|

विराटनगर : विराटनगरमा ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालन सुरु गरिएको छ। विराटनगर १३ कोशी प्रोजेक्टका युवा पारस थापाले नयाँ प्रणालीबाट परीक्षण पालन आरम्भ गरेका हुन्।

माछापालनमा पछिल्लो समय विकसित भएको यो प्रविधि धेरै जमिन नभएका किसानहरुका लागि अत्यन्तै प्रभावकारी मानिन्छ। थोरै मात्र पुँजी भएका किसानहरुका लागि पनि यो प्रणाली निकै लाभदायक हुन्छ।

कम क्षेत्रफलमा थोरै लगानी गरेर राम्रो उत्पादन र आम्दानी गर्न बायोफ्लक विधि उपयोगी हुने पारस थापाले बताए। यो प्रविधिबाट घरको छतमा पनि माछापालन गर्न सकिन्छ।

इन्डोनऐसियामा पूर्णसफल भएको माछापालनको यो प्रविधि भारतमा पनि तीव्र गतिमा विस्तार भइरहेको छ। त्यसबाट प्रभावित भएका थापाले भारतमा तालिम लिएपछि परीक्षणका लागि दुई पोखरी निर्माण गरेर माछापालन आरम्भ गरेका हुन्।

‘यो प्रविधिबाट माछापालन इन्डोनेसियामा धेरै हुने गरेको थियो। मैले यस प्रविधिबाट माछा पालन सुरू गर्न ८ महिना प्रशिक्षण लिएर आएको छु,’ उनले भने, ‘अहिले भारतको विभिन्न प्रदेशहरूमा पनि यो प्रविधिबाट माछापालन सुरु भएको रहेछ। भारतको गोरखपुरमा पुगेर मैले प्रशिक्षण लिएँ।’ प्रशिक्षण र प्रविधीको बारेमा जानकारी लिएपछि  ‘बायोफ्लक’ प्रविधिबाट माछापालन सुरू गरेको उनी बताउँछन्।

करेसाबारीका ट्यांकीमा माछापालन

पारसले घरको करेसाबारीमा १०/१० हजार लिटर क्षमताको दुईवटा ट्याङ्की निर्माण गरेर माछापालन सुरु गरेका छन्। करिब ५ धुर क्षेत्रफलमा एक मिटर उचाइ र १२.५६ मिटरको गोलाइ भएको दुईवटा त्रिपालको ट्यांकी बनाइएको छ।

दुई ट्यांकीमा करिब ३० हजार रुपैयाँ मूल्यबराबरको १८ सय माछाको भुरा उत्पादनका लागि राखिएको छ। ‘प्रत्येकमा ९/९ सयका दरले भुरा हालेको छु,’ थापाले भने कमनकार्प र पङ्गसियस अर्थात् पङ्गास जातका माछा छुट्टाछुट्टै ट्यांकीमा राखिएको छ।

माछापालनका लागि दुई वटा ट्यांकी निर्माण गर्न करिब १ लाख रुपैयाँ खर्च भएको थापाले बताए। तालिमलगायत सबै खर्च करिब २ लाख ५० हजार भएको उनी बताउँछन्। यो लगानी जमिनमा पोखरी खन्नु भन्दै निकै सस्तो र भरपर्दो भएको उनको दाबी छ।

अबको ६ महिनापछि पहिलो उत्पादन बिक्री गर्ने थापाको योजना छ। ‘अहिले राखेको भुरा आउँदो पुससम्म सरदर ६ सय ग्रामको हुन्छ,’ उनले भने, ‘पहिलो लट उत्पादनबाटै लगानी उठाउने र थोरै मुनाफा पनि लिने योजना छ।’ थापाले भारतका गणेश यादव र इजाज अन्सारीबाट ‘बायोफ्लक’ प्रविधिबाट माछापालन गर्न प्रशिक्षण लिएको जानकारी दिए।

माछा स्वस्थ र सुकिलो

बायोफ्लक प्रविधिबाट माछापालन गर्न एरियसन पम्प, तारपोलिङ्ग, पानीको प्यारामिटर नाप्ने उपकरण आवश्‍यक पर्दछ। ट्याङ्की निमार्ण गरेर माछा हालेपछि यस्ता उपकरण अनिवार्य राख्नुपर्छ। यो प्रविधिबाट उत्पादन भएको माछा स्वस्थ हुन्छ। ‘बायोफ्लक प्रविधिबाट उत्पादन भएको माछा फोहोर हुँदैन। हिलो नभएको ठाउँमा पानीको फोहोराभित्र बसेको माछा सुकिलो हुने गर्दछ।

थापाले माछापालनलाई थप विस्तार गर्ने योजना रहेको पनि बताए। ‘पहिलो लटको उत्पादन हेरेर थप लक्ष्य निर्धारण गरेको छु,’ उनले भने, ‘यो प्रविधिबाट माछापालनलाई विस्तार गर्दै लैजान्छु।’ आगामी दिनमा चाँडै सय वटा यस्ता ट्यांकी बनाएर माछा पालनलाई विस्तार गर्ने उहाँले सुनाउनुभयो।

नेपालमा पहिलोपटक यो प्रविधिबाट माछापालन सुरु गरेको भन्दै थापाले सूचीकृत गरिदिन कृषि मन्त्रालय र विभागसँग आग्रह गर्नुभएको छ। बायोफ्लक प्रविधिलाई मन्त्रालयले कृषिमा सूचीकृत गर्नुपर्ने उनले बताए। माछाका लागि आहारा भने भारतबाट ल्याउनुपरेको थापाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.