|

डडेल्धुरा : नवदुर्गा गाउँपालिका डडेल्धुराले आगामी आर्थिक वर्षका लागि ४० करोड ३७ लाख ४३ हजारको बजेट प्रस्तुत गरेको छ।

मंगलबार गाउँपालिकाको पाँचौं गाउँसभामा गाउँपालिका अध्यक्ष कविन्द्रबहादुर बिष्टले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सो बजेट पेश गरेका हुन्। गाउँसभामा पेश गरिएको बजेटमा सबैभन्दा बढी शिक्षा क्षेत्रको विकासमा खर्च गर्ने उल्लेख गरिएको छ।

गाउँपालिकाले शिक्षालाई गुणस्तरीय, प्रविधिमैत्री बनाउन विद्यालयमा मेसिनरी तथा उपकरण कम्प्युटर, ल्यापटप, इ-हाजिरी प्रोजेक्टर खरिदका लागि बजेट छुट्याइएको छ। विद्यालयमा शिक्षक दरबन्दी अभावका कारण पठन-पाठनमा भइरहेको समस्यालाई निराकरण गर्न स्वयंसेवक शिक्षक परिचालन गरिने भएको छ। 

गाउँपालिकाले विद्यालयमा रहेका अधुरा भवनको निर्माण कार्यलाई पूर्णता दिन बजेट विनियोजन गरेको छ। शिक्षा क्षेत्रका शिक्षक-कर्मचारी तलब समेत सबै कार्यका लागि १० करोड ५७ लाख ५९ हजार बजेट विनियोजन गरिएको छ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रतर्फ तीन करोड ९४ लाख सात हजार बजेट विनियोजन गरेको छ। सार्वजनिक निजी साझेदारी कार्यक्रम सम्पन्न गर्न गाउँपालिकाले दुई करोड पाँचलाख बजेट विनियोजन गरेको छ। 

गाउँपालिका सबै पूर्वाधारको मर्मत सम्भार, स्तरोन्नति, निरन्तरताका लागि कूल सडक पूर्वाधार तर्फ कूल एक करोड  ८८ लाख दुई हजार विनियोजन गरिएको छ।  

गाउँपालिकाले सुख्खा तथा बाह्रै महिना सिंचाई अभाव भएका बस्तीमा फलफूल बिरुवा अनुदानमा दिने भएको छ। कृषिमा आधुनिकीकरण तथा यान्त्रीकरणका लागि थ्रेसर हातेट्याक्टर मिनिटिलर पावरटिलर प्लाष्टिक पोखरी, ट्रसटनेल, प्लाष्टिक छानो जस्ता प्रविधि हस्तान्तरणका लागि बजेट छुट्याइएको छ।

गाउँपालिकाले कृषि तर्फका सबै कार्यक्रम सम्पन्न गर्न १ करोड ११ लाख ४७ हजार बजेट विनियोजन गरेको छ। खानेपानी आयोजनाका नयाँ आयोजना पुराना आयोजनाको मर्मत सम्भार र टुववेलका लागि ६४ लाख ५३ हजार बजेट छुट्याइएको छ। नेपाल पत्रकार संघ डडेल्धुरा शाखा भवन, दलित सामुदायिक भवन, विद्यालय भवन निर्माण कार्यका लागि गाउँपालिकाले बजेट छुट्याइएको छ। 

सामुदायिक स्वास्थ्य इकाइ, स्वास्थ्य संस्था, गाउँघर क्लिनिक भवन, तालिम हल मर्मत गर्न, स्वास्थ्य तर्फ भवन निर्माणलगायतका सबै भवन निर्माण कार्यका लागि ७२ लाख बजेट विनियोजन गरिएको छ। गाउँपालिकाले पशु विकासतर्फ कूल जम्मा ७० लाख ४५ हजार विनियोजन गरेको छ। 

