|

झापा : दमकस्थित बेलडाँगी शरणार्थी शिविर सि-२ हट नम्बर ४
६५ वर्षका दलबहादुर विस्टको घरमा छलफल गर्न जेष्ठ नागरिक भेला भएका छन्। उनी अधिकांश दिन यहाँ जम्मा हुन्छन्। लामो समय गफ गर्छन्। पीडा साटासाट गर्छन्। हरेक दिन एउटै विषयमा छलफल हुन्छ,'कसरी चाडोंभन्दा चाडों स्वदेश फर्कने?'

१९९२ को जुन महिनामा उनीहरु आफ्नो देशबाट लेखेटिएका थिए। २४ वर्षदेखि शरणार्थी जीवन बिताउनुपर्दाको पीडा कस्तो होला?

शिविरमा रहनेमध्ये करिब तीन हजारले स्वदेश फिर्तीको इच्छा देखाएको युएनएचसिआरले जानकारी दिएको छ। 

'सरकारले तिमीहरु नेपाली हो आफ्नै देश जाऔँ भन्दै लखेटेको अहिले जस्तो लाग्छ,' भावूक हुँदै टासिगुम्बा तामाङ्ग भन्छन्- 'हामी ३०\४० विगाह जमिनका मालिक हौँ, हामीसँग अझै जग्गाको कागजपत्र छ। शरणार्थी होइनौं।'

भुटानी सेनाले आफ्नै आँखाअघि छोरी-चेलीको बलात्कार गर्दाको पीडा उनले भुलेका छैनन्। ज्यान बचाउन भागेर नेपाल आउनुपरेको बाध्यता उनी सुनाउँछन्। भुटानमा रहेको २ तले घर र सुन्तला, अलौँची बगानलाई झापास्थित शरणार्थी शिविरमा बसेर झल्झली संझिरहेका छन्।

'अझै भुटान फर्कने आश छ। सरकारले हामीलाई फर्कन देओस्। हिजो जे भयो-भयो,' टासिगुम्बा भन्छन्। सम्मानका साथ जन्मभूमि फर्कने आशामा २४ वर्षभन्दा लामो समय शरणार्थी जीवन बिताएका वृद्ध-वृद्धा दिनप्रतिदिन कमजोर बन्दैछन्। जवानीमा देशबाटै लखेटिए। बुढेसकालमा छोराछोरीले छाडेर जाँदैछन्। 'अन्तिम स्वास रहिन्जेलसम्म हामी भुटान जान चाहन्छौ' ८३ वर्षका वृद्ध देवीचरण आचार्यले आफ्नो आशा नमरेको बताए। उनका ४ छोराहरु विदेशमा छन्। घरमा बुढा-बुढी मात्रै छन्। देश छाड्नुपर्दाको पीडा एकातर्फ छ। छोराहरुले छाडेर जाँदाको पीडा अर्कोतर्फ।'मेरो जन्म देश भुटान कस्तो भयो एक पटक हेरेर मात्र मर्ने मन छ,' शिविर ए–३ हट नम्बर ४३४४ मा पट्यारलाग्दा दिनहरु बिताइरहेका आचार्यले आफ्नो जीवनको एकमात्रै धोको सुनाए।

सन् २००८ देखि शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको उच्च आयोग (युएनएचसिआर) ले भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम सुरु गरेपछि 'नेपाली मूल' का भुटानी शरणार्थीको स्वदेश फर्कने मुद्दा दिनप्रतिदिन कमजोर बन्दैछ। 'विदेशिएका धेरैजसो युवापुस्तालाई आफ्नो देशका बारेमा थाहै थिएन। कतिपयले स्वदेश फर्कन धेरै प्रयास गरे तर नसकेपनि निराश भएर तेस्रो देश रोजे,' भुटान स्वतन्त्र जनमञ्चका उपाध्यक्ष तथा स्वदेश फिर्ती आन्दोलनका अगुवा हर्कजंग सुब्बा भन्छन्।

स्वदेश फर्कन चाहने सपनामा पुनर्वास कार्यक्रमले 'डरलाग्दो हमला गरेको उनको भनाइ छ। अहिले पारिवारिक विछोडका कारण थुप्रै वृद्ध-वृद्धा डिप्रेशनमा छन्।' भुटान छाड्नुपर्दा जति पीडा थियो। त्योभन्दा धेरै पीडा पुनर्वास कार्यक्रमले दियो,' वेल्डाँगी शिविर ए–४ हट नम्बर ९५९६ का ७० वर्षीय वृद्ध लिलाधर आचार्यले भने। पुनर्वास कार्यक्रम लागु भएपछि उनलाई छरछिमेकीले छाडे। छोराछोरीले छाडे। श्रीमतीले छाडिन्।  

वेल्डाँगी शिविर ई–२ हट नम्बर १२ का दलबहादुर दर्जी युवा अवस्थामै नेपाल आएका थिए। श्रीमती र छोरी अमेरिका गएपछि उनी तनावमा छन्। परिवारले एक्लो पारेपनि देश फर्कने मुद्दा नछाड्ने उनले बताए।

'अहिले बिरामी छु। तर खाना पकाएर दिने पनि छैन्,' लिलाधरले गुनासो पोखे। उनको दायाँ खुट्टा दुख्‍न थालेको १५ दिन भयो। केही काम गर्न सकेका छैनन्। एक महिनाअघि मात्रै २ छोरा, १ छोरी र श्रीमति पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका गएको उनले बताए। 'दमक बजारमा जाने भनेर हिडेंका थिए। झुक्याएर हिडें,' भावूक हुदैं लिलाधरले भने,'उनीहरुकै ज्यान जोगाउन देश छाडेर आएँ। मलाई छाडेर उनीहरु अमेरिका गएछन्।'

