|

पोखरा : कास्कीको मादी नदीले निर्माणाधीन मोटरेबल पुल बगाएको छ । निरन्तरको वर्षापछि उर्लेको मादीले आइतबार विहान नौ बजे तिर पुल बगाएको मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङले जानकारी दिए । 

‘यो पुल ढलान गर्न तयारी अवस्थामा थियो, आज बगायो,’ उनले भने, ‘ठेकेदारको लापरबाहीले पुल बगायो । हिउँदभरी सुतेर बस्यो बर्खामा आएर बनाउन लागेपछि लग्यो ।’ 

उक्त पुलले मादी गाउँपालिका ७-३ नम्बर वडा जोड्छ। तत्कालीन जिल्ला विकास समितिबाट ठेक्का पारेर हेटौँडाको मृत सञ्जीवनी निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो । 

झण्डै ८३ मिटर लामो हुने उक्त पुल आरसीसी स्ल्याबको हुने सम्झौता छ ।  ८ करोड ६९ लाख सात हजार ९ सय ८ रुपैयाँ ३७ पैसामा मृत सञ्जीवनी निर्माण सेवाले २०७५ सालको बैशाख २० गते निर्माण सम्पन्‍न गर्ने सम्झौता भएको थियो । 

‘सम्झौता मितिमा काम नसकेपछि ठेकेदारदाई बिदाइ गर्न लागेका थियौँ,’ गाउँपालिकाका अध्यक्ष गुरुङले भने, ‘तर, उसले अब जसरी हुन्छ छिटो निर्माण गर्छु भनेपछि गत वर्ष चैतसम्मका लागि म्याद थप भयो । तर पुल बनेन ।’ 

स्वीस सरकारको सहयोगमा बन्न लागेको उक्त पुल निर्माण सम्पन्न भएपछि काउले-ज्याम्दु-ताङतिङ का जनतालाई सहज हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.