जहदाको ३७ करोड ७१ करोड

|

विराटनगर : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षकालागि ५ अर्ब १२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। विराटनगर महानगरपालिकाको मंगलबार सम्पन्न चौथो नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले वार्षिक नीति तथा कार्यक्रम र बजेट एक साथ प्रस्तुत गर्नुभएको हो। 

६२ प्रतिशत पूर्वाधार विकासमा बाँकी प्रशासनिक र चालु खर्च हुने १९ दशमलव ७ प्रतिशत प्रशासनिक खर्च हुने गरी महानगरपालिकाले बजेट विनियोजन गरेको छ। 

महानगरपालिका तर्फ ३  अर्ब २९ करोड ४९ लाख १२ हजार ५ सय रुपैयाँ तथा महानगरमा सञ्चालित क्षेत्रीय शहरी विकास परियोजनातर्फ १ अर्ब ८२ करोड ८१ लाख ७८ हजार गरी ५ अर्ब १२ करोड ३० लाख ९० हजार ५ सय रुपैयाँको बजेट ल्याएको हो।

महानगरपालिकाले प्रस्तुत गरेको अनुमानित व्ययमध्ये आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हजार, राजश्व बाँडफाँडबाट ७२ करोड ५९ लाख, वित्तीय समानिकरण अनुदानबाट ४७ करोड ८४ लाख, सशर्त अनुदानबाट ५८ करोड ८९ लाख, समपुरक र विशेष अनुदान १२ करोड ५० लाख, संघीय सशर्त अनुदान ३९ करोड ५० लाख प्राप्त गर्ने जनाएको छ।

यसैगरी विभिन्न संघसंस्थाबाट २ करोड ३२ लाख, जनसहभागिताबाट ४ करोड ३५ लाख, नगर विकास कोषबाट ११ करोड ऋण, र आन्तरिक आय वृद्धिबाट थप २० करोड प्राप्त गर्ने प्रस्ताव महानगरले अगाडि सारेको छ। प्रस्तुत बजेटमा ६४ करोड ९२ लाख प्रशासनिक खर्च हुने उल्लेख छ।

महानगरपालिकाले सामाजिक विकास तर्फ १० दशमलव ४४ प्रतिशत, शिक्षा तथा खेलकुदतर्फ ३ दशमलव ९३ प्रतिशत, कृषि तथा पशुपंक्षी विकास तर्फ ३ दशमलव ५९ प्रतिशत खर्च हुने प्रक्षेपण गरेको छ।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष देखिने र अनुभूति गर्ने  कार्यक्रम प्रस्तुत गरेको छ। पूर्वाधारमा पहुँच नभएका सिमान्तकृत वर्ग समुदायको बस्ती क्षेत्रमा मेयर विशेष पूर्वाधार विकास कार्यक्रम अघि बढाउने जनाएको छ।

महानगरलाई आर्थिकरुपले आत्मनिर्भर बनाउन मेयरसँग स्वरोजगार, आत्मनिर्भर घरघर अभियान चलाउने जनाएको छ। आत्मनिर्भर बनाउने भनिएपनि आगामी वर्ष ६४ करोड प्रशासनिक खर्च हुने अनुमान गरेको महानगरले चालु आर्थिक वर्षमा ३१ करोड रुपियाँ मात्र आम्दानी गरेको छ।

चालु वर्षमा महानगरले ५४ करोड आम्दानी गर्ने लक्ष्य लिएको थियो। लक्ष्यभन्दा २३ करोड कम राजश्व उठाएको महानगरले आगामी वर्ष ७९ करोड ९८ लाख रुपियाँ आन्तरिक स्रोतबाट आम्दानी गर्ने भन्दै महत्वकांक्षी प्रस्ताव अगाडि सारेको छ।

महानगरपालिकाले पारदर्शिता प्रवद्र्धन गर्न महानगर सूचना केन्द्र स्थापना गर्ने, सेवा प्रवाहलाई थप सुधार गर्ने, प्रधानमन्त्री स्मृति पार्क निर्माण गर्ने, ट्रेड टावर, भ्यु टावर, हवाई मैदान विस्तार जस्ता पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा तारिणी प्रसाद कोइराला सञ्चारग्राम बनेपछि महानगर एफ.एम. सञ्चालनमा ल्याउने घोषणा पनि गरेको छ। एक वडामा एउटा पार्क तथा पिकनिकस्थलको विकास गर्ने अवधारणा पनि महानगरपालिकाले अगाडि सारेको छ।

