'बसे पनि शहर गाँउकै खाने रहर'

|

काठमाडौं : के तपाई काठमाडौंमा बसेर गाँउमा उत्पादन भएका खानेकुरा खान चाहनुहुन्छ? खाना र खाजामा गाउँको खाद्य सामग्री खोजिरहनुभएको छ? अब तपाईंको चाहना पूरा हुने भएको छ।

तपाईंको चाहना पूरा गर्न पैचो पसलले काठमाडौंमा सेवा सुरु गरेको छ। गुल्मी, पाल्पा, अर्घाखाँची  लगायतका पहाडी जिल्लामा उत्पादन हुने आटो (मकैको च्याख्ला), सिन्की (गुन्द्रुक), तितौरा, मस्यौरा कोदोको पीठो, विभिन्न प्रकारका जुस, अचार लगायत ८ प्रकारका सामग्री काठमाडौंका पसलमा पाइन थालेको छ। 

दुई वर्ष अघि गुल्मीको बलेटक्सारबाट सुरु गरिएको पैचो पसलले बुटवल हुदै मंगलबारदेखि काठमाडौंमा बजार विस्तार गरेको हो। 'हामीले मंगलबार नै धेरै पसलहरुमा हाम्रा उत्पादनहरु पुर्‍याएका छौं, केही दिनमै काठमाडौंका खुद्रा पसलहरुमा हाम्रा उत्पादन पाउनुहुनेछ' पैचो पसल प्रालिका प्रबन्ध निर्देशक धुव्र न्यौपानेले थाहाखबरसँग भने। 

'बसे पनि शहर गाँउकै खाने रहर'

गाउँका उत्पादनलाई शहरमा ल्याउने अभियान सहित उत्पादन सुरु गरिएको यो पसलको नारा नै 'बसे पनि शहर गाँउकै खाने रहर' रहेको छ। बजार अभावका कारण गाउँमा खेर गएका उत्पादनहरुलाई आफ्नो पसलले उपयोग गरेको प्रबन्ध निर्देशक न्यौपाने बताउँछन्।

'पहाडी गाउँमा अहिले हामी जाँदा पनि हामी त्यहाँ उत्पादन भएको खाने कुरा खान पाउँदैनौं शहरबाट गएको सामग्री नै हामीलाई टकार्छन, तर त्यहाँको उत्पादन भने खेर गइरहेको छ, त्यसैले हामीले गाँउका उत्पादन बृद्धी गर्नको लागि यस्तो अभियान सुरु गरेका हौं' न्यौपानेले भने।

कसरी उत्पादन गरिन्छ

पैचो पसलले अहिले २३ वटा वस्तुको उत्पादन गरेको छ। व्यवसायीक कृषकहरुलाइ लक्षित गर्ने भन्दा पनि आत्म निर्भरताको लागि उत्पादन गरिएका सामग्री तर एक्लै उपयोग गर्न नसक्दा खेर जाने सामाग्रीलाई लक्षित गरेको प्रबन्ध निर्देशक न्यौपाने बताउछन्।

यसको लागि अहिले गुल्मी पाल्पा, अर्घखाँची, जुम्ला, रुकुम, रोल्पा र कालीकोटका ६ जिल्लामा ५० वटा संकलन केन्द्र स्थापना गरिएको छ। ५० संकलन केन्द्रमा स्थापना गरिएका सामग्री गुल्मीको रिडीमा ल्याइन्छ। पैचो पसल प्रालिको रिडीमा रहेको प्रशोधन उद्योग मात्र २३ प्रकारका सामाग्री उत्पादन गरिन्छ। पैचो पसलले एक वर्ष अघि बुटवलमा पहिलो बजार विस्तार गरेकोमा मंगलबारबाट काठमाडौंमा बजार विस्तार गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.