उरुग्वेद्वारा चिली पराजित

|

कोपा अमेरिका २०१९ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। जापानले इक्वेडरसँग बराबरी र उरुग्वेले चिलीलाई पराजित गरेसँगै क्वार्टरफाइनलमा भिड्ने टोलीको छिनोफानो पनि भएको हो। 

मंगलबार बिहान भएको खेलमा जापानले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेपछि तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट दुई टोलीका रूपमा पेरु र पाराग्वेले अन्तिम आठमा स्थान बनाएका हुन्। 

खेलको सुरुवाती अग्रता जापानले लिएको थियो । सोया नाकाजिमाले इक्वेडरका गोलरक्षकको गल्तीको फाइदा उठाउँदै खाली पोस्टमा जाली चुमाएर सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ३५ औ मिनेटमा एन्जल मिनाले पेनाल्टी एरियाबाट गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा दुवै टिमबाट गोल हुन नसकेपछि पाराग्वेले फाइदा उठाउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो। जापानका नाकाजिमा खेलको म्यान अफ द म्याच चुनिए। 

बराबरीसँगै जापानले पाराग्वेसँगै समान २ अंक जोडे पनि गोल अन्तरमा पछि पर्दै समूह चरणबाटै बाहिरिएको हो। त्यसैगरी चिलीलाई १–० ले हराउँदै उरुग्वे समूह सीको विजेता बनेको छ । उरुग्वेका जितमा खेलको ८२ औँ मिनेटमा इडिन्सन काभानीले निर्णायक गोल गरे। दुवै टोली एक खेल अघि नै क्वार्टरफाइनल प्रवेश गरेका थिए। खेलको म्यान अफ दि म्याच गोलकर्ता काभानी घोषित भए। 

समूह ‘ए’ बाट ब्राजिल विजेता र भेनेजुएला उपविजेता बन्दा ४ अंक जोडेको पेरु तेस्रो स्थानमा रह्यो। समूह ‘बी’ बाट कोलोम्बिया पहिलो र अर्जेन्टिना दोस्रो स्थानमा रहँदा २ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा रहयो। समूह ‘सी मा उरुग्वे शीर्षस्थानमा रहँदा चिली दोस्रो स्थानमा रह्यो। 

यस्तो छ क्वार्टरफाइनल समीकरण

पहिलो क्वार्टरफाइनल  – ब्राजिलविरुद्ध पाराग्वे

दोस्रो क्वार्टरफाइनल  – भेनेजुएला विरुद्ध अर्जेन्टिना

तेस्रो क्वार्टरफाइनल  – कोलोम्बियाविरुद्ध चिली

चौथो क्वार्टरफाइनल  – उरुग्वेविरुद्ध पेरु
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.