रोक्न माग गर्दै प्रभावितद्वारा मुद्दा दायर

|

तनहुँ : पिप्ले–बन्दीपुर खण्डको सडक चौडा पार्ने क्रममा त्यहाँको संरचनामा जथाभावी मासिएको भन्दै बन्दीपुरवासीले रोक लगाउन माग गर्दै मुद्दा दायर गरेका छन्।  बन्दीपुरवासीले सडक चौडा पार्ने कार्य रोक लगाउन माग गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दायर गराएका हुन्।

अदालतमा मुद्दा दर्ता भएपछि गाउँपालिकालाई काम गर्न भने अप्ठ्यारो पर्ने भएको छ। सडक चौडा पार्ने क्रममा घर, जग्गामा समेत असर परेको भन्दै बन्दीपुर बजारका २८ घर परिवार आन्दोलित भएका छन्। आन्दोलित स्थानीयवासीले बजार क्षेत्रमा जथाभावी सडक विस्तारको नाममा प्राकृतिक संरचना मास्ने काम भएकोले सडकको काममा रोक लगाउनुपर्ने माग राखेका छन्।

सडक निर्माणबाट क्षति पुगेका बन्दीपुरवासीले असन्तुष्टि जनाउँदै तनहुँ जिल्ला अदालतमा सडक चौडाको काम रोक लगाउन माग गर्दा गाउँपालिकाले अटेर गरेपछि मुद्दा दायर गरेको उनीहरु बताउँछन्। ‘सडक मर्मत निषेधाज्ञा आन्तरिम आदेश जारी गरिपाऊँ’ भनी उनीहरुले निवेदन दर्ता गराएका छन्।

सडक विस्तार गर्ने क्रममा स्थानीयवासीको घर, जग्गा र गोठमा क्षति पुगेको भन्दै बुधबार त्यहाँका २० घर परिवारले निवेदन दिएको  वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए। अधिवक्ता वाग्लेका अनुसार गुनासो गर्ने मध्ये एक जनाले पहिले नै तनहुँ जिल्ला जिल्ला अदालतबाट सो कार्य नगर्नु\नगराउनु भनेर निषेधाज्ञा आदेश जारी मागको निवेदन पेश भइसकेको छ। सडक मर्मत गर्दा घर भत्किने अवस्थामा पुगेको, वस्तुभाउ बाँध्ने गोठ नभएकोले विस्थापित हुने अवस्था आएको भन्दै 'स्टे अर्डर'  माग गर्दै २० घर परिवारको निवेदन परेको छ। 

निवेदनमा जथाभावी डोजर, लोडर प्रयोग गरिएको गुनासो आएको अधिवक्ता वाग्लेले बताए। स्थानीय रामकृष्ण सुनारले सडकको मोड सुधार भनि काम गरिएको तर अन्दाधुन्द तरिकाले घर नै भत्किने किसिमले काम गर्न थालेपछि प्रभावितहरू आक्रोशित बनेका छन्। अदातलमा काम रोक्न भनि गुनासो लिएर दमौली आएका राजविक्रम भण्डारी उपभोक्ताले बारम्बार आवश्यकता भन्दा बाटो फराकिलो पार्ने काम भयो भनेर गाउँपालिकामा निवेदन दिएको तर गाउँपालिका नमानेकाले अदालतमा मुद्दा दायर गर्नुपरेको बताए। 

स्थानीय होटल व्यवसायी तेजेन्द्र बानियाँले फराकिलो पार्ने क्रममा कतै धेरै जग्गा काट्ने, कतै कम काट्ने गरी विभेद गरिएको बताए। जग्गा कटानमा समेत विभेद गरिएको आरोप लागिरहँदा गाउँपालिकाले नापेर गरिएकाले कसैको धेरै र कसैको कम नभएको जनाउँदै आएको छ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बन्दीपुरको विकास र सुन्दरता जोगाई राख्न बन्दीपुर गाउँपालिका प्रतिबद्ध भएको बताए। बन्दीपुर मोहारियामा हुन गएको गोठको उचित क्षतिपूर्ति तत्कालै दिइने र सुरक्षाको लागि सहरी इलाकामा नाला र रिटेलिङको कार्य भइरहेको थापाले बताए। बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले स्थायी संरचना घर भत्काउने काम गरिएको र खाली जमिन, पेटी भत्काई सडक विस्तार गरिएको बताए।

बाटो फराकिलो भएपछि पर्यटक वृद्धि गर्न ठूलो मद्दत पुग्ने विश्वासमा काम सुरु गरिएको लम्सालको भनाइ छ। ‘पर्यटक बढाउन, बाटो सुरक्षित बनाउन फराकिलो पार्ने काम गरिरहेका छौँ, यस्तो कार्यमा विरोध होइन धन्यवाद दिनुपर्छ’, उनले भने।   

पिप्ले–बन्दीपुर सडक खण्ड कालोपत्रे गरिएको भए पनि धेरै घुम्तीहरू र साँघुरो भएकोले सवारीसाधन आवातजावातमा समस्या हुँदै आएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको ३० लाख रुपैयाँ र थप गाउँपालिकाको रहने गरी सडकको मोड सुधारको कार्य गर्न थालिएको गाउँपालिकाले जनाएको छ। पृथ्वीराजमार्गमा पर्ने पिप्लेदेखि बन्दीपुर, धरमपानी हुँदै बुद्धसिंह मार्गमा जोडिएको यस मार्ग १५\१५ मिटर चौडा पार्नुपर्ने भएपनि तत्कालका लागि ८\८ मिटर चौडा पारिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.