|

काठमाडौं : २०७१ कात्तिक पहिलो साता गुल्मी हुँगाका ध्रुव न्यौपाने व्यवसायिक योजना (विजनेस प्‍लान) बोकेर आफ्नै गाविसमा निस्किए। गाउँमा रहेका सामान सहरमा ल्याउने र सहरको पैसा गाउँमा पुर्‍याउने योजना उनको थियो।

गाँउमा भएका सबै सामग्री उठाउने र स्टोर गर्ने उनको पहिलो लक्ष बन्यो। को सँग कति कोदो छ? को सँग कति कागति छन्? कसको बारीमा मुला छ? यस्तै यस्तै कति सामन रहेछ भनेर उनी त्यस दिन आफ्नो गाविस चहारेका थिए, सँगै आफ्नो योजना गाँउलेलाई सुनाए पनि।

मलाई थाहा थियो गफ गर्ने धेरै छन् काम गर्ने कम हुन्छन्। भन्छन्- मैले काम नगरेसम्म गाउँलेलाई विश्वासमा ल्याउन समेत गाह्रो छ।

उनले आफ्ना योजना सुनाई रहदा गाँउलेहरु मुसुमुसु हासीरहन्थे उनलाई गिज्याई रहेको आभाष भएता पनि उनले झर्को मानेका थिएनन्। उनलाई थाहा थियो गफ गर्ने धेरै छन् काम गर्ने कम हुन्छन्।

‘मैले काम नगरेसम्म गाँउलेलाई विश्वासमा ल्याउन समेत गाह्रो थियो। त्यसैले उनी काम गरेरै देखाई हाल्ने योजनामा थिए।  ठीक एक साता पछि उनी पुन तिनै घर चाहर्दै थिए। त्यो बेला भने उनले आफूसँग केही कामदार पनि हिडाएका थिए। कोही कोदो, कोही मकै उठाउँदै हिडिरहेका थिए। कात्तिकको महिना बारीको काल्नामा लटरम्म बेलौती (अम्बा) फलेका थिए।

यसपछि भने मंसिर महिनामा उनी गुल्मीका थप १० गाविस र पाल्पाको अर्घेली गाविस गरी १२ वटा गाविस चहारे। यी १२ गाविसमा भने उनीसँगै सम्झौता पत्र पनि बोकेको थिए। उनले किसानसँग स्टक रहेको सामान आफ्नो पसलले उठाउने प्रतिवद्धतासहित सम्झौता गर्दै किसानलाई विश्‍वास दिलाउँदै हिडे।उनले ती अम्बा कतिमा बेच्नुहुन्छ भनेर कृषकलाई सोधे। ‘कुहेर खेर जाने हुन् त्यतिकै लैजानुस् चाहिदैन पैसा’ कृषकले न्यौपानलेलाई जावाफ दिए। उनले त्यतिकै नलैजाने खेर जाने बस्तुकै पैसा पार्ने योजना रहेको विजनेशमेन आफू भएको बताएपछि प्रति किलोको १० रुपैयाँमा अम्बा उठाए। उनले यी सामग्रीलाई स्टल गर्नको लागि बलेटक्सारमा स्टक खोलिसकेका थिए। त्यही लगेर गाँउका सामानहरु स्टक गर्ने गरेका थिए।

यसरी बन्यो पैँचो पसलको योजना

२०५३ सालमा एसएलसी पास भएसँगै ध्रुव न्यौपाने केही काम गर्दै पढ्ने योजना बनाएर कैलाली पुँगे। दाजुसँग मिलेर कैलालीमा सामान्य होटल सञ्चालन गरे। होटल सुरु गरेको केही महिनामै होटलबाट प्रतिफल ह्‍वात्तै बृद्धि भएको थियो।

१ वर्षमै उनी होटल विस्तारको योजनामा लागे नेपालगन्ज, दिपायल, बुटवल, काठमाडौंलगायतका क्षेत्रमा होटल विस्तार गरे। होटल व्यवसाय सुरु गरेको १५ वर्षमा नै उनले होटलबाट राम्रै कमाए। तर होटल व्यवसाय सुरु गरेको १५ वर्षपछि २०६८ सालबाट भने उनलाई अर्को क्षेत्रमा हात हाल्न मन लागेको थियो।

अरुले खासै अवलम्वन नगरेको, गाउँका सामान्य आम्दानी भएका व्यक्ति पनि लाभान्वित हुने र धेरैलाई रोजगारी दिन सक्ने व्यवसाय उनले खोजिरहेका थिए। रहर भने व्यवसाय नै गर्नु थियो। २०६९ सालबाट भने उने पूर्ण रुपमा होटल क्षेत्रबाट हात निकाले।

‘गाँउमा सामान कुहिएको छ, सहरका मान्छे गाँउको सामान खोज्छन् तर पाउँदैनन् अब यही नै काम गर्नुपर्छ भन्ने लाग्यो’

‘गाँउमा सामान कुहिएको छ, सहरका मान्छे गाँउको सामान खोज्छन् तर पाउँदैनन् अब यही नै गर्नुपर्छ लाग्यो सुरु गरिहाले’ ध्रुवले थाहाखबरलाई भने। उनले १५ वर्ष होटल व्यवसाय सञ्चालन गर्दा भोगेको अनुभव पनि थियो यो।

