|

सुर्खेत : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मान्यता उल्ट्याउने कोशिस भइरहेको दावी गरेका छन्।

मंगलबार माओवादी केन्द्रले सुर्खेतमा गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भने- ‘माओवादी आन्दोलन केही कमजोर भएपछि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी मान्यताजस्ता परिवर्तनका मुद्दा उल्टाउने कोशिस भइरहेको छ। बुर्जुवा र प्रतिक्रियावादी शक्तिलाई परिवर्तन पचेकै छैन। प्रतिपक्षका कतिपय नेताहरु राजतन्त्र र २०४७ सालकै संविधान ठीक थियो भन्ने ठाउँमा आएका छन्। गणतन्त्र र संघीयता उल्टिँदा माओवादी आन्दोलनको औचित्य समाप्त हुन्छ। परिवर्तनका मुद्दा जोगााउन माओवादी धाराहरुको एकता अनिवार्य छ।’

गणतन्त्र जोगाउन माओवादी एकतामा जोड दिँदै प्रचण्डले भने- ‘हामीले दश माओवादी घटकसँग एकता गरेका छौँ। तर, माओवादी एकता अभियान पुरा भएको छैन। अहिले पनि विभिन्न धारामा रहेका माओवादीहरुसँग एकताको प्रयत्न जारी छ। मैले सबैसँग निरन्तर कुराकानी गरिरहेको छु। पहिले हामीले पार्टीको एकतालाई मजबुत बनाऔं, अनि सबै माओवादी धारालाई एकतावद्ध गर्न सबैले पहल गरौँ। हामीले प्रष्ट रुपमा बुझ्नुपर्छ, माओवादीको एकता अभियान अहिले पनि जारी छ।’

माओवादी केन्द्रको आगामी योजनाबारे प्रशिक्षित गर्दै प्रचण्डले  भने- ‘हामीले पार्टीको पोलिट्ब्यूरोमा छलफल गरेर अभियान निर्धारण गरेका छौं, अब सिङ्गो पार्टी अभियानमा जान्छ । गाउँदेखि जिल्ला सम्मेलन हुँदै हामी महाधिवेशनमा जान्छौं। पार्टीलाई तलबाट निर्वाचित र रुपान्तरित गर्दै निर्वाचनमा जानुको बिकल्प छैन। हामीले त्यहीअनुरुप संगठनात्मक कार्यविधि बनाउँदै छौं। अब हामी नयाँ ढंगको निर्वाचित कमिटी बनाएर एक नम्बरको पार्टी बनाउन अभियानमा होमिन्छौं।’

संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पूनर्निर्माण र समृद्धि सरकारका मूख्य प्राथमिकता भएकोमा जोड दिँदै प्रचण्डले भने- सरकार आफ्ना प्राथमिकतामा स्पष्ट छ। संविधान कार्यान्वयन, पूनर्निर्माण, सन्तुलित विदेश नीति, वैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्या समाधानमा सरकार निरन्तर क्रियाशील छ। सरकारले गरीबका लागि सरकार, जनता पेन्सनजस्ता महत्वपूर्ण कार्यक्रम ल्याउँदैछ। यो सरकारले जनताको हितलाई केन्द्रमा राखेर अन्तिमसम्म काम गर्नेछ।’

संविधान संशोधन प्रस्तावबारे प्रचण्डले भने- ‘संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । तर, त्यो माओवादीको प्रस्ताव होइन, बरु विगतमा एमालेले अघि सारेको र कांग्रेसले समर्थन गरेको प्रस्ताव हो । मेरो एक मात्रै चाहना हिमाल, पहाड र तराईलाई मिलाएर संविधान कार्यान्वयन गर्नु नै हो। कोही यसको विपक्षमा उभिन्छ र राष्ट्रिय एकता चाहँदैन भने सिधै बुझ्दा हुन्छ, त्यहाँ राष्ट्रवादको नाममा देशलाई विखण्डन गर्ने राष्ट्रघातको नियत लुकेको छ। यसले देशको  हित गर्दैन।’

प्रशिक्षण कार्यक्रममा बोल्दै माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले संविधानमा संस्थागत गरिएका परिवर्तनका मुद्दा कार्यान्वयनका लागि एकतावद्ध भएर जनतामा जान नेता, कार्यकर्तालाई आग्रह गरे।

प्रशिक्षणमा माओवादी केन्द्रका अर्का वरिष्ठ नेता रामबहादुर थापा बादलले बलियो संगठनका आधारमा स्थानीय निर्वाचनमा विजयको तयारी गर्न आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.