हालका उपराष्ट्रपति थिए 'जनसेना'का कमाण्डर

|

रुकुम : युद्ध पर्यटनको विकास र प्रवर्द्धन गर्ने उदेश्यले रुकुम पूर्वको महतमा युद्ध फिचर निर्माण गरिएको छ। विशेषगरी तत्कालीन 'जनयुद्ध'को समयमा रुकुमको महतमा रहेको इलाका प्रहरी चौकी आक्रमण र त्यहाँ रहेका डिएसपी ठूले राईले गरेको आत्मसमर्पणलाई चित्रमा उतारिएको छ।

भूमे गाउँपालिका ६, महत गाउँमा अवस्थित युद्ध फिचरमा त्यसबेलाको सचित्र प्रस्तुत गरिएको वडा अध्यक्ष देबबहादुर बुढामगरले बताए। उनका अनुसार बहुवर्षीय योजनाअन्‍तर्गत हालसम्म युद्ध फिचर र अन्य केही काम भएको छ भने आगामी वर्षहरुमा पनि अन्य विभिन्न पक्ष समेटेर आकर्षक युद्ध पर्यटनको गन्तव्‍य बनाइनेछ। हालसम्म यस कार्यका लागि गाउँपालिकाले २० लाख रकम खर्च गरिसकेको छ। 

के के विषय छ युद्ध फिचरमा

युद्ध फिचरमा 'जनयुद्ध'को बेला इलाका प्रहरी कार्यालय चौकी आक्रमणको सचित्र उतारिएको छ। जसमा आक्रमणको बेला जल्दै गरेको प्रहरी कार्यालय, बाहिरी मोर्चाबाट लड्दै गरेका माओवादी जनसेना, राज्यतर्फबाट मारिएका सेना प्रहरी ढलेका लाश र तत्कालीन डिएसपी ठूलेराईले हात उठाएर आत्मसमर्पण गरेको चित्र पनि देखाइएको छ।

माओवादी 'जनयुद्ध'का क्रममा उच्च प्रहरी अधिकृत डिएसपीले नै आत्मसमर्पण गरेको र डिएसपीलाई नै माओवादी सेनाले अपहरण गरेर लिएको यो सबैभन्दा ठूलो घटनाको रुपमा लिइन्छ।

जसका कारण पनि उक्त विषयलाई उठाएर युद्ध फिचर तथा संग्रहालय बनाइएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए। 'जनयुद्ध'का क्रममा निकै दुख भोगेको महतमा बनाइएको युद्ध फिचरले पर्यटन विकासमा टेवा पुगेर स्थानीय जनतालाई फाईदा हुने उनको भनाइ छ। जुन अवलोकनको लागि देश तथा विदेशबाट पर्यटनहरु आउने पनि उनको विश्वास छ।

रुकुम पूर्वको महतसँगै क्यांसीमा रहेको माओवादीबाट सञ्‍चालित जनवादी विद्यालय र मारिङ कृषि क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष बुढामगरले बताए।

हालका उपराष्ट्रपति थिए 'जनसेना'का कमाण्डर

तत्कालीन माओवादीको 'जनयुद्ध'का क्रममा साबिकको महत गाविसस्थित विद्यालयको छात्रबास भवनमा इलाका प्रहरी कार्यालय बसेको थियो। जुन प्रहरी र सशस्त्र प्रहरीको सयुक्त दंगा हो। माओवादी रुकुम रोल्पामा सोचेको भन्दा धेरै जन्मिएको भन्दै सरकारले यी दुई जिल्लालगायत माओवादी बढी प्रभावित जिल्लामा ‘किलो सेरा टु’ सर्च अभियान थालेर माओवादी सिध्याउने खेलमा लागिपरेको थियो।

यसक्रममा माओबादीले पनि रुकुम रोल्पालाई 'जनयुद्ध'को आधार क्षेत्रको रुपमा लिँदै सरकारले लिएको किलो सेरा टु को अप्रेशन असफल बनाउन देशव्‍यापी धक्कामूलक फौजी कारबाही अभियान चलाएको थियो। जसअनुसार माओबादी 'जनसेना'हरूको ३ प्लाटुन गठन गरिएको थियो भने २ नम्बर प्लाटुन रुकुमका प्रहरी चौकी आक्रमणको लागि खटाइएको थियो।

त्यसमा १ नम्बर प्लाटुनले पनि साथ दिएको थियो। हालका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) माओवादी 'जनसेना'को तर्फबाट इलाका प्रहरी कार्यालय आक्रमणका कमाण्डर थिए। युद्धचित्रमा माओवादी जनसेनाको तर्फबाट उनले हातेमाइक समाएर आफ्नो सेनालाई ऊर्जा दिइरहेको तस्वीर पनि समेटिएको आक्रमणमा सहभागी तथा हाल गाउँपालिकाको अध्यक्ष बनेका रामसुर बुढामगरले बताए।

घटनाक्रमका अनुसार २०५६ असोज ५ गते साँझ माओवादी 'जनसेना'हरू उक्त प्रहरी कार्यालय आक्रमणको लागि आए। आक्रमणपछि माओवादी 'जनसेना'ले सफलता प्राप्त गरे। आफ्नो कुनै क्षतिबिना पनि माओबादी जनसेनाले इलाका प्रहरी कार्यालय कब्जा गर्न सफल भए। त्यहाँको प्रमुख रहेका डिएसपी ठूले राईसहित राज्यपक्षका सुरक्षाकर्मीले आत्मसमर्पण गरे।

माओवादीले अन्य प्रहरीलाई छाडेर डिएसपी राईलाई युद्धबन्दीको रुपमा गिरफ्तार गरिएको थियो। पछि सरकारबाट पक्राउ परेका माओवादी उच्च नेतालाई छुटाउने सहमतिमा डिएसपी राईलाई पनि माओवादीले अधिकारकर्मीहरूको रोहवरमा छाडेको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.