|

नवलपरासी  : युवा तथा खेलकुदको बजेट कुन क्षेत्रमा प्रयोग होला? सवैको सहज जवाफ आउनेछ खेलकुद प्रतियोगिता र युवा लक्षित कार्यक्रममा खर्च हुन्छ।

तपाइँ पनि यही सोचिरहनुभएको छ गलत सावित हुनुहुने छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ को कार्यालयले युवा तथा खेलकुदको रकम अनौठो तरिकाले खर्च गरेको छ। वडा कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा युवा तथा खेलकुदको रकम बनभोजमा खर्च गरेको छ।

वडा कार्यालयले युवा तथा खेलकुद क्षेत्रको २ लाख रुपैयाँ बजेट मध्येको १ लाख २५ हजार रुपैयाँ बनभोज गएर खर्च गरेको हो। वडा कार्यालयले जेठ ३२ गते दुईवटा बसमा वडाका युवा तथा अगुवालाई पाल्पाको श्रीनगरमा लगेर दुईवटा खसी काटेर बनभोज खुवाएको हो। युवा जागरण तथा पुनर्मिलन कार्यक्रम कार्यक्रम गर्ने भनेर पाल्पाको श्रीनगर लगिएकोमा त्यहाँ कुनै कार्यक्रम नभएको र बनभोज खानेकाम मात्र भएको सहभागीले बताएका छन्।

बनभोजमा सहभागीले कार्यक्रम छ भनेर आफूहरूलाई लगेर बनभोजमा मात्र सरिक बनाएर वडा कार्यालयले विवादमा पार्न खोजेको समेत सहभागी युवाले बताए। ब्यानरमा फोटो खिचाएर बनभोज खाएर फकिएको बनभोजमा सहभागी भएकाहरूले नै बताएका छन्। वडा अध्यक्ष दया दर्लामीले भने सवैबाट निर्णय गराएर पछिल्लो क्रममा युवामा सामुहिक भावना हराउँदै गएकोले उनीहरूमा सामुहिक भावनाको विकास गराउनका लागि कार्यक्रमको आयोजना गरिएको बताइन।

दर्लामीले तराईमा अत्याधिक गर्मी बढेकोले सितलताका लागि पाल्पाको श्रीनगर पुगेर कार्यक्रम गर्ने गरी सवै तयारी गएर गएको भए पनि कुनै औपचारिक कार्यक्रमको आयोजना नगरिएको स्वीकार गरेकी छन्। दर्लामीले यो कार्यक्रमले युवामा उत्साह थपिएको दावी गरेकी छन् भने बनभोजमा सहभागी अधिकांशले कार्यक्रम नभएपछि बजेटको दुरुपयोग भएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन्। 

वडा कार्यालयबाटै बजेट दुरुपयोग गरी बनभोज लगेको भन्दै वडा भित्रकै स्थानीयले विरोध जनाएका छन्। उनीहरूले जुन क्षेत्रका लागि बजेट विनियोजन भएको हो त्यसैमा खर्च गर्नुपर्नेमा युवा तथा खेलकुदको बजेट युवा जागरणका नाममा आफ्ना नजिकका ब्यक्तिलाई बनभोजमा लगेर खर्च गर्नु जायज नभएको बताएका छन्।

वडा नम्बर २ का सामाजिक क्षेत्रमा क्रियाशील युवा गणेशबहादुर क्षत्रीले त्यो बजेटलाई सीपमूलक तालिम, युवाको क्षमता विकास तथा अन्ययुवा लक्षित कार्यक्रम संचालन गर्नु पर्नेमा त्यसो नगरिएको बताए।

क्षेत्रीले बनभोजमा गएर मदिरा सेवन गरी हातपात सम्मको घटना भएको भन्ने कुरा बाहिर आएकोले त्यसको छानविन हुनुपर्ने माग गरेका छन्।  बनभोज कार्यक्रममा वडा अध्यक्षले आफ्ना नातेदारलाई निम्ता दिएर पारिवारिक भोज जस्तो बनाएको समेत स्थानीयको आरोप छ। 

जग्गा प्रकरणमा विवादितलाई पनि सहभागी गराउँदा विवाद

वडा नम्बर २ भित्र रहेको राष्ट्रिय आवास कम्पनीको जग्गा अस्पतालले पाउनुपर्ने माग गर्दा असहयोग गरी जग्गा ब्यक्ति र निजी फर्मलाई बेच्न टेण्डर स्वीकृत गराएर विवादित बनेका राष्ट्रिय आवास कम्पनीका योजना प्रमुख महेन्द्र थापा पनि बनभोज कार्यक्रममा देखा परे। 

जग्गा विवादमा मुछिएका योजना प्रमुख थापालाई वडा कार्यालयले निम्ता गरेर बोलाएको भन्दै बनभोजमै सहभागीहरू असन्तुष्ट बनेका थिए। जग्गा प्रकरणमा राष्ट्रिय आवास कम्पनीसँग मिलेर वडा अध्यक्ष स्वयमले विक्रिका लागि सिफारिस उपलब्ध गराएको आरोप लागेको थियो। अहिले वडाको कार्यक्रममा  विवादित ब्यक्तिलाई निम्ता दिएर सहभागी गराएकोले थप आशंका पैदा भएको चिसापानी अस्पतालका तत्कालीन जग्गा ब्यवस्थापन समितिका सदस्य सदस्य समेत रहेका लक्ष्मण बहादुर क्षेत्रीले बताए।

थापा कार्यक्रममा सहभागी हुँदा बनभोज कार्यक्रम नियोजित रुपमा आयोजना गरिएको र आफ्ना आफन्तजनलाई समेत सहभागी गराएकोले वडा अध्यक्ष प्रति नै शंका उत्पन्न भएको सहभागीको भनाइछ।

बनभोजमै भयो लफडा

युवा जागरण तथा पुनर्मिलन कार्यक्रम भनिए पनि कुनै कार्यक्रम नभएपछि बनभोजमा परिणत भएको कार्यक्रममा सहभागीबीच विवाद उत्पन्न भएको एक सहभागीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिए। उनले केही युवाबीच विवाद भएको र हात हालाहाल पनि भएको बताए।

कार्यक्रममा सहभागी हुन गएका कतिपय युवा र अगुवा सार्वजनिक रूपमै मदिराले लठ्ठिए श्रीनगर डाँडामा बरालिएका देखिन्थेँ। बनभोजमा उत्पन्न विवाद बाहिर नआओस भनेर मिलाउने कोशिष गरिए पनि कार्यक्रम नै विवादित बनेपछि लफडाको घटना पनि बाहिर आएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.