|

काठमाडौं : प्रतिनिधिसभाका सांसदहरूले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन्।

प्रतिनिधिसभाका सांसदहरू देवप्रसाद गुरुङ, योगेशकुमार भट्टराई र खगराज अधिकारीले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई दिने काम नगर्न सरकारलाई सचेत गराएका हुन्।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतकसमेत रहेका गुरुङले राष्ट्रिय सुरक्षाका निम्ति पनि सो पदार्थको प्रयोग अधिकार निजी क्षेत्रलाई दिन नहुने बताएका हुन्।

गुरुङले पारमाणविक पदार्थको सुरक्षित प्रयोगका लागि आवश्यक अनुसन्धान केन्द्रको स्थापना गर्न पनि सरकारसँग माग गरेका थिए।

सांसद भट्टराईले जातीय युद्धमा समेत दुरुपयोग हुने भएकाले बिनाअध्ययन पारमाणविक पदार्थको प्रयोग गर्ने व्यवस्था नगर्न सरकारलाई सचेत गराएका थिए। उनले राष्ट्रिय हीत र सुरक्षालाई केन्द्रमा राखेर सरकारले ती पदार्थहरूको उपयोग गर्नुपर्ने पनि धारणा रखे।

सांसद एवम् पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले निजी क्षेत्रलाई पारमाणविक पदार्थको प्रयोगका लागि स्विकृत नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। उनले पारमाणविक पदार्थको उपयोग जथाभावी गर्नु घातक हुने भएकाले त्यसको प्रयोग सरकारले मात्रै गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने पनि बताएका थिए।

बैठकमा पारमाणविक पदार्थको प्रयोग सुरक्षित र व्यवस्थित बनाउन सरकारले ढिलाई गर्न नहुनेमा पनि जोड दिइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.