‘एकताको दस्तावेजबाट पछि हटे दुर्भाग्य’

|

चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताएका छन्।

नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रचण्डले नेपाली जनताको चाहना र कम्युनिस्ट आन्दोलनको उपलब्धिका रूपमा पार्टी एकता भएको बताए।

निर्वाचनको समयमा भएको तालमेललाई एकतामा ढाल्नका लागि केही समय लागेको भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सकिएको प्रचण्डको भनाइ थियो। उनले कम्युनिस्ट एकताप्रति जनताको अभिमत जाँच्ने ब्यारो मिटरका रूपमा निर्वाचनलाई लिइएको बताए।

पार्टी एकतालाई धमिल्याउनका लागि प्रतिक्रियावादी शक्ति र अवसरवादी शक्तिहरू अहिले पनि सल्बलाई राखेको प्रचण्डको भनाइ थियो। उनले भने, ‘गठबन्धन, पार्टी एकता र अहिले पनि एकता भाँडियोस् भन्ने उद्देश्यका साथ प्रतिक्रियावादी र अवसरवादी शक्तिहरू लागिपरेका छन्।‘  जनताको नैतिक दबाबका साथ खबरदारीले पार्टी एकता सम्भव भएको उनको ठम्याइ थियो। उनले भने, ‘पार्टी एकता असाधारण काम थियो तर जनताको दबाबले सम्भव भएको हो।‘

पार्टी एकता टुङ्ग्याउनेतर्फ दुवै अध्यक्ष लागिरहेको बताउँदै अध्यक्ष प्रचण्डले कार्यकर्तालाई विचल्लित नभई लाग्न आग्रह गरेका थिए। अब एकताको प्रक्रिया टुङ्ग्याउनका लागि केन्द्रीय संरचना, विशेष कमिटी, आयोग, विभाग र कार्य विभाजनको काम मात्रै बाँकी रहेको उनले जानकारी दिए। पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकताको अन्तिम चरणमा आइपुग्दा पार्टी एकताको दस्तावेजबाट जो कोही पछि हटे पनि यसले दुर्भाग्य हुने बताएका थिए।

सहमति र एकताको आधारबाट विचल्लित नभई सबै एक भएर अघि बढ्नुको विकल्प नभएको उनले बताएका थिए। पार्टी एकताबाट विचल्लित हुन खोज्दा खण्डन र आलोचनाले पार्टीलाई सच्चिन मद्दत पुग्ने उनको भनाइ थियो। अहिले पार्टीले जिम्मेवारी नदिएको भनेर बस्ने समय नभएकाले उनले सबैले सङ्गठन निर्माणमा लाग्नु आवश्यक रहेको आवश्यकता औँल्याएका थिए।

यसैबीच नेकपा चितवनले पूर्णता पाएको छ। पार्टीका १५५ जना जिल्ला सदस्यलाई एकै साथ शपथग्रहण गराएर पूर्णता दिइएको हो। शपथग्रहण कार्यक्रममा नेकपाका नेता अमिक शेरचन, नेकपा प्रदेश ३ का प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, नेता सुरेन्द्र पाण्डेलगायतको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.