सहयोग खोज्छन्, बोली फुट्दैन, आँसु बगाउँछन्

|

काठमाडौं : कीर्तिपुर अस्पतालस्थित वर्न सर्जरी वार्डको बेड नं ६ मा छट्पटाइरहेका छन् मुगुको सोरु गाउँपालिका-१ का ३९ वर्षीय भ्यागे नेपाली। एउटा हात काटिएको छ। रगत बगेर बेड लुछुप्प भिजेको छ। पोलेको अनुहार उप्किनै आँटेको छाला पाप्रो लागेको छ। अर्को हातमा ब्यान्डेज बेरिएको छ। एउटा खुट्टा धोतीले छोपिएको छ, अर्कोमा ब्‍यान्डेजले बेरिएको छ। बेड छेउमा झुण्डिएको छ पिशाव थैलो ।

नयाँ अनुहार देख्‍नासाथ जुरुक्क उठ्न खोज्छन् भ्यागे, तर सक्दैनन्, काटिएको हात हेर्छन्, उनको छटपटाहट देखेर भेट्न जाने भक्कानिन्छन्। नयाँ आउने मान्छे उनका कोही पर्दैनन्। आफन्त पनि होइनन्, आफन्त नजिकका मान्छेको नाममा भतिज मन नेपाली एक हप्तादेखि उनकै छेउमा छन्।

नयाँ मान्छे मनसँग सोधखोज गर्न थालेपछि भ्यागे जुरुक्क उठ्न खोज्छन्। फेरि थचक्क पर्छन्। बेडमा रगत टाटा परेको छ। काटिएको हात बेरिएको ब्यान्डेज रगतले रक्ताम्मै भएर पोतिएको छ।

यी बिरामी अर्थात् बेड नं. ६ मा पल्टिएका भ्यागे नेपालीको भाग्य पनि कस्तो? ‘५ वर्षअघि काखे बालबच्चा छोडेर काकी पोइल जानुभयो। काका भारतमा मजदुरी गर्दै भाइबहिनीलाई पाल्नुहुन्थ्यो,’ भतिजा मनले सुनाए।

कुकुरले लखेट्दा करेन्ट!

भ्यागेलाई जेठ २६ गते नेपालगञ्‍जमा कुकुरले लखेटेर भाग्ने क्रममा करेन्ट लागेको हो। प्रहरीले भेरी अञ्चल अस्पतालमा पुर्‍याएर मन नेपालीलाई खबर गरे। घटनाको दुई दिनपछि खबर पाएका मन काठमाडौंबाट हान्‍निएर नेपालगञ्ज पुगे। अस्पतालले एक हप्ता राखेर रिफर गर्‍यो।

राँझा विमानस्थलबाट काठमाडौं ल्याउन खोजे। ‘जटिल बिरामी हुने गरिव निमुखालाई त प्लेनमा ल्याउन पनि नदिइने रैछ, फर्काएर फेरि अस्पताल नै पुर्‍याएँ। अर्को दिन अलि सस्तो एम्बुलेन्समा राखेर यहाँ ल्याएको हुँ।’ यति भनिसक्दा भक्कानिइसकेका थिए मन । मनले आफूले काम गर्ने ठाउँबाट लिएर गएको पैसा पनि सकियो।

काकासँग खर्च गर्ने जायजेथा केही छैन। केटाकेटी गाउँमा गाउँलेकै भरमा छन्। ‘४/५ वर्षका भाइबैनी सम्झेर काका घरीघरी जुरुक्कै उठेर मलाई जान देओ, म बाँच्छु। मेरा केटाकेटीले के गर्लान् भन्‍नुहुन्छ।’ मनले तीन दिनदेखि भ्यागे बर्बराउँदै आत्तिने गरेको र मानसिक गुमेको जस्तो व्यवहार देखाउन थालेको सुनाए।

भ्यागेको उपचारमा अहिलेसम्म डेढ लाख खर्च भएको छ। चिनेजानेकालाई सहयोग जुटाउन आग्रह गरेर ५०/६० हजार जुटेको छ। उनको काम गर्ने कार्यालयले थोरै सघायो।

ढिला भएको भए बाँच्दैन'थे

भ्यागेलाई एक दिन मात्र ढिलो ल्याएको भए मृत्यु भइसक्ने उपचार संलग्न चिकित्सक रोहन प्रधानले बताए। ‘भ्यागेको हात पूरै मरिसकेको थियो। संक्रमण पनि फैलिइसकेको थियो। करेन्टले गर्दा दाहिने खुट्टा पनि काट्नुपर्ने अवस्था आउन सक्छ। अहिले उपचार भइरहेको छ’ डा. प्रधानले भने।

उनका अनुसार यसरी पोलेको-जलेको बिरामीको सर्जरी वा हातखुट्टा काट्ने काम एकैपटक गर्न मिल्दैन। ‘विस्तारै एउटा उपचार गर्दै त्यसको प्रगति हेरेर अर्को उपचार थाल्नुपर्छ। भ्यागेको हकमा पनि दाहिने हातखुट्टाको के हुन्छ केही भन्‍न सकिँदैन’, उनले भने। 

आर्थिक अभाव

भ्यागेको उपचारमा आर्थिक अवस्था बाधक छ। भतिजा मन नेपाली सहयोग खोज्दै भौतारिएका छन्। ‘म पनि सानो जागिर गर्छु। काका र मेरो घरमा जायजेथा छैन, उपचार खर्च जुटाउन', उनले भने, 'काका बाँचे मात्र पनि केटाकेटी विचल्ली हुने थिएनन्। काकीले छोड्नुभयो। काका नि केही भए के गर्लान् उनीहरू। अस्ति गाउँमा फोन गरेको थिएँ, केटाकेटी कराउँदै थिए।’

भ्यागेले आस गरेर नयाँ अनुहार हेर्छन्। सकी नसकी सानो आवाज निस्कन्छ। ‘यस्तो भएपछि त म मर्छु नि मलाई बचाइदिनुस्। साना छन् बालबच्चा,’ आँसु झर्‍यो अनि वाक्य रोकियो।

अस्पतालमा ४५ जना जलेका बिरामी

कीर्तिपुर अस्पतालमा अहिले ४५ जना यस्ता विभिन्‍न कारणले जलेका बिरामी भर्ना भएर उपचारत छन्। बर्षेनि ५ सयदेखि ६ सय बिरामी यहाँ पुग्छन्। अधिकांश बिरामी आर्थिक अवस्था कमजोर भएका हुन्छन्।

अस्पतालले आन्तरिक स्रोतमा अवस्थाअनुसार बिरामीलाई केही सहुलियत गर्न सक्छ। तर जलेका विरामीको उपचारमा छुट वा राहतको नीति सरकारले नै लिनुपर्ने बताउँछन् प्लास्‍टिक सर्जरी विभागका सुमन निरौला।

‘सरकारले क्यान्सर, क्षयरोग, मृगौला प्रत्यारोपण जस्तै जलेका बिरामीलाई पनि छाला प्रत्यारोपणका लागि सहुलियतको नीति बनायो भने बिरामीलाई राहत हुन्छ’ उनले भने।

(भ्यागे नेपालीलाई सहयोग गर्न चाहनेले उनका भतिज मन नेपालीको एनआईसी एसियाको खाता नं. ४१५५४७५२९८५२४००१ मा रकम पठाउन सक्नुहुनेछ। मन नेपालीलाई सम्पर्कका लागि मोबाइल नम्‍बर ९८४०४६५३३५ )

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.