नास्टद्वारा पुष्टि, सेवा नै बन्द

|

काठमाडौं :  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालस्थित रेडियोलोजी विभागमा रहेको  सिटी स्क्यान मेसिनबाट मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने विकिरण अत्यधिक चुहिएपछि विरामी र रेडियोलोजी विभागका कर्मचारी त्रसित भएका छन्। विकिरणले विरामी र चिकित्सकको स्वास्थ्यमा गम्भीर असर गरेको छ।

अस्पतालमा करिब सात महिनाअघि नयाँ सिटी स्क्यान मेसिन जडान गरिएको थियो। नयाँ सिटी राखिएको कक्षबाट विकिरण चुहुन पुग्दा कर्मचारीको स्वास्थ्यमासमेत प्रतिकूल पर्न थालेपछि त्रसित भएका हुन्।

मेसिन जडान गरेर काम गर्न थालेको केही समय पछि  त्यहा कार्यरत सबै कर्मचारीको स्वास्थ्यमा एकैखालको समस्या देखिएको थियो। त्यसपछि विकिरणको परीक्षण गर्दा अत्यधिक चुवावट भएको खुलेको थियो।

कर्मचारी र बिरामी जोखिममा

यसले कर्मचारीसहित उपचारमा पुग्ने बिरामी समेतलाई असर गरेको रेडियोलोजी विभागमा कार्यरत एक कर्मचारीले बताए। 'सुरूमा हामीले खासै चासो देखाएनौँ। तर त्यो कक्षमा कार्यरत सबै साथीमा एकैखालको समस्या देखिन थालेपछि विकिरण परीक्षण गर्दा चुवावट भएको पाइयो।'

त्यो कक्षमा काम गर्दै आएका चारजना कर्मचारीको स्वास्थ्य परीक्षण गर्दा रगतमा प्लेट लेस कमी पाइएको छ। ती कर्मचारीहरु चिकित्सकको निगरानीमा रहेका छन्। ‘सबै साथीहरुलाई टाउको दुख्ने,  रिगटा लाग्ने जस्ता एकै खालको समस्या देखिएका थिए। चेकजाँच गर्दा सबैको रगतमा प्लेट लेस एकदम कम भएको पाइएको छ', उनले भने। 

आइसीआरसीको मापदण्डअनुसार सिटी स्क्यान कक्षबाहिर बस्ने मानिसले एक वर्षमा एक एमएसरभी  विकिरण प्राप्त गर्नुलाई सामान्य मानिन्छ। तर वीर अस्पतालमा प्रतिवर्ष ३३ एमएसरभी विकिरण गइरहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को रिपोर्टमा देखिएको छ।   

सेवा नै बन्द

अत्यधिक विकिरण चुवावट भएपछि हाल वीर अस्पतालमा रहेको सिटी स्क्याक्न कक्षमा कर्मचारीहरुले सेवा दिन बन्द गरेका छन्।

टेक्निसियनले सिटी स्क्यान गर्दा लिड ग्लासबाट हेर्ने गर्छन्। त्यहाँबाट शून्य विकिरण आउनुपर्ने मापदण्ड छ। वीरमा अहिले विकिरण छेक्न सिसा प्रयोग गरिएको छ। तर कोठाका ढोका खुल्ला राख्दा बाहिरसमेत विकिरण फैलिएको त्यहाँ कार्यरत कर्मचारीले बताएका छन्। त्यहाँबाट पनि ०.२१३ एमएसरभी  विकिरण चुहावट भएको पाइएको छ।

कमसल सामानले समस्या

कर्मचारीले विकिरण चुहावट कम नगरे काम गर्न नसक्ने बताएपछि अस्पताल प्रशासनले नास्टलाई परीक्षणका लागि बोलाएको थियो। नास्टको प्राविधिक टोली आएर विकिरणको मात्रा जाँच गरेर दिएको ‘रेडियसन मोनिटोरिङ रिपोर्ट’मा समेत सामान्यभन्दा बढी विकिरण चुहिएको उल्लेख छ।

वीर अस्पतालमा उपकरण खरिद प्रक्रियामा मनोमानी हुने गरेको छ । सिटी स्क्यान मेसिन जडान प्रकृया मापदण्ड पालना नगरिँदा यो समस्या  आएको आरोप कर्मचारीहरूले लगाएका छन्।  अस्पतालमा कार्यरत एक कर्मचारीले भने, 'अस्पतालको उपकरण खरिदमा हुने मनोमानी र लापरबाही तथा कमिशनको लोभले कमसल सामान भित्रने गरेका छन्। 

वीरका निर्देशक के भन्छन्?

वीर अस्पतालका  निर्देशक डा. केदार सेन्चुरीलेसमेत सिटी मेसिनबाट अत्याधिक विकिरण चुवावट भएको स्वीकारेका छन्। ‘रेडियोलोजी विभागमा कार्यरत कर्मचारीहरुले भनेपछि हामीले नास्टलाई बोलाएर विकिरण परिक्षण गरेका थियौँ', उनले भने, 'परीक्षणमा विकिरण फैलिएको पाइयो। अब यसलाई बनाउने प्रायस गर्छौँ।'

अन्तर्राष्ट्रिय नियमानुसार तोकिएको भन्दा बढी विकिरण चुहावट गरेमा त्यो अपराध मानिन्छ। विकिरणलाई सुरुको अवस्थामा इपिलेसन भनिन्छ। विकिरण चुहावटले बाहिरी हातखुट्टाका रौंहरु झर्ने, कपाल झर्ने, शरीर दुख्ने, चिलाउने, छालामा रातो ससानो बिमिराजस्तो देखिने हुन्छ।

छाला जल्ने, मोतियाबिन्दु, रौँ खुइलिने, बाँझोपन हुने, आँखाको नानी गुम्ने, रगत क्यान्सर हुने र मृत्युसमेत हुन सक्दछ। यसले वंशाणुगत क्षमतामा पनि असर पार्ने अध्ययनहरुले देखाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.