|

हेटौंडा : प्रदेश ३ सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट माथि छलफल सुरु भएको छ। छलफलको क्रममा प्रदेश सभामा विपक्षी दल र सत्तारुढ दलका सांसदहरूबीच चर्काचर्की भएको छ। प्रतिपक्ष दलका सांसदले बजेटको विरोध गर्ने र सत्ता पक्षका सांसदले समर्थन गरेपछि छलफल पेचिलो बनेको हो।  

प्रदेश सभा बैठकमा बिहीबार भएको आव २०७६/०७७ को राजस्व र व्ययको अनुमानमाथि प्रारम्भिक छलफलमा प्रदेशकी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक राधा घलले बजेट हावामा घर बनाउने सपना जस्तै भएको भन्दै व्यङ्ग्य गरेकी छन्। बजेटमा न रुप भएको न रङ भएको भन्दै उनले चालु आवमा २० प्रतिशत खर्च पनि गर्न नसकेर हतार–हतार गरिरहेको असारे विकासले भ्रष्टाचार निम्त्याउन खोजेको आरोप लगाइन।

नेपाली कांग्रेसकै सांसद निमा लामाले सरकारले यस अघि ल्याएको बजेटको २० प्रतिशत मात्र खर्च गरेको भन्दै नयाँ बजेट कार्यान्वयनमा शंका व्यक्त गरे। उनले गत वर्ष पनि पन्छिन खोजेको भन्दै प्रदेश सरकारले बहाना बनाएर प्रदेशलाई प्रयोगशाला बनाउन खोजेको बताए। यस्तै नेपाली कांग्रेसकै सांसद नरोत्तम वैद्यले प्रदेश पुर्वाधार विकास कोष किन ल्याएको भन्दै प्रश्न गरेका थिए।

कांग्रेसकै प्रदेश सभा सदस्य भीमसेन खत्रीले समसमायिक विषयमा सरकारको ध्यान जानु पर्ने भन्दै किसानको समस्या मल भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए। यस्तै नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सरकारले ल्याएको बजेट नारामा केन्द्रीत भन्दा पनि जनता सँग जोडिनु पर्ने बताएका थिए।  

विवेकशील साझा पार्टीका प्रदेश सांसद रमेश पौड्यालले सरकारले परियोजना बैंकको कुरा गरेपनि बजेटमा आकस्मिक रुपमा प्रदेश पूर्वाधार विकास कार्यक्रम ल्याएकोमा आक्रोश पोखे। उनले प्रदेश पूर्वाधार विकास कार्यक्रमको नाममा सांसद विकास कोष ल्याउन खोजेको भन्दै समृद्धिको यात्रामा अवरोध ल्याउने समेत बताएका छन्। भ्रष्टाचार मौलाउने कारण भन्दै सांसदलाई बजेट दिन घुमाउरो पारा गरेको आरोप लगाए। 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद पशुपति चौलागाँईले बजेटको बचाउ गर्दै पूर्वाधार, उत्पादन र सुशासनमा ध्यान दिएर बजेट ल्याएकोमा सरकारलाई धन्यवाद दिए। उनले सरकाले समाजवादी उन्मुख बजेट ल्याएको बताए।  प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले जे गर्दा पनि विपक्षीले बिरोध गर्ने गरेको भन्दै आक्रोस व्यक्त गरेका छन्।

सत्ता पक्षका सांसदहरूमा आले मगर, लालकुमारी पुन, जगत सिम्खडा, जुनेली माया श्रेष्ठ, शान्ति प्रसाद पौडेल लगायतले बजेटको समर्थन गरेका हुन्। यस्तै बैठकको शुरुमै बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट जातीय, भौगोलिक, वर्गीय र जनताको माग अनुसार समर्पित रहेको दाबी गरे।  

बजेट माथिको छलफलमा पहिलो दिन बिहीबार २५ जना सांसदहरूले बोलेका थिए। भोलि शुक्रबार पनि बजेटमाथि छलफल हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.