|

सुनसरी : इटहरीमा सञ्चालन भइरहेको रात्रिकालीन क्रिकेट प्रतियोगितामा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११ रनले पराजित गरेको छ। 

इटहरी स्थित क्रिकेट रंगशालाको पिचमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर रन १४५ रनको योगफल खडा गरेको थियो। पुलिसका लागि अनिल साहले ३३ रन बनाए। दिलीपनाथले २८ बलमा २९ रन बनाउँदा सुनिल धमलाले १७ बलमा २० रन बनाए। बलिङतर्फ एपिएफका यज्ञमान कुमालले २ विकेट लिँदा सागर भण्डारी र दिपेन्द्र रावलले १–१ विकेट लिए। 

जवाफमा १४६ रनको बिजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन मात्र बनाएपछि नेपाल पुलिस ११ रनले विजयी भएको हो। एपीएफका लागी अरुण ऐरीले सर्वाधिक ३८ रन बनाए। प्रज्वल शाहीले २३ रन बनाउँदा सागर भण्डारीले १७ रनको योगदान दिए। बलिङतर्फ नेपाल पुलिस क्लबका नविन थापाले २ विकेट, योगेन्द्र कार्कीले एक विकेट लिए। खेलका म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका योगेन्द्र कार्की भए। 

प्रतियोगितामा बिहीबार आयोजक एरिना च्यालेन्जर्स इटहरी र गएरातिको खेलको विजेता नेपाल पुलिस क्लबबीचको खेल हुनेछ। असार ८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन्। प्रतियोगितामा नेपालका तीन बिभागिय विभागीयसहित आठ टोलीको सहभागिता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.