|

जनकपुरधाम : आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले विविध शीर्षकमा विनियोजन गरिएको रकमलाई अवण्डा भन्न नमिल्ने स्पष्ट पारेका छन्।

सरकारले अगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेटको छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको बिहीबार प्रदेशसभा बैठकमा जवाफ दिँदै मन्त्री यादवले कानून बमोजिम नै रकम छुट्याएको दावी गरे।

मन्त्री यादवले सांसद, स्वकीय सचिव, अवकाश कर्मचारी, विपद् जोखिम, आक्समिक रुपमा घटने घटना लगायतका लागि उक्त रकम छुट्याएको सदनलाई जानकारी गराए। मन्त्री यादवले प्रदेश सरकारले १ हजार प्रहरी भर्ना गर्ने योजनाका साथ अघि बढिरहेको भन्दै उनीहरूको तलव पनि त्यहीबाट उपलब्ध गराउने बताए। उनले भने, ‘प्रदेश लोकसेवा आयोगबाट भर्ना हुने अन्य कर्मचारी कर्मचारीको तलव भत्ता, तलव बृद्धि र कर्मचारीको पेन्सन पनि त्यहीबाट रकम दिने हो।’

प्रहरी भर्ना गर्दा व्यवस्थापन, भौतिक पूर्वाधार र ट्रेनिङ सेन्टर निर्माण पनि त्यही रकमबाट खर्च हुने उनको भनाई थियो। अवण्डा रकम राखेर सरकारले कार्यकर्ता पाल्न खोजेको भन्दै विपक्षी नेपाली कांग्रेस, नेकपा मात्र नभएर सत्तापक्षकै सांसदहरूले विरोध जनाएका थिए। अवण्डा रकम हटाउन समेत माग गरेपछि मन्त्री यादवले उक्त रकम कहाँ खर्च हुनेबारे स्पष्ट पारे।

चुरे संरक्षण, उद्याेग र युवालाई स्वरोजगार बनाउन पनि कम रकम विनियोजन गरेको आरोपमा मन्त्री यादवले भने, ‘संघीय सरकारले जुन क्षेत्रमा हात हालेको छ।त्यस बाहेकलाई प्राथमिकतामा राख्दा केही क्षेत्रमा कम रकम विनियोजन गरेका छौं।’ मन्त्री यादवले कम रकम विनियोजन गरेको क्षेत्रमा आवश्यकता पर्दा स्रोत खोजेर आवश्यक रकम दिने बताए।

चुरे संरक्षणका लागि संघीय सरकारले पनि काम गरिरहेकोले थोरै रकम विनियोजन गरेको पनि बताए। चालु आर्थिक वर्षमा सिंचाईका ठूलो आयोजनाका लागि पठाएको ८ करोड रुपैयाँ सम्बन्धित कार्यालयले संघीय सरकार मातहत रहेको भन्दै फिर्ता पठाएपछि त्यस्ता क्षेत्रलाई प्राथमिकतामा नराखेको उनले तर्क गरे।

बजेट वत्तव्यको विभिन्न शिर्षकमा रकम उल्लेख नगरिएको प्रसंगमा मन्त्री यादवले हतार हतारमा स्पष्ट रुपमा रकम खुलाउन नसकेको बताए। उनले प्रदेश तहकाे स्वास्थ्य, शिक्षा लगायतका महत्वपूर्ण शीर्षकमा पनि विनियोजित रकम उल्लेख नगरेको बताउँदै रकम उल्लेख नभए पनि शंका नगर्न सांसदलाई आग्रह गरे। उनले अगामी दिनमा सच्याएर प्रस्तुत गरिने प्रतिवद्धता समेत जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.