नबिराउनु, नडराउनु

|

काठमाडौं : गत महिना एउटा मोटसाइकल काठमाडौंको माइतिघरबाट भद्रकाली जाने बाटो छिर्‍यो। ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई रोके।

ट्राफिक प्रहरीले उनलाई चिट काटे। तर मोटरसाइकल चालकले आफू बबरमहलतिरबाट नभइ थापाथलीबाट आएको बताए। ती मोटरसाइकल चालक र ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीबीच भनाभन नै भयो। विवाद बढ्दै जाँदा यो विषय ट्राफिक प्रहरी महाशाखा पुग्यो।

बबरमहल सडकबाट माइतिघरतर्फ गुड्ने सवारीसाधन माइतिघर मण्डलाबाट भ्रदकाली जाने उक्त बाटोमा जान पाउँदैनन्। थापाथलीतिरबाट आउने सवारीसाधनमात्र यो बाटो जान पाउने नियम ट्राफिक प्रहरीले बनाएको छ। बबरमहलबाट जाने सवारीसाधन कथमकदाचित उक्त बाटो छिरे भने कारबाहीमा पर्छन्।

ट्राफिक प्रहरीको शंका थियो- उनी बबरमहल सडक हुँदै आएका हुन्।

महाशाखाका प्रहरी अधिकारीहरुले उक्त घटनाको सीसीटीभी फुटेजदेखि लिएर सबै छानविन गरे। छानविनमा ती चालक निर्दोष देखिए। बरु चिट काट्ने ट्राफिक प्रहरीलाई महाशाखाले सोधपुछ गर्‍यो। 

घटनाको अनुसन्धानका क्रममा एकै खालका मोटरसाइकल एकै चोटी आउँदा ट्राफिक प्रहरी झुक्किएको पत्ता लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेत बताउँछन्।

'कहिलेकाँही मानवीय त्रुटि हुन जान्छ। त्यो ट्राफिक प्रहरीमा मात्र होइन, सबैमा हुन सक्छ', उनी भन्छन्, 'पछि हामीले गल्ती सच्चायौँ।'

एक निर्दोष सवारी चालक झण्डै कारबाहीमा परेको यो प्रतिनिधि घटनामात्र हो। ट्राफिक प्रहरीले अनाहकमा दुःख दिएको गुनासो धेरैले गर्छन्। तर यस्तो गुनासो गर्नेहरुलाई थाहा नहुन सक्छ कि ट्राफिक प्रहरीले जानीजानी वा नजानेर गल्ती गरेमा त्यसविरुद्ध उजुरी गर्न सकिन्छ। ट्राफिक प्रहरीले नै गल्ती गरेको प्रमाणित भएमा तपाईँले न्याय पाउनुहुन्छ।

कसरी सच्चियो गल्ती?

ट्राफिक प्रहरीले गरेको घटनाको छानविनले ट्राफिक प्रहरीकै दोष देखियो। आफ्नै दोषी देखिएपछि ट्राफिक प्रहरीलाई गल्ती सच्चाउनुपर्ने बाध्यता आइलाग्यो।

चालकलाई चिट काटेपछि त्यसको सम्पूर्ण कानुनी प्रक्रिया सुरु भइसक्ने भएकोले त्यसलाई बोर्डले मात्र सच्चाउन सक्ने नियम रहेको महाशाखाका एसएसपी बस्नेत बताउँछन्।

'त्यो घटनापछि हामीले बोर्डमा सम्पूर्ण छानविनका प्रमाणहरु राखेर देखायौँ।  ट्राफिक प्रहरीकै गल्ती हो भन्ने ठहर भयो', उनले भने, 'त्यसैले बोर्डले नै निर्णय गरेर चिटलाई नियम बमोजिम क्यान्सिल गरेर हाम्रो गल्ती सच्चाएका थियौं।'

उक्त घटनापछि सीसीटीभी क्यामेरा र ट्राफिकले छातीमा राख्ने गोप्रो क्यामरा भएका बाहेकका स्थानमा हत्तपत्त चिट नकाट्न निर्देशन नै दिएको एसएसपी बस्नेतले जानकारी दिए।

'चालकहरुलाई दुःख दिने नियत ट्राफिक प्रहरीको होइन। त्यसैले भोलि विवाद आउने ठाँउहरुमा हतपत्त चिट नकाटी सम्झाई बुझाई गर्न निर्देशन दिएका छौँ', उनले भने, 'मानवीय त्रुटि भइहाले पनि सवारी चालकले दुःख नपाउन भन्नका लागि यो उपाय अपनाएका हौँ।‘

आफूमाथि अन्याय भएमा चालकहरु अदालत समेत जान सक्छन्। तर अहिलेसम्म ट्राफिक प्रहरीले गरेको कारवाहीविरुद्ध कानुनी उपचारका लागि कोही अदालत गएको जानकारी महाशाखाका एसएसपी बस्नेतसँग छैन।

'अहिलेसम्म ट्राफिक प्रहरीको कारबाहीविरुद्ध कोही अदालत गएको सुनेको छैन', उनले भने।

कसरी गर्ने उजुरी?

यदि मर्कामा पर्नुभएको छ भने तपाईँले पनि ट्राफिक प्रहरीलाई सम्पर्क गर्नुपर्नेछ। काठमाडौंको रामशाहपथमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखामा तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ। ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गरेर पनि तपाईँ यसबारे जानकारी लिन सक्नुहुन्छ। तपाईँले ९८५१२९५१०० नम्बरमा एसएसएस गरेर पनि ट्राफिक प्रहरीलाई यसबारे जानकारी गराउन सक्नुहुन्छ। तपाईँलाई परेका अन्य समस्या पनि यही नम्बरमा एसएमएस गरेर जानकारी लिन वा दिन सक्नुहुन्छ।

ट्याक्सीले मिटरमा जान नमानेमा, सार्वजनिक सवारीमा चालक वा सह चालकले बढी भाडा मागेमा, विद्यार्थी परिचयपत्र बापतको छुट नदिएमा, सार्वजनिक सवारी साधनमा हैरानी वा हिंसा भोग्नु परेमा वा ट्राफिकसँग सम्बन्धित अन्य गुनासा तथा उजुरी भएमा यो नम्बरमा एसएसएस गर्न सकिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.