कोही समर्थन गर्ने, कोही वहिष्कार गर्ने

|

काठमाडौं : झापाको शिवसताक्षी नगरपालिका नगरपालिकाको नगर सभा बैठक विवादमा परेको छ। यही १० असार २०७६ हुन लागेको नगरसभा बैठकको प्रमुख अतिथिको बिषयमा मतभेद भएपछि नगरसभा विवादमा परेको हो।

शिवसताक्षी नगपरपालिकाको नगरसभा तथा आर्थिक वर्ष २०७६-०७७ को नीति कार्यक्रम प्रस्तुत हुने नगरसभाको प्रमुख अतिथिको बिषयमा नगरप्रमुख र बहुमत सदस्यबीच मतभेद भएको छ। 

बैठकमा मेयर चन्द्रकुमार शेर्माले महान्यायाधिवक्ता अग्नि खरेललाई नगरसभाको प्रमुख अतिथि बनाउने प्रस्ताव राखेका थिए। मेयर शेर्माको प्रस्तावलाई उपमेयर भोजकुमारी नेपाल र वडा नम्बर २ का अध्यक्ष कुलबहादुर बस्नेतले मात्रै समर्थन जनाएका थिए।

तर, तीनजना बाहेक सबै नगरसभा सदस्यले यस क्षेत्रबाट निर्वाचित एलपी सावाँ लिम्बूलाई प्रमुख अतिथि बनाउनुपर्ने अडान राखेका थिए। 

बैठकमा वडा नम्बर १० का अध्यक्ष कर्णबहादुर थापा, वडा नम्बर ८ का अध्यक्ष केहरसिंह बस्नेत लगायत बहुमत सदस्यले भने नगरसभा बैठकमा क्षेत्रबाट निर्वाचित संसदलाई बनाउनुपर्ने भन्दै अडान लिएपछि बैठक बिनानिर्णय सकिएको थियो। 

बहुमत सदस्यहरुले भने नगरपालिकाका विकासमा नगरपालिका र निर्वाचित संसदको समन्वय जरुरी रहेको भन्दै प्रमुख अतिथि पनि सांसद साँवालाई बनाउनुपर्ने तर्क राखेका थिए। 

प्रमुख अतिथि विवाद भएपछि  ५ असार २०७६ मा बस्नु पर्ने नियमित बैठक र ८ असारमा नगरसभाको तयारी सम्बन्धमा बस्नुपर्ने बैठक समेत स्थगित भएको छ। नगरसभाले भने प्रमुख अतिथिको बिषयमा निर्णय गर्न सकेको छैन तर मेयर शेर्माले भने अग्नी खरेललाई प्रमुख अतिथिको निम्तो दिइसकेका छन्। 

नेकपा र बहुमत सदस्यले बहिस्कारमा 

नगरपालिकाको औपचारिक निर्णयबिना नै प्रमुख अतिथि खरेललाई बनाउन तयारीपछि नगरपालिकाको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र बहुमत नगरसदस्यले बहिस्कार गर्ने भएका छन्। शिवसताक्षीका मेयर शर्मासहित बहुमत सदस्यहरु नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन्। 

निानिर्णय प्रमुख अतिथि बोलाउन लागिएपछि बहिस्कारको तयारी गरिएको एक वडाध्यक्षले बताए। ‘नगरसभा कुनै व्यक्तिको पूजापाठ जस्तो होइन यो नगरको कार्यक्रम हो। त्यस कारण नगर बैठकबाट निर्णय गराएर मात्रै कार्यक्रम तय हुनुपर्छ,’ ती अध्यक्षले भने। मेयर शर्मा बैठकमा अल्पमतमा पर्ने भएपछि चोरबाटोमा लागेको उनको आरोप छ। 

नेकपाका नगर अध्यक्ष महेन्द्र भट्टराईले नगरसभाबारेमा मेयर शेर्माले पार्टीसँग कुनै समन्वय र छलफल नगरेको बताए। उनले भने, ‘संस्थागत निर्णयबाट काम होस् भन्ने हाम्रो सुझाव हो। तर, प्रक्रियागत र संस्थागत निर्णयलाई मात्रै पार्टीले मान्छ तर व्यक्तिगत निर्णय हामी मान्दैनौं।’

विवादको चुरो

महान्यायधिवक्ता खरेलको गृह जिल्ला झापा भए पनि उनी गौरादह-३ का स्थायीबासी हुन्। साँवा भने यहाँका निर्वाचित संघीय सांसद हुन्। स्रोतका अनुसार मेयर शेर्मासँग खरेल नजिक छन्।

यही कारण शेर्माले खरेललाई प्रमुख अतिथि बनाउन चाहेका छन्। तर, साँवा यस क्षेत्रका जनप्रतिनिधि भएको कारण साँवालाई नै प्रमुख अतिथि बनाउनुपर्ने बहुमत नगर सदस्य र स्थानीय पार्टी कमिटिको अडान छ।

महान्यायाधिवक्ता खरेल र साँवा दुवै प्रधानमन्त्री ओलीनिकट हुन्। महान्यायाधिवक्ता खरेल अघिल्लो ओली नेतृत्वको सरकारमा कानुनमन्त्री थिए। तर, कानुनमन्त्री भइसकेका नेता सर्वोच्च अदालतको न्यायाधीशसरहको सरकारी नियुक्ती महान्यायाधिवक्ता पदमा बसेपछि उनको तीव्र आलोचना भएको थियो। 

साँवा संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीसँग २३९ मतको झिनो अन्तरबाट पराजय भएका थिए। तर, ०७४ सालको आम निर्वाचनमा भने ४३ हजार ६  सय मत पाएर विजयी भएका थिए। उनले १६ हजार ८ सय मतान्तरले पराजित गरेका थिए। यो मतअन्तर प्रदेश नम्बर १ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पछि हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.