|

  • घनश्याम बलम्पाकी-

सर्लाही : प्रहरीको गोली लागी मारिएका विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको शव परिवारले बुझेका छन्। गएको बिहीबार दिउँसो सर्लाहीमा संगठनको काम सकेर सिन्धुली जाँदै गर्दा लालबन्दी नगरपालिका-१० चन्द्रपुर जंगलमा प्रहरीको गोली लागी मारिएका पौडेलको तीन दिनपछि शनिबार दिउँसो आफन्तले शव बुझेका हुन्।

घटना भएकै दिन ढिलो भएकाले मृतक पौडेलको शव अस्पतालमा पोष्टमार्टम हुन सकेको थिएन। मृतक पौडेलका आफन्तले प्रहरीले शव बुझ्न कुनै खबर नै नगरेको बताएका थिए। प्रहरीले भने मृतकको आफन्त सम्पर्कमा नआएकाले शव जिम्मा लगाउन नसकिएको जनाएको थियो।

शनिबार मृतकका आफन्तले जिल्ला अस्पतालबाट शव बुझेका हुन्। तर शव बुझ्न जाँदा क्षतविक्षत अवस्थामा रहेको भन्दै परिवारका आफन्तले रोष प्रकट गरेका थिए। मृतकको शव पोष्टमार्टम गरेपछि घरतर्फ लाने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा घेरामा राखिएको भन्दै परिवारसहित आफन्तले आपत्ति जनाएका थिए।

गस्तीमा जाँदै गरेको प्रहरीमाथि २ वटा मोटरसाइकलमा ४ जनाको समूहमा आएको पौडेल नेतृत्वको माओवादी कार्यकर्ताले गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाही गर्दा पौडेलको मृत्यु भएको प्रहरीको दाबी छ, भने मृतकका आफन्तले पौडेल प्रहरीसँगको भिडन्तमा नभई नियन्त्रणमा लिएर हत्या गरेको दाबी गर्दै आएका छन्। 

स्थानीय बासिन्दाहरूले पौडेललाई समातेर गोली हानेको दाबी गर्दै त्यसको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन्। मृतक पौडेलका १२ वर्षका एक छोरा र १० वर्षकी एक छोरी छन्। स्थायी घर बागमती नगरपालिका-२ धरहरा भएका पौडेल नेपाली कांग्रेस हुँदै नेकपा एमाले, चुरेभावर, माओवादी हुँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रवेश गरेका थिए।

विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति जारी गर्दै सरकारको राज्य आतंक र हत्याको बदला एकीकृत जनक्रान्तिबाट लिने चेतावनी दिएको छ भने घटनाको सर्लाहीका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा,नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दलका नेता तथा अगुवाहरुले समेत निन्दा गरका छन्। मृतक पौडेलको शनिबारै बागमती नदीमा हिन्दू धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको मृतकका भाई हरिकृष्ण पौडेलले जानकारी दिए।

सम्बन्धित समाचारहरू :


प्रहरीसँगको भिडन्तमा विप्लवका सर्लाही इन्चार्ज मारिए 

प्रहरीसँगको भिडन्तमै मारिएका हुन् त विप्लवका जिल्ला इन्चार्ज? 

प्रहरीबाट जिल्ला इन्चार्ज मारिएपछि विप्लवले घोषणा गरे आन्दोलन 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.