|

सोलुखुम्बु : पहाडी तथा हिमाली क्षेत्रको सामान ढुवानी गर्ने एक भरपर्दो साधनको रुपमा खच्चडलाई लिइन्छ। तर पछिल्लो समय त्यही हिमाली तथा पहाडी क्षेत्रको गाउँगाउँमा सडक पुगेपछि खच्चड व्यवसायी भने चिन्तित बनेका छन्। 

करिब पाँच वर्ष अघिसम्म सल्लेरी सदरमुकाममा खच्चडको कारण बाटो हिड्न समेत समस्या हुन्थ्यो, तर अहिले एउटा पनि खच्चड देख्न पाइँदैन। ती खच्चड अहिले जिल्लाको महाकुलुङको केही गाउँ र खुम्बु क्षेत्रमा केन्द्रीत भएका छन्। जिल्लाको आठ स्थानीय तह मध्ये खुम्बुपासाङल्हामु गाउँपालिका बाहेकका सबै गाउँपालिका केन्द्रमा सडक पुगेको छ।

खुम्बुपासाङल्हामु १ खरिखोलासम्म सडक पुगीसकेको छ। खरिखोलादेखि एक दिनको पैदल यात्रापछि गाउँपालिका केन्द्र चौरीखर्क पुगिन्छ। त्यस क्षेत्रमा भने करिब एक हजार ५०० खच्चडले सामान ढुवानी गर्ने गरेको खच्चड ब्यवसायी फुरग्याल्जेन शेर्पाले बताए। 

नेताको वचनले स्थानीय खुसी, व्यवसायीको दुःखी 

खुम्बु क्षेत्रमा सडक सञ्जालले जोड्न थालेपछि त्यस क्षेत्रका खच्चड व्यवसायी यतिबेला चिन्तित बनेका छन्। सडक सञ्जाल पुगे पछि खच्चडको प्रयोग नहुने भएकाले व्यवसायी चिन्तित बनेका हुन्। अहिले सदरमुकाम सल्लेरीबाट माप्यदुधकोशी गाउँपालिका केन्द्र हुँदै खुम्बुपासाङल्हामु गाउँपालिका १ खरिखोलासम्म सडक पुगिसकेको छ।

माप्यदुधकोशी २ बाट वडा नम्बर १ जुभिङ जानको लागि दुधकोशी नदी पार गर्नुपर्ने हुन्छ। जहाँ हिउँदमा ह्युम पाइपमार्फत खरिखोला सम्म सडक सञ्चालन हुन्छ। तर बर्खामा भने सवारी सञ्चालन गर्न सकिँदैन। त्यसैले बाह्रै महिना सिधा सवारी सञ्चालन गर्नको लागि दुधकोशीस्थित ओर्लाङ घाटमा पक्की मोटरेवल पुल निर्माणको ठेक्का समेत परिसकेको छ। 

अबको दुई वर्षभित्र खुम्बुपासाङल्हामु गाउँपालिका केन्द्र चौरीखर्कसम्म सडक पुर्‍याउने भनेर यहाँका नेता देखि प्रदेशका मुख्य मन्त्री समेतले वचन दिएका छन्। यो वचनले गर्दा यहाँका अधिकांश नागरिक हर्षित भएका छन् भने खच्चड व्यवसायी चिन्तित बनेका छन्।

 

खच्चड व्यवस्थापनमा समस्या 

अहिले खुम्बु क्षेत्रमा हरेक सामान ढुवानी गर्नको लागि हवाई सेवा या खच्चड र जोक्पेको बिकल्प छैन। जसले गर्दा यस क्षेत्रमा महँगी पनि छ। चौरीखर्कसम्म सिधा सडक सञ्चालन भए सामान ढुवानीमा सहजता हुने भए पनि खच्चड व्यवसायी सन्तधन तामाङ आफुहरुको रोजीरोटी नै गुम्ने बताउँछन्। 

सडक पुगेपछि खच्चडले रोजगारी नपाउने र यसलाई बिक्री समेत गर्न नसक्ने समस्या हुने अर्का व्यवसायी शम्भु तामाङको भनाई छ। तामाङले भने, 'सडक आउनु विकास हुनु राम्रो हो। तर हाम्रो खच्चड बिक्री नहुँदा व्यवस्थापनमा चाही समस्या हुने भयो।'

खरिखोलासम्म सडक पुगेपछि खच्चडको ढुवानी रेटपनि घटेको व्यवासायी बताउँछन्। खरिखोला सम्म सडक नपुग्दा माप्यदुधकोशीको अधेरीबाट चौरीखर्कसम्म प्रति केजी ७० मा सामान ढुवानी गरिँदै आएको भए पनि अहिले सडक पुगेपछि प्रति केजी ६० रुपैयाँमा सामान ढुवानी गर्नु पर्ने बाध्यता रहेको अर्का व्यवसायी लाक्पा दोर्जी शेर्पाको भनाई छ।

विकासले गर्दा एकपछि अर्को पेशा लोप हुँदै

एक दशकसम्म पनि भरियामार्फत सामान ढुवानी गर्ने व्यवासायीले खच्चडको प्रयोग गर्दा धेरै सहयाेगको महशुस गरेका थिए। विकास सँगसँगै आएको परिवर्तनले गर्दा एकपछि अर्को पेशा लोप हुँदै गइरहेको छ। हिजो भरपर्दो र विश्वासिलो ढुवानीको साधन बनेको खच्चडको दिन प्रतिदिन महत्व गुम्दै गएको प्रति व्यवसायीको चिन्ता छ।

विभिन्न गाउँबस्तीमा सडक पुगेपछि रोजगारी नपाउने मात्र होइन। यसको व्यवस्थापनमा नै चुनौती देखिएको व्यवसायी फुरग्याल्जेन शेर्पा बताउँछन्। उनले भने, 'हाम्रो समस्यालाई राज्यले पनि केही हदसम्म सहयोग गर्नुपर्छ।' सामान्य व्यक्तिले ठूलो लगानी गरेर खच्चड व्यवसाय अगालेको अवस्थामा लाखौ घाटा व्याेहोर्नु पर्ने चिन्ताले व्यवसायीलाई रातदिन सताइरहेको छ। 

भारी बोक्नबाहेक अन्य कुनै पनि क्षेत्रमा प्रयोग गर्न नकिने खच्चडलाई सडक विकासस्तर भएसँगै कतिपयले गाउँघरको घाँस दाउरा बोक्न प्रयोग गर्न थालेको  व्यवसायी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.