युएनएचसिआरले आफ्नो परिवार फर्काएर ल्याइदिनुपर्ने लिलाधर बताउँछन्। 'मैले परिवारलाई छुट्याईएर घरमुलिको मञ्जुरी बिना पठाउन पाईदैंन भनेर धेरै पटक यूएनएचसीआर र आईओएममा भने तर कसैले सुनेन,' उनको गुनासो छ।

बुढेसकालमा अपांगजस्तै महसुस गरिरहेका छन् ७० वर्षका भिमबहादुर पौड्याल। उनकी श्रीमती र ३ छोराले पुनर्वास रोजे। पुनर्वासमा जान नमानेका भिमबहादुरलाई झुक्याएर उनीहरु हिडेंका थिए। बुढेसकालमा अपांग छोरा उनको भाँचिएको मनको सहारा बनेका छन्। ४० वर्षका अपांग छोरासँग पट्यारलाग्दा दिन बिताइरहेका भिमबहादुर भारतले षड्यन्त्र गरेको आरोप लगाउँछन्। ' सन् २००४ मा आन्दोलन गर्दा भारतले मेची पुल कट्न दिएन,' उनले भने,'हाम्रो आन्दोलन दबाउन भारत लागि परेको छ, भुटान भारतको छिमेकी हो। एक असल छिमेकीको नाताले भारतले भुटानसँग पहल गर्नुपर्छ।'

वेल्डाँगी शिविर ई–२ हट नम्बर १२ का दलबहादुर दर्जी युवा अवस्थामै नेपाल आएका थिए। श्रीमती र छोरी अमेरिका गएपछि उनी तनावमा छन्। परिवारले एक्लो पारेपनि देश फर्कने मुद्दा नछाड्ने उनले बताए।

भुटान जाने आशमा बस्ने अधिकाशंको कपाल फुलिसकेको छ। स्वदेशप्रतिको माया नभएकाहरुले पुनर्वास रोजेको  भुटान स्वतन्त्र जनमञ्चका उपाध्यक्ष तथा स्वदेश फिर्ती आन्दोलनका अगुवा हर्कजंग सुब्बा बताउँछन्। 'यो कार्यक्रमले अवसरवादीहरुलाई फाइदा पुर्‍यायो। तर भुटानलाई माया गर्नेहरु पीडामा परे,'  सुब्बाले भने।

भुटानी स्वदेश फिर्ती जेष्ठ नागरिक समितिका संयोजक शन्तवीर घलेले कुनै पनि हालतमा स्वदेश फर्कन पाउनुपर्ने बताउँछन्,' हामीसँग भुटानको जग्गाको पूर्जा छ। यहाँका ९० प्रतिशत मानिससँग नागरिकता छ, त्यसैले हामीलाई स्वदेश फर्कन दिनुपर्छ,' उनले स्वदेश फिर्तीका लागि मानव अधिकारसँग सम्बन्धित संघ संस्थालाई पहल गरिदिन आग्रह गरे।

अन्तिम सास बाँकी रहदाँसम्म स्वदेश फिर्तीको माग राखेर शान्तिपूर्ण आन्दोलन गर्ने उनले बताए। कसैले पनि भुटानी शरणार्थीको मर्का नबुझेको उनको गुनासो छ, 'हामी नेपालमा सरकार फेरिने बित्तिकै ज्ञापनपत्र बुझाउँछौ। विभिन्न देशका प्रमुखहरुलाई पनि मेलमार्फत ज्ञापनपत्र बुझाई रहेका छौँ।  तर हाम्रो मागलाई कसैले सुनेनन्,' उनले भने। तेस्रो मुलुक पुनर्वास कार्यक्रम लागू भएपछि झापाको दमकस्थित गोलधाप,खुदुनाबारी  र टीमाइमा रहेका शरणार्थी शिविर हटिसकेका छन्। अहिले मोरङको पथरीशनिश्‍चरे र झापाको बेलडाँगी शिविरमा मात्रै शरणार्थी बाँकी छन्।

कति गए तेस्रो मुलुकमा ?

नेपालका विभिन्‍न शरणार्थी शिविरमा रहेका १ लाख ७ हजार भुटानी शरणार्थीमध्ये ६० हजारलाई अमेरिकी सरकारले आश्रय दिने घोषणा गर्‍यो। सन् २००८ देखि पुनर्वास कार्यक्रम सुरु भयो। अस्ट्रेलिया,  क्यानेडा, नर्वे, डेनमार्क र नेदरल्यान्डसले १०\१० हजार भुटानी शरणार्थीलाई आश्रय दिने घोषणा गरे। न्यूजिल्यान्डले ५ वर्षको अवधिमा ६ सय शरणार्थीलाई आश्रय दिने भयो। सन् २०१५ सम्म १ लाख भुटानी शरणार्थीले नेपाल छाडेर तेस्रो मुलुक रोजे। नेपाल छाडेर विदेशिनेमध्ये ८५ प्रतिशत अमेरिका छन्।

यूएनएचसीआरका अनुसार सन् २०१६ मा ७ हजार शरणार्थी तेस्रो देश पुगे। पुनर्वासमा गएकाहरु अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, बेलायत लगायत देशहरुमा छन्। बेलडाँगीमा र शनिश्चरेमा अब ११ हजारको संख्यामा मात्रै भुटानी शरणार्थी बाँकी छन्। शिविरमा रहनेमध्ये करिब तीन हजारले स्वदेश फिर्तीको इच्छा देखाएको युएनएचसिआरले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.