'गुठी विधेयक नयाँ शिराबाट पेश गर्छौँ'

|

पोखरा : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहेको बताएका छन्।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइरहेको बताएका हुन्। ‘बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको छ’, उनले भने, ‘तर, यो कुरा प्रधानमन्त्रीको क्षेत्राधिकार भित्र पर्ने भएकाले उहाँले चाहेको बेला पुनर्गठन हुन्छ।’

प्रचण्डले पार्टी एकता हुँदा भएका सहमति, समझदारी र हस्ताक्षर गर्दा यसबारे प्रष्ट उल्लेख भएको बताए।

गुठी विधेयक नयाँ शिराबाट पेश हुन्छ

अध्यक्ष प्रचण्डले विवाद भएपछि सरकारले फिर्ता लिएको गुठी विधेयकलाई सरकारले आवश्यक छलफल गरेर नयाँ शिराबाट पेश गर्ने बताए। ‘अहिले देशमा, जनतामा असन्तुष्टि बढेको हो कि? त्यसमा पनि खासगरी काठमाडौं उपत्यकाभित्र गुठी सम्बन्धी विधेयकलाई लिएर भइराखेको प्रदर्शन अन्य कतिपय विषयलाई लिएर भएको जनअसन्तुष्टि देखिएका छन्’, उनले भने, ‘गुठी सम्बन्धी विधेयक अहिले सरकारले फिर्ता लिइसकेको हुनाले अब नयाँ शिराबाट फेरी विधेयक बनाउने प्रक्रिया अघि बढ्छ। यसमा हामीले के महसुस गर्‍यौँ भने विधेयकको महत्व र उदेश्यबारे समयमै बुझाउन कमी भयो।’

विधेयक बनाउने बेलामा सम्बन्धित सरोकारवालाहरूसँग छलफल नगर्दा अहिलेको परिणाम आएको प्रचण्डको भनाई थियो। ‘सरोकारवालाहरूको राय, सल्लाह लिएर अनि पार्टी र सरकारभित्र पर्याप्त गृहकार्य गरेर विधेयक ल्याउनुपर्नेमा त्यसमा अपुग देखापर्‍यो', उनले भने, ‘एकातिर गृहकार्यमा कमी, अर्कोतिर ल्याएका विधेयकहरूलाई ठिक ढंगले बुझाउन नसकेको कारणले एक खालको सेन्टिमेन्ट आयो। सरकारले सेन्टिमेन्ट बुझेर, समयमै त्यसलाई फिर्ता गरेको छ। सरकार जनताप्रति गैरजिम्मेवार, कम्युनिस्ट पार्टीको  सरकार पेलेरै जाने अबस्थामा छैन भन्ने त यसले देखाएकै छ। अन्य विधेयकहरूको हकमा पनि संसदीय प्रक्रियाबाट नै संशोधन गर्ने, परिमार्जन गर्ने अगाडि आउँछन्।’ आगामी दिनमा विधेयक बनाउँदा सरोकार, पार्टीभित्र र संसदमा पनि पर्याप्त छलफल हुने उनले बताए।

पर्सि पार्टी एकता टुंग्याउने प्रयास

प्रचण्डले पार्टी एकताको कामलाई अन्तिम रुप दिने तयारीमा दुवै अध्यक्ष केन्द्रीत भएका पनि जानकारी दिए।

‘एकातिर पार्टीलाई गतिशील बनाउने, जनतासँग जोड्ने अभियानको रूपमा लैजान पार्टी एकतालाई अन्तिम रुप दिने कशरतमा छौँ। धेरैजसो कुरा टुंग्याएका छौँ। बाँकी रहेको पार्टी केन्द्रीय विभागको काम देखि आयोगहरू, संरचनाहरू बनाउने टुंग्याउने चरणमा छौँ’, उनले भने, ‘हिजोमात्रै प्रधानमन्त्रीसँग लामो छलफल गरेर एकपटक फेरी धक्का दिएर जानुपर्छ र सबै टुंग्याउनुपर्छ भन्ने कुरा भयो। यहाँबाट फर्केर गएर टुंग्याउने र पर्सि सचिवालयको बैठक बसेर यसको समापन गर्ने तिर हाम्रो प्रयास छ।’ सरकारको नेतृत्व गर्ने पार्टी भएकोले देशको, सरकारको, समग्र विकास प्रक्रियाकै निम्ति पार्टीको सबै खाले एकताले रणनीतिक अर्थ राख्ने उनले विश्वास व्यक्त गरे।

जनगुनासो सम्बोधन हुन्छ

प्रचण्डले दुई तिहाइको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारेका छन्। सरकारको नेतृत्व गरिरहेको पार्टीको अध्यक्षसमेत रहेका उनले भने, ‘जति गतीमा, जुन तीव्रताको साथ विकासको अपेक्षा, सुशासनको अपेक्षा जनताले गरेका छन् त्यसमा कता कता भएन कि भन्ने जनगुनासो हामीले सुनेका छौँ। अब यस वर्ष सम्बोधन हुन्छ।' उनले अघिल्लो वर्ष नजरअन्दाजको भरमा बजेट आएको र आगामी वर्षको बजेट त्यस्तो नरहेको पनि स्पष्ट पारे। 

पोखरा आउँदा माइत आएजस्तै

अध्यक्ष प्रचण्डले पोखरा आउँदा माइत आएजस्तै लाग्ने पनि बताए। ‘कास्की पोखरामा आउँदा कताकता माइत आएको जस्तो फिल हुन्छ’, उनले भने, ‘आफ्नो पन, सबै बचपनका यादहरू ताजा  भएर आउँछन्।’ उनले नेपालकै सबैभन्दा सुन्दर पर्यटकीय नगरी पोखरा भएको कारणले पनि पोखराको आफ्नै चमक रहेको र त्यसको छुट्टै महत्व रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.