छलफलमा काठमाडौं उपत्यकाका सांसद, प्रदेशसभाका सदस्यहरू, मेयर/उपमेयर, वडा अध्यक्षहरू बीच छलफल जारी छ।
गुठी बिधेयकमा विवाद किन? अब कसो गर्दा उचित होला ? प्रम @kpsharmaoli द्वारा काठमाडौ उपत्यकाका सॉसद, प्रदेश सभाका सदस्यहरू, मेयर-उपमेयर - वडा अध्यक्षहरु बीच छलफल जारी pic.twitter.com/VGvNdRErQl
— Bishnu Rimal (@BishnuRimal) June 17, 2019
यस्तै नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि आजै गुठी विधेयकका बारेमा काठमाडौंबाट निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्। दिउँसो १ बजेदेखि साढे २ बजेसम्म सिंहदबारस्थित कृषि समितिको हलमा बसेको बैठकमा सांसदहरूले सरकारले ल्याएको विधेयकले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेका कारण जनतामा आक्रोश पैदा भएको भन्दै तत्काल फिर्ता लिनका लागि पहल गर्न वरिष्ठ नेता नेपाललाई आग्रह गरेका छन्।
विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिने र सरोकारवालाहरूसँग व्यापक छलफलपछि मात्रै अघि बढाउनेमा सांसदहरूले जोड दिएका नेकपा नेता विष्णु रिजालले जानकारी दिए।
यसैबीच, गुठी विधेयकका विषयमा विभिन्न पक्षसँग छलफल जारी राखेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नै महत्त्वपूर्ण निर्णय लिने सम्भावना रहेको छ। नेकपाका नेता योगेश भट्टराईका अनुसार गुठी विधेयकका विषयमा प्रधानमन्त्रीले सक्रियता देखाएकाले आजै राम्रो निर्णय आउने सम्भावना रहेको हो। सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले धमिलो पानीमा माछा मर्न खोज्नेको भागमा भ्यागुत्तो मात्र हात लाग्ने बताएका छन्।
गुठी बिधेयकका बिषयमा @PM_Nepal ले थप सक्रियता बढाउनु भएको छ । आशा छ साँझसम्ममा राम्रो परिणाम आउने छ । धमिलो पानीमा माछा मर्न खोज्नेको भागमा भ्यागुत्तो मात्र हात लाग्नेछ ।
— Yogesh bhattarai (@yogesbhattarai) June 17, 2019
राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकको विरोधमा सडक र सदनमा आन्दोलन जारी छ। आफ्नो परम्परा मास्न खोजेको भन्दै काठमाडौं उपत्यकाकाबासीले आन्दोलन जारी राखेका छन् भने उनीहरूको आन्दोलनमा नेपाली कांग्रेसले समर्थन जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।