तीन वर्षभित्र नगरका सबै कच्ची सडकलाई ग्राभेल गरिसक्ने, भित्रि सडकहरु कालोपत्रे गर्ने, १५ लाखमाथिका योजनाहरु ठेक्का प्रकृयाबाट सञ्चालन गर्ने भन्दै नीतिगत सुधारका योजनाहरु पनि महानगरले अगाडि सारेको छ।

एक वर्षभन्दा बढी समय जमिन बाँझो राख्ने किसानलाई भूमिकरमा २५ प्रतिशत थप रकम लिने, रोजगारी सृजना र क्षमताका आधारमा महानगरभित्र सञ्चालित उद्योगहरुलाई कर छुट दिने कार्यक्रम महानगरले घोषणा गरेको छ। महानगरले आगामी १० वर्षभित्र हरियाली १० प्रतिशतले वृद्धि गर्ने पनि जनाएको छ।

महानगरपालिकाले यस पटक नीति तथा कार्यक्रममा नाराहरुमा अधिक जोड दिएको छ। साथै मेयर, उपमेयर र वार्ड अध्यक्षको नामबाट कार्यक्रमहरु गर्ने प्रस्ताव पनि गरिएको छ। महानगरले मिट योर मेयर, नो योर गभन्र्मेन्ट, मेयरसँग स्वरोजगार आत्मनिर्भर घरघर, मेयरकप क्रिकेट प्रतियोगिता, मेयरकप मिनी ओलम्पिक खेलकुद, उपमेयरकप महिला कराँते प्रतियोगिता, वडाध्यक्ष कप खेदकुद, छोरी बचाउँ, छोरी पढाउँ, उपमेयरसँग किशोरी, उपमेयर गृहिणी स्वरोजगार कार्यक्रमजस्ता कार्यक्रम अगाडि सारिएको छ।

जहदाको बजेट ३७ करोड ७१ करोड

मोरङको जहदा गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७६/०७७ का लागि ३७ करोड ७१ लाख ५३ हजार २ सय २६ रुपैयाँको अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको छ ।

गाउँपालिको पाँचौ गाउँसभामा उपाध्यक्ष शालो साहले ३७ करोड माथिको  बजेट प्रस्तुत गरेकी हुन्। गाउँपालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड ९० लाख १० हजार, पूँजीगत खर्चतर्फ ३० करोड ८१ लाख ४३ हजार २ सय २६ रुपैयाँ विनियोजन गरिएको छ।

जहदा गाउँपालिकाले  संघीय सरकारबाट समानीकरण अनुदान १३ करोड २० लाख, सशर्त अनुदान १० करोड २५ लाख र राजश्व बाँडफाडबाट ९ करोड १७ लाख प्राप्त गरेको छ। त्यस्तै प्रदेश सरकारबाट समानिकरण अनुदान बापत ७४ लाख ६६ हजार, राजश्व बाँडफाँडबापत ६३ लाख ९४ हजार प्राप्त गरेको छ। जहदा गाउँपालिकाको आन्तरिक राजश्वबाट ९० लाख संकलन गर्ने लक्ष्य लिएको उपाध्यक्ष साहले बताइन्।

गाउँपालिकाले पूर्वाधार विकास, व्यावसायिक कृषि र उद्यमशिलताको विकासलाइ पहिलो प्रथमिकतामा राखेको उपाध्यक्ष साहले बताइन्। जहदा गाउँपालिकाको आर्थिक विकासको मुल आधारका रुपमा कृषिलाई व्यवसायिक बनाउने उद्देश्य सहित जहदाले कृषि तथा पशु स्वास्थ्य क्षेत्रको विभिन्न कार्याक्रमका लागि ८१ लाख २ हजार २ सय ५ रुपैयाँ बजेट विनियोजन गरेको छ।

समग्र स्वास्थ्य क्षेत्रकालागि ८१ लाख ३० हजार ३ सय, गाउँपालिका स्तरीय खेलमैदान निर्माणको कार्यलाइ निरन्तरता दिन ७ लाख तथा समग्र खेलकुद क्षेत्रका लागि ३३ लाख ३९ हजार विनियोजन गरिएको छ।

त्यस्तै गाउँपालिकाका सबै वस्तीहरू सडक सञ्जालबाट जोड्नका लागि ८ करोड ४१ लाख ५८ हजार ९ सय, सिंचाइ आयोजनाकालागि २५ लाख, बायो ग्यास, सौर्यबत्ती, विद्युतीकरणकालागि पोख खरिद जडान लगायतका लागि २८ लाख ८० हजार विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.