भरतपुरको तुलनामा काठमाडौंको पाँच गुणा बढी

|

काठमाडौं : आगामी आर्थिक वर्षका लागि देशका ठुला ६ महानगरपालिकाले बजेट विनियोजन गरेका छन्। प्रदेश ३ का तीनसहित प्रदेश १, २ र ४ का एक-एक महानगरले बजेटको टुंगो गरेका हुन्।

जनसंख्या र पूर्वधारको हिसावले सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका र क्षेत्रगत हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरले क्रमश पहिलो ठूलो र दोस्रो ठूलोको बजेट पेश गरेका छन्। 

केन्द्र सरकारबाट उपलब्ध अनुदान सबैभन्दा धेरै पाउनेमध्ये तेस्रो नम्बरको भरतपुर महानगरपालिकाले सबैभन्दा सानो आकारको बजेट ल्याएको छ। सबैभन्दा कम अनुदान पाएको विराटनगर महानगपालिकाले तेस्रो ठूलो बजेट विनियोजन गरेको छ। 

समग्रमा छ वटा महानगरले ३५ अर्ब ४८ करोड रुपैयाँ भन्दा बढीको बजेट ल्याएका छन्। महानगरहरुको बजेटमा काठमाडौं महानगरपालिकाको हिस्सा ४२ प्रतिशत छ।

त्यस्तै भरतपुर महानगरपालिकाको हिस्सा नौ प्रतिशत मात्रै छ। भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा तीन करोड रुपैयाँ मात्रै बढी बजेट विनियोजन गरेको छ। तर काठमाडौं महानगरपालिकाले साढे दुई अर्ब रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको छ।

काठमाडौंको १५ अर्ब ७० करोड

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा दुई अर्ब ५८ करोड रुपैयाँ बजेट बढाएर सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षका लागि महानगर प्रमुख विद्यासुन्दर शाक्‍यले प्रस्तुत गरेको बजेट १५ अर्ब ५० करोड ७० लाख रुपैयाँको छ। 

सबैभन्दा बढी २७ प्रतिशत बजेट भौतिक पूर्वधारमा छुट्टाइएको छ। मेयर शाक्यले भौतिक पूर्वाधारका लागि चार अर्ब ३१ करोड अर्थात २७ प्रतिशत, समाजिक विकास कार्याक्रमका लागि एक अर्ब ५२ करोड अर्थात नौ प्रतिशत र शिक्षाका लागि एक अर्ब ३५ करोड बजेट विनियोजन गरेका छन्। 

पर्यटन तथा सम्पदा संरक्षण्का लागि ६७ करोड, हनुमान ढोका संरक्षण कार्यक्रमका लागि करिब ५५ करोड, वातावरण तथा उद्यान व्यवस्था कार्यक्रमका लागि ३१ करोड ८५ लाख, शहरी योजनासम्बन्धी कार्यक्रमका लागि २९ करोड र सार्वजनिक-निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख रुपैयाँ बजेट छ्टाइएको छ ।

त्यस्तै सूचना तथा सञ्चारका लागि १६ करोड, जनस्वास्थ्य सेवा कार्यक्रमका लागि १२ करोड,  कृषि तथा पुशसेवाका लागि छ करोड र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ।

पोखराको सात अर्ब ५४ करोड

पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि सात अर्ब ५४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। चालु खर्च दुई अर्ब १५ करोड र पुँजीगत खर्च ४ अर्ब ७० करोड रुपैयाँ रहेको बजेट महानगरपालिकी उपप्रमुख  मन्जुदेवी गुरुङले प्रस्तुत गरेकी हुन्। 

बजेटमा संघीय सरकारबाट तीन अर्ब ३३ करोड ७८ लाख, गण्डकी प्रदेश सरकारबाट ४७ करोड ९६ लाख र आन्तरिक आयबाट दुई अर्ब ५० करोड २९ लाख जुटाइने उल्लेख छ। अपुग हुने ६८ करोड ५० लाख रुपैयाँका लागि वैदेशिक ऋण तथा अनुदानबाट १० करोड, जनसहभागिताबाट ३६ करोड ५० लाख र चालु आर्थिक वर्षको मौज्दातबाट २२ करोड रुपैयाँ व्यहोरिने उल्लेख छ। 

महानगरको पूर्वाधार, ‘कनेक्टिङ’ सडक, भवन निर्माण, खानेपानी, ताल संरक्षण, ‘स्मार्ट सिटी’, आकाशेपुल, पातलेछाँगामा सिसाको पुललगायतलाई बजेट छुट्याइएको छ।

ललितपुरको पाँच अर्ब १७ करोड

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ। पूर्वाधार विकासका लागि २ अर्ब ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन गरिएको हो। नगरप्रमुख चिरिबाबू महर्जनले पूर्वाधार विकासका लागि कुलबजेटको ३८ दशमलव ७५ प्रतिशत  विभाजन गरेका छन्।

