|

बैतडी : एकल, असहाय, अति विपन्न र हिंसामा परेका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बैतडीका स्थानीय तहहरूले उनीहरूलाई बाख्रा वितरण गरेका छन्। बैतडीको पुर्चौडी नगरपालिकाले १५ जना एकल महिला, १५ जना हिंसामा परेका महिला गरी ३० महिलालाई  प्रतिव्यक्ति २ बाख्राका दरले बाख्रा वितरण गरेको हाे।

वडा कार्यालयको सिफारिसमा आर्थीक अवस्था कमजोर भएका महिलाहरुलाई छनौट गरिएको  बाख्रा वितरण गरिएको पाएका नगर उपप्रमुख जानकी ऐर बमले बताइन्। श्रीमानले छोडेका, घरबारविहीन भएका, श्रीमानको मृत्यु भएका, पीडित भएर न्यायिक समितिमा आएका महिलालाई प्राथमिकतामा राखेर बाख्रा दिइएको हो। उनले भनिन्, 'आयआर्जन गरेर जीविकोपार्जन गर्न सहज होस् भनेर उनीहरूको लागि यो कार्य गरिएको होे।' यस्तै बैतडीको दोगडाकेदार गाउँपालिकाले २० जना एकल महिलालाई बाख्रा वितरण गरेको छ।

एक जनालाई ५ बाख्राका दरले बाख्रा दिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। महिला आयआर्जन गरी आर्थिक स्थिति मजबुद बनाउन सकुन् भनेर खरी र बयर जातका बाख्रा दिइएको हो। 'व्यवसाय गरेर जीवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले एकल महिलालाई बाख्रा वितरणको कार्यक्रम राखेको हौं' उनले भने, 'गाउँपालिकाका ८ वटै वडाबाट आर्थिक अवस्था कमजोर भएका एकल महिलालाई छनाेट गरेर बाख्रा वितरण गरिएको हो।' 

साथै महिलाको जीवनस्तर माथि उठाउन अन्य विभिन्न प्रकारका सहयोगका साथै आत्मनिर्भर बनाउन सीप पनि सिकाइरहेका गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन्। डिलाशैनी गाउँपालिका महिलालाई आत्मनिर्भर बनाउनतर्फ लागिरहेको छ।  विभिन्न व्यवसायमा लगाई उनीहरूको आर्थीक अवस्था मजबुद बनाउने उद्देश्यले गाउँपालिकाले प्रत्येक वडामा बाख्रा वितरण कार्य गरेको छ।

७ वटै वडामा समुह बनाएर बाख्रा वितरण गरिएको गाउँपालिकाका पशु शाखा संयोजक शंकरबहादुर साउदले बताए। गाउँपालिकाको बाख्रा प्याकेज कार्यक्रमअन्तर्गत १० लाख ५० हजार बराबरका खरी जमुनापारी क्रस जातका बाख्रा वितरण गरिएको जनाएको छ। प्रत्येक समूहलाई १५ गरी ७ समूहलाई ११० वटा बाख्रा वितरण गरिएको हो। यस्तै ७ वटा बोका पनि वितरण गरिएको उनको भनाई छ। 

एकल, विपन्न महिलालाई आयआर्जका क्रियाकलापमा संलग्न गराएर यसअघी गाउँपालिकाले सबै वडाका एक/एक समुह गठन गरेको थियो। महिलालाई आर्थिक रुपमा सक्षम बनाउन, गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउन गाउपालिकाले बाख्रा वितरण गरेको अध्यक्ष उकेन्द्र बोहराले बताए। बाख्रा पाउँदा खुसी लागेको भन्दै वडा नम्बर ३ कि अनिता बडुले यसबाट हुने आम्दानीले घरखर्च चलाउन सहज हुने बताइन्। यसैबीच सुर्नया गाउँपालिकाले ४० महिला कृषकलाई बाख्रा वितरण गरेको छ।

आयआर्जन मार्फत महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि बाख्रा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष लीला बिष्टले जानकारी दिइन्। सुर्नया गाउँपालिका २ मा रहेको पातालभुमेश्वर लघु उद्यमशील महिला कृषक समूहमा आवद्ध महिलालाई एक कार्यक्रमको आयोजना गरी बाख्रा वितरण गरिएको हो। 
यसअघि गतवर्ष पनि गाउँपालिकाले २५ जना महिला कृषकलाई बाख्रा वितरण गरेको थियो।

महिलालाई आत्मनिर्भरताको बाटोमा अघि बढाउनका लागि बाख्रा वितरण गरिएको हो। बाख्रा पाएपछि आफूहरूलाई धेरै फाइदा भएको सुर्नया २ का सीता बिष्टले बताइन्। बाख्रा पालन व्यवसाय सञ्चालन गर्नका लागि गाउँपालिकाले आधुनिक खोर व्यवस्थापनका लागि पनि सहयोग गरेको पातालभुमेश्वर लघु उद्यमी महिला कृषक समूहका सदस्य पुनम बिष्टले जानकारी दिइन। 

गाउँपालिकाले बाख्रा वितरण गर्नुका साथै ६० दिनको तालिम समेत दिएको थियो। बाख्रा वितरणपश्चात महिला आत्मनिर्भरताको बाटोमा अघि बढ्ने गाउँपालिकाको विश्वास रहेको अध्यक्ष वीरबहादुर विष्टको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.