'भारतीय राजदूतले चिनी चटाएर भुलाए'

|

काठमाडौं : २०७२ असोज ३ गते संविधान जारी गरेपछि काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भाषणमा एउटा गीतको लाइन उधृत गरेका थिए। 

नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी मिलेपछि दक्षिणी छिमेकी भारतको दबावमा पनि संविधान नरोकिएको प्रसंगमा उनले भनेका थिए 'नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।’ 

हाल प्रधानमन्त्री रहेका प्रचण्डले उक्त भाषण सम्झेका छन् कि छैनन् तर नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भने त्यो गीत अहिले पनि सम्झिएका छन्।संविधान संशोधन विधेयकको विरोधमा आन्दोलरनत युवा- विद्यार्थीको कार्यक्रममा उनले प्रचण्डको उक्त भाषण सम्झिए। 'हामी कसैको कठपुतली होइनौ भनेर खुलामञ्चमा भन्नुभएको थियो। उहाँ (प्रचण्ड) ले गीत गाउनुभएको थियो कि थिएन ? उहाँले त्यो भुल्नुभएको छ की छैन?' रावलले भने। 

खुलामञ्चमा गाएको नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे गीत फेरि एक पटक सम्झिन उनले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे। 'प्रचण्डले संविधान संशोधन विधेयक हामीले नेपाललाई जोड्न ल्याएका हौं भन्नुहुन्छ तर पाँच नम्बर प्रदेशबाट पहाड अलग्याउने प्रस्ताव अघि सार्नुहुन्छ, यसले कसरी तराई–पहाडबीच एकता कायम गर्छ?', रावलले प्रश्न गरे। 

एमालेमाथि आफैंले सात पानामा हस्ताक्षर गरेको प्रदेश विभाजनको प्रस्ताव भुलेको आरोप लागिरहेका बेला उपाध्यक्ष रावलले प्रचण्डले १४ बुँदे लगायत संविधान निर्माणका क्रममा तीन दलबीच भएको सहमतिको ठाडै अवज्ञा गरेको समेत आरोप लगाए।

यसैगरी उनले सरकारबाट हटेको झोकमा एमालेले संविधान संशोधनको विरोध गरिरहेको भनेर कतिपयले आरोप लगाउदै आएको भन्दै स्मरण शक्ति कमजोर हुनेहरुले त्यस्तो भनिरहेको समेत बताए। 'जुनबेला देखि हामी संविधान निर्माणको प्रक्रियामा अगाडि बढेका थियौं। त्यो दिनदेखि नै हामी सम्पूर्ण नेपालीहरु एकतावद्ध भएर यो देशलाई समृद्धिको बाटोतर्फ अगाडि लान चाहान्छौ' रावलले भने,'यहाँ कुनै जात वा धर्मका नाममा राज्यको विभाजन हुन सक्दैन। यही कुरामा हामी निरन्तर लडिरह्यौं।'

भारतीय राजदुतले चिनी चटाए

नेता रावलले प्रधानमन्त्री प्रचण्ड र सत्तापक्षलाई भारतीय राजदूतले चिनी चटाएपछि गुलियोमा भुलेको आरोप लगाए। संशोधन विधेयक संसदमा दर्ता भएको विषयमा भारतीय दूतावास र राजदूतले स्वागत गर्नुको अर्थ यो प्रस्ताव बाहिरको इशारामा ल्याइएको पुष्टी हुने उनले दावी गरे। 'राजदूतले कानमा चिनी हालेपछि प्रचण्ड त्यही गुलियोमा भुलिरहनुभएको छ उहाँलाई देशबारे केही चिन्ता छैन',रावल भने।

नेता रावलले संसदमा दर्ता भएको संशोधन विधेयक पहिले मान्दैनौ भनेका मधेस केन्द्रित दलहरुले भारतीय दूतावासले बोलाएर सम्झाएपछि अहिले मानेको समेत दावी गरे। 'भारतीय दूतावासमा आयोजना गरिएको भोजनसहितको छलफलमा ‘यति पाइहाल्नु भयो, अरु फेरि लिनुहोला, अहिले मानिदिनुहोस् न’ भनेर सम्झाउने काम गरियो। त्यसपछि विधेयकको पक्षमा उभिने भनेर उनीहरु अगाडि बढेका छन्' उनले भने।

तिवारी हत्या उत्तेजनाको अभिव्यक्ति 

एमाले उपाध्यक्ष रावलले सोमवार रुपन्देहीमा भएको युवा संघ नेपालका अध्यक्ष दुर्गा तिवारीको हत्या वर्तमान सरकारका प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिको उत्तेजनात्मक अभिव्यक्तिको उपज भएको आरोप समेत लगाएका छन्।

'संविधान संशोधन विधेयक र पाँच नम्बर प्रदेश टुक्र्याइएको विरोधमा उत्रिएका जनतालाई संघीयताविरोधी हुन्, यीनले वितन्डा मच्चाउँदैछन्, यिनीहरूलाई ठेगान लगाउनुपर्छ भनेको हप्ता दिन नबित्दै रुपन्देहीमा घटना घटेको छ, यो संयोग मात्रै हुन सक्दैन' रावलले भने, 'प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले उदण्डता/उत्तेजनापुर्ण अभिव्यक्ति दिएको केही दिनमा आन्दोलनमा लागेका योद्धाको हत्या हुनुले के सङ्केत गर्छ? यसबाट सत्तापक्षप्रति गम्भीर प्रश्न उठेको छ। देशभक्त युवाको हत्या गरेर सत्ता टिक्दैन।' यसअघि एमालेले सोमबार नै विज्ञप्ति जारी गरेर तिवारीको हत्यामा प्रधानमन्त्री र गृहमन्त्रीलाई मुछेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.