त्यसैगरी आगामी आर्थिक वर्षको चालु खर्चका लागि १ अर्ब १२ करोड ५९ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ। यो कुल बजेटको २१ दशमलव ७४ प्रतिशत हो। सामाजिक सुरक्षाका लागि ४६ करोड, आर्थिक विकासका लागि ७५ करोड ३४ लाख ५ हजार, सामाजिक विकासका लागि १६ करोड ८४ लाख ४५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा १६ करोड ५५ लाख, संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट पनि विनियोजन गरिएको छ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’को अवधारणालाई उच्च प्राथमिकता दिइएको छ।

नगरप्रमुख महर्जनले ललितपुर नगरलाई समुन्नत सांस्कृतिक सहर बनाउने मुख्य उद्देश्यका साथ बजेट, नीति तथा कार्यक्रम तय गरिएको स्पष्ट पारे। उनले बजेटमा पर्यटन विकासको माध्यामबाट आर्थिक वृद्धि गर्ने लक्ष्य निर्धारण गरिएको पनि बताए।

त्यसैगरी दीगो सहरी पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शिता र जवाफदेहिता, सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माण, वातावरणमैत्री स्थानीय शासन व्यवस्था, अपांगमैत्री पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रका सर्वसाधारणको पहुँचमा वृद्धि, गरिवी न्यूनीकरण, विषादीरहित करेसाबारी तथा कृषिमा आधुनिकीकरण, वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियानलाई पनि बजेटेले प्राथमिकता दिने भएको छ।

बजेट, नीति तथा कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माण र विपद् न्यूनीकरणलाई पनि प्राथमिकतामा राखिएको पनि नगरप्रमुख महर्जनले बताए। ललितपुर महानगरपालिकाले नगरलाई हरियाली बनाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा हरेक वडामा एक ‘हरियाली पार्क’ निर्माण गर्ने घोषणा पनि गरेको छ।

विराटनगरको पाँच अर्ब १२ करोड

विराटनगर महानगरपालिकाले पाँच अर्ब १२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो महानगरले पनि मुख्यत: पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट पेश गरेको छ।

प्रस्तुत बजेटमध्ये महानगरपालिकाको आन्तरिक खर्चमा तीन अर्ब २९ करोड ४९ लाख, मझौला तथा एकीकृत सहरी वातावरणीय सुधार परियोजनामा एक अर्ब १२ करोड ३० लाख विनियोजन गरिएको छ।

प्रदेश नम्बर १ को राजधानीसमेत विराटनगरले त्यसका लागि आवश्यक संरचना निर्माणसँगै विकास र समृद्धिका लागि पनि बजेट छुट्याइएको जनाएको छ। 

सडक पूर्वाधारहरुको विकास तथा स्तरोन्नति, आधारभूत तथा माध्यमिक शिक्षा र त्यसको गुणस्तर सुधार, हरित विराटनगर र प्लास्टिक तथा ध्वनि प्रदूषणमुक्त विराटनगरजस्ता कार्यक्रमलाई बजेटमा महत्वका साथ समावेश गरिएको छ ।

‘हामी सबैको सहर, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ भन्‍ने नाराका साथ मंगलबार चौथो नगरसभामा मेयर भीम पराजुलीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत् गरेका हुन्।

एक दिनअघि नै वीरगन्जको बजेट

देश २ को एकमात्रै वीरगञ्ज महानगरमा चार अर्ब ४८ करोड बजेट विनियोजन गरिएको छ। वीरगञ्जसहितका केही स्थानीय तहले सोमबारृ आगामी आर्थिक वर्षको बजेट ल्याएका हुन्।

महानगरले आर्थिक वर्ष २०७६र०७७ का लागि चार अर्ब ४८ करोडको बजेट प्रस्तुत गरेको हो। चार अर्ब ४८ करोड रुपैयाँको बजेटमध्ये एक अर्ब ३८ करोड २४ लाख  रुपैयाँ चालु खर्चको लागि  तीन अर्ब तीन करोड ८९ लाख रूपयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ  छ करोड रुपैयाँ विनियोजन गरिएको छ।

बजेट स्रोत २१ करोड ४३ लाख मौज्दात बजेट र ४८ करोड रुपैयाँ आन्तरिक स्रोत हुने अनुमान गरिएको छ भने अन्य स्रोतको रूपमा अनुदान तथा राजस्व बाँडफाँड रहेको छ।

सबैभन्दा सानो बजेट भरतपुरको

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३७ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएको छ। ६ महानगरमध्ये यो बजेट सबैभन्दा सानो बजेट हो। 

क्रिकेट रंगशालकाका लागि बजेट विनियोजन गरेको यो महानगरले  पूर्वाधारतर्फ ४७ करोड, ७४ लाख, उद्यमशील एरियाका लागि १९ करोड ७२ हजार, शिक्षा क्षेत्रमा ८ करोड ९६ लाख, स्वास्थ्यमा ८ करोड ६३ लाख, विपद् व्यवस्थापनमा ८ करोड, अपांग, दलितहरुका लागि चार करोड ३१ लाख, खेलकुद क्षेत्रमा ६ करोड रुपैयाँ छुट्याएको छ।

यस्तै, सुशासन तथा विकासका लागि तीन करोड ४५ करोड विनियोजन गरिएको छ ।  २९ वडालाई ३३ करोड ९० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको मेयर रेणु दाहालले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.