उनलाई नाम पनि अलि वैज्ञानिक र आकर्षक राख्न मन थियो। नामको विषयमा समेत उनले धेरैजनासँग छलफल गरे। नामको विषयमा समेत मैले धेरै मान्छेसँग धेरै छलफल गरे सहरको पैसा गाँउमा पुर्‍याउने गाँउको सामान सहरमा ल्याउने मेरो उद्देश्यमानै नाम जुटेको रहेछ, पैँचो अनि २०७० सालमानै पैँचो पसल प्रालि दर्ता गराए’ न्यौपानेले भने।

तत्काल नाफा छोडेर घाटामा जाने योजना

न्यौपानेले आफूले सुरु गरेर होटल व्यवसाय छोडेर अर्को व्यवसाय सुरु गर्ने योजना निर्माण गर्दै गर्दा थुप्रै व्यक्तिहरुसँग परामर्श गरे। ‘किन छोड्न खोजेको होटल व्यवसाय पहिलो प्रश्‍न यही हुन्थ्यो’ न्यौपाने भन्छन्। के गरौत?  भन्दा उनलाई आयतित व्यापार गर्न सुझाव आउने गर्थ्यो।

व्यवसाय गर्नुको लक्ष त आखिर नाफा कमाउनु पनि हो तर तत्काल नाफा कमाउनु थिएन, व्यवसाय गरेर नै सामाजिक उत्तरदायित्व निर्वाह गर्न मन पनि थियो त्यसैले आफ्नो जन्मस्थलनै गए र आफ्नै बुवाआमा लाभान्वित हुने गरी काम सुरु गरे।न्यौपाने भन्छन् मलाई ९० प्रतिशत सुझाव ‘विदेशबाट सामान ल्याउने यहाँ बेच्ने गर छिटो नाफा पनि हुन्छ व्यवसाय पनि फस्टाउँछ’ भन्ने सुझाव आउथ्यो। छिटो नाफा कमाओस् सम्पन्न बनुस् भनेर यस्ता सुझाव आएता पनि न्यौपानेको अर्को व्यवसाय अपनाउँदा लिएको उद्देश्य पूर्ति नहुने भएपछि ९० प्रतिशतको सुझाव वेवास्था गरे।

उनले पहिलो चार बर्षमा लगानी मात्रै विस्तार गर्ने, पाँच वर्षबाट नाफा कमाउन सुरु गर्ने र १० वर्षमा लगानी उठाएर पूर्ण रुपमा नाफामा जाने योजना छ।

कसरी विस्तार हुदै छ व्यवसाय?

२०७० सालमा पैँचो पसल प्रालि सुरु गरेका न्यौपानेसहित अहिले पैँचो पसल प्रालिमा ३३ जना लगानीकर्ता छन्। न्यौपानेका अनुसार हालसम्म पैँचो पसलमा १५ करोड रुपैयाँ लगानी भएको छ भने यसै वर्षभित्रमा थप ५ करोड लगानी विस्तार गर्ने योजना छ।

 २०७१ सालमा विधिवत रुपमा सुरु गरिएको पैँचो पसल दुई वर्षको अवधिमा गुल्मी, पाल्पा, अर्घखाची, जुम्ला, रुकुम, रोल्पा र कालिकोट गरि ६ जिल्लामा ५० वटा संकलन केन्द्र स्थपना गरिएको छ।

संकलन केन्द्रमा भने संकलकलाई पैसा उपलब्ध गराइन्छ। त्यो पैसाले गाएलेले लिएको सामान किन्ने काम संकलकको हुन्छ। पैँचो पसल प्रालिले हालसम्म ३० हजार किसानहरुका कृषि सामाग्री खरिद गरेको र १२ हजार किसानसँग सम्झौतानै गरेको प्रालिका प्रवन्ध निर्देशकसमेत रहेका न्यौपाने बताउँछन्।

गुल्मीको रिडीमा पैँचोपसल प्रशोधन उद्योग स्थापना गरिएको छ। यो उद्योगमा अहिले १०० कामदार छन्। बुटवलको सुख्खानगरमा अत्याधुनिक तरकारी पसल सञ्चालन गरेको छ। बुटवलमा अन्य खुद्रा पसलहरुमा समेत आफ्ना २३ प्रकारका उत्पादन सुरु गरेको पैँचो पसलले आफ्नो दोस्रो बजार मंगलबारबाट काठमाडौंमा सुरु गरेको हो।

काठमाडौंमा भने १५ वितरकहरुद्वारा ८ प्रकारका उत्पादन मात्रै विक्री सुरु गरेका छन्।

यी हुन् अबका योजना

न्यौपाने भन्छन्- ‘मैले फरक बाटो लिएको छु यसमा  सफलता हासिल हुन्छ या हुँदैन भोलिका दिनमा अवश्‍य देखिने छ। तर मेरो कारण लाखौं कृषक भने लाभान्वित हुनेछन्।' अहिले ६ जिल्लामा संकलन केन्द्र स्थापना गरेको पैँचो पसल प्रालिले यो वर्षमा बागलुङ, पर्वत र म्याग्दीमा संकलन केन्द्र विस्तार गर्ने योजना बनाएको छ।

आगामी ५ वर्षमा भने सबै पहाडी जिल्लामा संकलन केन्द्र विस्तार गर्ने र देशका सबै सहरमा बजार विस्तारको योजना उसको छ । त्यसपछि निर्यातमा ध्यान दिने लक्ष्य पैँचो पसलको छ।   

   

फोटोहरुः पैँचो पसलको फेसबुकबाट।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.