खेतबारी हेरेर रुँदै आकाशतिर धारे हात

|

मुगु : मुगु जिल्लाका अधिकांश खेतबारीमा लगाएको अन्न बाली खडेरीले सुकेको र बचेको पनि किराले खान थालेपछि किसान चिन्तामा परेका छन्। हिउँदको समयमा राम्रै हिमपात हुँदा हिउँदे बाली तथा फलफूलको उत्पादन हुने आशामा खुसी भएका यहाँका कृषक खडेरीले बालीनाली खेतबारीमै सुकेपछि चिन्तत भएका हुन्।

'उम्रेको बाली केही त खडेरीले डढेर गयो बचेको पनि किराले खाएर सखाप पार्न थाल्यो अब के गर्ने?' छायानाथ रारा १ का स्थानीय कृषक लालदेवी शाहीले भनिन्। थोरै जमिन भए मकै सिमी छर्दा पनि धेरै जग्गा बाँझो रहने र खाद्यन्न संकट निम्तिने शाहीको भनाइ छ। 'खेतबारी हेर्दा रुन मन लाग्छ। अनि आकाशतिर हेर्दै धारे हात लगाउन मन लाग्छ।' छायानाथ रारा नगरपालिका-४ कि नम्रता रोकायालाई दुखेसो सुनाइन्।

सिँचा सुविधा छैन

जिल्लाको चारवटा स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा केही सिँचाइयोग्य जमिन भएकाले रोपाइँ भइरहेको छ। तर छायानाथ रारा नगरपालिका र सोरु गाउँपालिकामा भने धानका बिउ ब्याडमै सुक्न थालेको छ।

यता मुगुम कार्मारोङ गाउँपालिका पूरै सुख्खा क्षेत्र भएकाले कृषकले खेत बारीमा  लगाएको चिनो, कागनु, कोदो, मार्से भने पूरै खडेरीले सखाप भएको छ।

स्थानीय तहको निर्वाचनका बेला राजनीतिक दलका नेताहरूले सिँचाइ नपुगेको स्थानमा सिँचाइ कुलो बनाउन नसकिने स्थानमा थोपा सिँचाइ, पानी भकारी, आकासे पानी संकलन, नदी तथा खोलाको पानी लिफ्टिङ जस्ता आस देखाए पनि कृषक भने आकासे पानीकै भरमा बस्नुपरेको छ।

चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा नातागोता आफन्तलाई योजना दिएर कसरी बलियो बनाउने भन्नेमा मात्र जनप्रतिनिधि केन्द्रित भएको किसानहरूको आरोप छ।

कृषक अन्योलामा

संघीयतापछि कृषि कार्यालय स्थानीय तहमा गाभिएको र जिल्लामा जुम्ला कार्यालय रहनेगरी कृषि ज्ञान केन्द्रको सम्पर्क कार्यालय रहेकाले कृषिमा देखिएका समस्याका विषयमा सोधपुछ गर्न कहाँ जाने भन्नेमा पनि कृषक अन्योलमा छन्।

अहिले खडेरी परेको तथा सुखा मौसम हुँदा बालिनालीमा विभिन्न रोग र किराको संक्रमण बढ्ने कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुले जनाएको छ।

ज्ञान केन्दमा षधि अभाव

अहिले सम्पर्क केन्द्रसँग रासायनिक तथा जैविक विषादीको औषधि नभएकाले निजी एग्रोभेटमा विषादी किन्न सकिने सम्पर्क केन्द्रका निमित्त प्रमुख सुकिराम नेपालीले जानकारी दिए। उनले बालीनालीमा किरा लागेको भन्ने विषयमा सम्बन्धित स्थानमै पुगेर मात्र संक्रमित किराको विषयमा यकिन भन्न सकिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.