पशुको आहाराभन्दा सस्तो धान
पशुको आहाराभन्दा सस्तो धान
दमक (झापा) : यतिबेला पूर्वी नेपालका किसानलाई चैते (बर्खे) धान थन्क्याउन चटारो छ। पाकेको चैते धान थन्क्याएर अर्को धान रोपाइँको तयारी गर्नुपर्ने भएकाले किसान अझ व्यस्त छन्। तर, लागतसमेत नउठ्ने गरी चैतै धान बेच्नु पर्दा उनीहरु आर्थिक मारमा परेका छन्।
'अहिले बजार मूल्य पशु आहाराभन्दा पनि कम भएपछि किसानलाई बर्खे धान निल्नु न ओकल्नु बनेको हो। नबेची राखौँ भने कुहिने डर, बेचौँ भने लगानी उठ्दैन' झापा कमल–७ का किसान भीम केरुङ गुनासो गर्दै भन्छन्, ‘मल, बिउ, खेताला लगाएको दाम समेत नउठ्ने गरी धान बेच्नु पर्दा हामी मारमा परेका छौँ ।’
पानी परिदिएकाले धानको उत्पादन राम्रो भए पनि बिक्री मूल्य भने ६ सयदेखि साढे ६ सयमात्र हुँदा आफूहरूलाई मर्का परेको कमल–६ का अर्का किसान खेम आचार्यको भनाइ छ। चैते धान लगाउने समयमा विद्युत् मोटर चलाएर पानी लगाउन पर्दालगायतले लागत बढी भएको उनको भनाइ छ। ‘लागतसमेत नउठ्ने हुँदा अर्कै बालीको विकल्प खोज्नु पर्ने अवस्था आएको छ,’ आचार्यले भने।
‘बेचौं दाम छैन, राखौं काम छैन’
चैते धानको उचित मूल्य नपाउनुको मुख्य समस्या भनेको भण्डारणमा कठिनाइ हुनु हो। धान काट्ने समयमा वर्षायाम सुरु भइसकेको हुन्छ। सुख्खा हुने गरी सुकाउन सकिन्न। जसले गर्दा किसान आफैँले भण्डारण गर्न सक्दैन र जति मूल्य भए पनि बिक्री गर्न बाध्य छन्।
तर चामल मिल तथा उद्योगीहरूले मन खुसी मूल्य तोकिदिँदा किसान मारमा परेका हुन्। कमल–६ का विशाल निरौलाले भने, ‘अलिकति आम्दानी हुन्छ कि भनेर धान रोपिन्छ, बेच्ने बेलामा निल्नु न ओकल्नु हुन्छ, भुसको दाममा नबेची धरै छैन।’
उनी धानलाई सुख्खा बनाई लामो समयसम्म भण्डारणको व्यवस्था मिलाउन सके आफू अनुकूल समयमा बिक्री गर्न पाइने आशा व्यक्त गर्छन्। ‘तर यो प्रविधिको लागि सरकारी निकायबाटै ध्यान पुर्याउनु पर्छ, किसानले सक्दैन,’ उनी भन्छन्।
यस्तै कमल–५ का देवेन्द्र आङ्देम्बेले अहिले सुंगुरलाई खुवाउने चारो किन्दा प्रति केजी २० रुपैयाँसम्म पर्ने तर धान मूल्य प्रति केजी १५ रुपैयाँ मात्र रहेको गुनासो गरे। उनले भने–‘यो चैते धान फलाएर पनि हैरान छ, बेचौं दाम छैन, राखौँ नसुकाई काम छैन, सुकाउँ भने प्रविधि छैन, घाममा सुकाउँ भने असार हो, कतिखेर झरी पर्छ टुङ्गो हुँदैन।’
चिसो धान सुख्खा बनाउने ‘ड्रायर’को उपयोग बढाउन सके मूल्य पाइने कमल–७ का पूर्णकुमार मावो बताउँछन्।
खाँचो प्रविधिको
झापाको कमल गापाका उपाध्यक्ष वेनुप्रसाद सिवाकोटीले बर्खे धानका लागि ड्रायरको निर्माण तथा उपयोगतर्फ ध्यान दिने बताए। यसका लागि प्रदेश सरकारसँग समेत समन्वय गरिने उनको आश्वासन छ । आधुनिक प्रविधि भित्र्याउन गापाले प्राथमिकता दिने उनले बताए।
यस्तै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले धानले कम मूल्य पाउनुका कारणबारे अध्ययन गरी उपयुक्त विकल्पको प्रयोग गर्न समितिले समन्वयकारी भूमिका निर्वाह गर्ने आश्वासन दिए।
२१ हजार हेक्टरमा खेती
झापा धान खेतीका उर्वर ठाउँ हो । यहाँ ९० हजार हेक्टर धान खेती योग्य जमिन छ। विद्युतीय मोटरबाट भए पनि सिँचाईको पहुँच वृद्धि भएसँगै दुई बाली धान लगाउने क्रम बढेको छ। तर अन्य खेती समेत गर्ने भएकाले चैते धान भने सवै जमिनमा हुँदैन।
यस वर्ष झापामा २१ हजार हेक्टर जमिनमा चैते धान रोपाई भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। यो गत वर्षको भन्दा २ हजार हेक्टर बढी हो। झापामा चैते धानको सरदर उत्पादन प्रति हेक्टर ५ मेट्रिकटन हुने गरेको छ।
अन्तिम आँकडा आइनसकेको भए पनि यस वर्षसमेत गत वर्षको भन्दा कम उत्पादन नहुने कार्यालय प्रमुख शालिकराम भट्टराईले बताए। गत वर्षको उत्पादन दर अनुसार यस वर्ष झापामा १ लाख मेट्रिक टन भन्दा बढी चैत धान उत्पादन हुँदैछ।
केही किसानले बिक्री गरिसके भने केहि भित्र्याउने क्रममा छन्। तर लागतअनुसार मुल्यको अभाव भए पनि किसान बेच्नै पर्ने बाध्यतामा रहने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।