|

काठमाडौं : नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, 'राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे? सिनेमा कहाँ हेर्थे होलान्?'

तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए। नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्थ्यो। दशैँमा टीका थाप्ने कक्षसँगै जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द छ। दरबारभित्रका विभिन्न कक्ष सर्वसाधारणका लागि खुला गरिए पनि सिनेमा हललाई भने खुला गरिएको छैन। 

त्यतिबेला उपत्यकाका सिनेमा हलबाट ‘हाफ टाइम’मा सिनेमाका रिललाई दरबारतर्फ कुदाइन्थ्यो। रिलको व्यग्र पर्खाइमा राजपरिवार सिनेमा हलमा बस्थे। कर्मचारीहरूले हस्याङफस्याङ गरी दरबारभित्रको सिनेमा हलमा पु¥याइएको रिललाई हतारिँदै प्रोजेक्टरमा राखेर चलाउँथे। यता ‘हाफ टाइम’को रिल सकिँदा उता सिनेमा हलमा ‘हाफ टाइम’ पछिको भाग सकिन्थ्यो। त्यसलाई फेरि हतारिँदै दरबारतर्फ कुदाइन्थ्यो। दरबारमा हेरिसकेको रिललाई पुनः हतारिँदै सिनेमा हलमा फर्काइन्थ्यो भन्ने खबर गाेरखापत्र दैनिकमा छ। 

दरबारका पूर्वकर्मचारी जयराम महर्जनले त्यो बेलाको दृश्यलाई यसरी स्मरण गरे, 'छोटो दूरी थियो, त्यसैले ल्याउन सजिलो हुने भएकाले प्रायः जयनेपाल सिनेमा हलबाट रिल ल्याइन्थ्यो। कर्मचारीहरू सतर्क अवस्थामा रहन्थे। सिनेमा हलमा रिल सकिनासाथ दरबारतिर ल्याइन्थ्यो।'

विसं २०२६ मा बनेको नारायणहिटी दरबारभित्रको हलमा ५४ वटा कुर्सी र पाँचवटा सोफा राखिएका छन्। सोफामा तत्कालीन राजपरिवारका महत्वपूर्ण सदस्य मात्र बस्न पाउँथे। धूलो पर्ने भएकाले अहिले ती सोफा छोपेर राखिएका छन् भने अन्य कुर्सी त्यत्तिकै छन्। 

दरबारका अर्का पूर्वकर्मचारी रोहित ढुङ्गानाले उपत्यकाका सिनेमा हलबाट प्रायः ‘नाइट सो’का रिल ल्याउने गरिएको सुनाए। 'प्रायः राति सिनेमा हेर्ने भएकाले नाइट सोमा चलिरहेका सिनेमाका रिल ल्याइन्थ्यो', उनले थपे, 'बढीजसो मुमाबडामहारानी रत्नले हेर्ने गर्नुहुन्थ्यो। रानी ऐश्वर्यले पनि हेर्नुहुन्थ्यो तर राजा वीरेन्द्रले कमै हेर्नुहुन्थ्यो। २०४६ सालपछि वीरेन्द्रले एक-दुई पटक मात्र हेर्नुभयो।'

प्रायः हिन्दी सिनेमा हेर्ने गरिन्थ्यो। नेपाली कमै बन्थे, त्यसैले कमै हेरिन्थ्यो। शुक्रबार आयोजना हुने पारिवारिक भोजपछि सिनेमा हेर्ने प्रायः चलन हुन्थ्यो। सिनेमा जसका तर्फबाट आयोजना गरिन्थ्यो, उसका पाहुना बढी हुन्थे। तत्कालीन राजा वीरेन्द्रका पाश्र्ववर्ती (एडीसी) सुन्दरप्रताप रानाले लेखेको ‘दरबारको दुःखान्त’ पुस्तकमा सिनेमा हलबारेमा पनि उल्लेख गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.