अर्घाखाँचीमा १३ सय बढीले पाए काम

|

अर्घाखाँची : सितगंगा नगरपालिका-१ मन्द्रेकी ४५ वर्षीया टीका पहराई घरको काम हतारहतार सकाएर रातो जर्सी लगाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सहभागी हुन्छिन्।

सरकारले लागू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वडाबाट छनोट भई रोजगारीमा लागेकी पहराईको परिवारमा सरकारी तलब खाने कोही छैनन्। छोटो समयका लागि भए पनि सरकारी पैसा कमाउने आफ्नो धोको पूरा भएको उनले बताइन्।

आर्थिक वर्ष नजिकै आएपछि सुरू भएको रोजगार कार्यक्रममा १५ दिनका लागि भए पनि बाटो मर्मत गर्ने काममा सहभागी भएर सरकारको कामप्रति आफू इमान्दार भएर काम गर्ने उनको भनाइ छ।

दिनको ५ सय १७ रूपैयाँ आउँछ त्यसैले यसपटक घरखर्च टार्ने उनको योजना छ। उनी मात्र होइन काममा सहभागी भएकी रूपा सोमै पनि सरकारी जागिरमा सहभागी हुन पाउँदा निकै खुसी छिन्।

५ जनाको परिवार रहेको सोमैका श्रीमान रोजगारका लागि भारत पुगेका छन्। 'स्वदेशमै राम्रो रोजगारी पाइने भए, श्रीमान् श्रीमती सँगै बस्ने रहर कसको हुँदैन र?' उनले प्रतिप्रश्न गरिन्। यो कार्यक्रम सधैँभरि लागू भए, श्रीमानलाई पनि स्वदेश बोलाउने उनले सुनाइन्।

देशमै जागिर पाए विदेश जान्नथेँ

कक्षा-१२ को परीक्षा दिएर बेरोजगार भई घरमै  बसेका मोहन मगरको विदेश गएर काम गर्ने इच्छा पटक्कै छैन। 'रोजगार खोज्दा केही पाइँदैन' उनले भने, 'बिहान बेलुका घरको काममा जति व्‍यस्त भए पनि सोचेजस्तो प्रतिफल पाउन सकिँदैन।'

उमेरले भर्खर २० टेकेका मगरमा काम गर्ने जोस जाँगर निकै छ तर रोजगार नपाउँदा प्राय दिनहरू त्यतिकै बित्ने गरेको उनले बताए। उनी भन्छन्, 'स्वदेशमै काम पाएमा विदेश जाने सोच छैन, छोटो समय  भए पनि रोजगारी पाउँदा खुसी छु।'

चारजनाको परिवार रहेको ३२ वर्षीय पुष्पा सोमै पनि रोजगारीमा लागेकी छन्। ससाना २ छोरा छोरीको आमा उनले बिहानबेलुका घरको काम सकेर बालबच्चालाई स्कुल पठाएर प्रधानमन्त्री रोजगार काममा हातमा कोदालो र अन्य औजार बोकेर सहभागी हुन्छिन्।

गाउँमै ज्यालादारी गरेर घरखर्च चलाउँदै आएकी उनी यसरी गाउँकै  बाटो खनेर सरकारी पैसा कमाउन पाउँदा अत्यन्तै खुसी छन्। उनी भन्छिन्, 'बाटो खन्ने भए पनि काम सानो र ठूलो हुँदैन, जागिर एउटै हो, यसैमा खुसी छु।'

उमेरले नेटो काट्दै गरेका तिलबहादुर बैजाली र टोपलाल पोखरेल पनि प्रधानमन्त्री स्वरोजगारमा सहभागी छन्। उमेरले ६० वर्ष पुगेका टोपलाल पोखरेल काम गर्ने समूहमा सबैभन्दा पाका देखिन्छन्। तर, काम गर्ने जोस र जाँगर चौंबीस/पच्चीस वर्षका उमेरका युवाभन्दा कम छैन। 

समूहमा जोसिलो हसिलो देखिने उनले काम गर्ने तरिका र अनुभव अरूलाई दिने गर्दछन्। काम गरेर कहिल्यै नथाक्ने उनी भन्छन्, 'पहिलाको जमाना अर्कै थियो हेर्दा हेर्दै अहिले यस्तो भयो। पहिला पहिला ५, ६ दिनको बाटो हिँडेर बटौली नुन बोक्न जाने गरिन्थ्यो। अहिले घर घरमा गाडी पुगेका छन्।'

आफ्नो गाउँ आफैँ बनाऔँ अभियान

नगरको वडा नं १ बाट सुरू भएको रोजगार कार्यक्रमको अनुगमन गर्दै नगरप्रमुख सूर्यप्रसाद अधिकारीले आफ्नो गाउँ आफैँ बनाऊँ अभियानमा सबै लाग्नुपर्ने बताए। नगरको विकासका लागी रोजगारी कार्यक्रम प्रभावकारी हुने भएकाले ‘आफ्नो गाउँमा काम गर्न लाज नमानी काम गर्न अधिकारीले सबैलाई आग्रहसमेत गरे।

प्रधानमन्त्री रोजगारका लागि नेपाल सरकारबाट अनुदान रू ४८ लाख रकममध्ये प्रत्येक वडामा २ लाख ४० हजार बराबरको विकास निर्माणको काममा खर्च गरिने नगरपालिकाले जनाएको छ। कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारी, वडा अध्यक्ष वुद्धिकृष्ण पौडेल, रोजगार संयोजक नरमाया सुबेदी, समाज सेबी ऋषि घिमिरे लगायतले प्रधानमन्त्री रोजागार कार्यक्रमबारे जानकारी गराएका थिए।

प्रधानमन्त्री रोजगारीअन्तर्गत शीतगंगा नगरपालिकामा २ सय ७५ जना, छत्रदेवमा ३ सय जना, भूमिकास्थानमा १ सय ९० जना, मालारानीमा १ सय ७२ जना, पाणिनीमा १ सय ३५ जना, सन्धिखर्कमा २सय ३५ जनाले रोजगारी पाएका छन्। जिल्लाको ६ वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू भएको छ।

नेपाल सरकारले चालू आर्थिक वर्ष ०७५र०७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्षभित्र रोजगारीको हकलाई मौलिक हककारूपमा समावेश गरेको छ।

सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हकसम्बन्धी ऐन, २०७५ जारी समेत गरेको छ। ५ वर्षभित्रमा कुनै पनि नेपाली नागरिकले बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ।

प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था सरकारले गरेको छ।

सरकारले न्यूनतम रोजगारी प्रदान गर्न नसके नेपाल सरकारले हरेक बेरोजगार परिवारलाई एकजना श्रमिकले एकसय दिन काम गर्दा प्राप्त गर्ने न्यूनतम पारिश्रमिकको पचास प्रतिशत रकम निर्वाह भत्ता दिनुपर्ने व्यवस्था गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.