गाउँपालिकाले युवाहरुलाई आर्यआर्जनसँग जोड्न दुग्ध सहकारीमार्फत दुग्ध जन्य पदार्थबाट परिकार निर्माण गरी उद्यमशील बनाउनेलगायतका कार्यका लागि १८ लाख २० हजार विनियोजन गरेको छ। दलित तथा सिमान्तकृत वर्गलाई विकासको मुलप्रवाहीकरणमा समाहित गर्न र दलित हक अधिकार सुनिश्चित गर्न सशक्तिकरण समेतका लागि गाउँपालिकाले १६ लाख बजेट विनियोजन गरेको छ।

यस्तै गाउँपालिकाले सरसफाई तथा स्वच्छताफर्त तीन लाख ६० हजार, महिला तथा लैगिंक समावेशीकरण १२ लाख, युवा तथा खेलकुद कार्यक्रमतर्फ  २१ लाख, बालबालिकाहरुका लागि पाँच लाख बजेट विनियोजन गरेको छ। 

बृद्ध-वृद्धा ज्येष्ठ नागरिकका लागि १० लाख, अपांगता भएका व्यक्तिका लागि आठ लाख, ऊर्जा जलविद्युत्तर्फ  १३ लाख १५ हजार, राहत तथा सहयोग कोष लागि १० लाख बजेट, सूचना संचार क्षेत्रमा २४ लाख बजेट विनियोजना गरिएको गाउँपालिका अध्यक्ष बिष्टले जानकारी दिएका छन्। 

अजयमेरु गाउँपालिकाको बजेट ४२ करोड २६ लाख

डडेल्धुराको अजयमेरु गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि मंगलबार बजेट पेस गरेको छ। गाउँपालिका उपाध्यक्ष कलावती भाणले ४२ करोड ६० लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन्।

६ वटा वडा रहेको अजयमेरु गाउँपालिकामा अझै पनि सडक सञ्जाल, व्यवस्थापनलगायत पूर्वाधारको अभाव छ। कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट आएको छ। समावेशी र समानुपातिक रुपको नीति तथा कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष उमेश भट्ट विकासले बताए।

बाँकी रहेको ३ वर्षमा गाउँपालिकालाई रोजगार मुलक गाउँपालिका बनाउने र कृषिमा आत्म निर्भर हुने खालका कार्यक्रम ल्याउने गाउँपालिकाले लक्ष्य राखेको छ। समावेशी र समानुपातिक रुपको नीति तथा कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष भट्टले बताए।

गन्यापधुरा गाउँपालिकाको नीति तथा कार्यक्रम

गन्यापधुरा गाउँपालिका डडेल्धुराले मंगलबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। ‘लोकतन्त्रको आधार, समता र समानतामूलक पूर्वाधार’ भन्ने मूल नाराका साथ गाउँपालिकाका उपाध्यक्ष कमलादेवि ठगुन्नाले सातौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

स्थानीय सरकारको रुपमा निर्वाचित भएको गन्यापधुरा गाउँपालिकाले यस क्षेत्रभित्र सबै किसिमका भेदभावको अन्त्य गर्दै सम्पूर्ण जनतालाई सम्मानपूर्वक बाच्न पाउने प्रत्येक व्यक्तिको मानव अधिकारको संरक्षण र सम्वर्द्धन गर्ने नीति अवलम्वन गर्ने उपाध्यक्ष ठगुन्नाले प्रश्तुत गरेको वर्षिक नीति तथा कार्यक्रममा उल्लेख छ। 

गाउँपालिका क्षेत्र भित्रका महिला, गरिव, अति विपन्न समुदाय, दलित, अपांग, अल्पसंख्यक, आर्थिक, सामाजिक, वर्गीय, लिंगीय, जातीय रुपमा पछि परेका समुदायको अभिभावकको रुपमा उनीहरूको क्षमता विकास र पहिचान स्थापित गर्न पहल गरिने भएको छ।

अबका दिनमा स्थानीय सरकारले गाउँपालिकामा सर्वसाधारण जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका योजना तर्जुमा गर्ने, स्थानीय जनतालाई योजना तर्जुमाका साथै कार्यान्वयनमा प्रत्यक्ष सहभागी गराउने, मागमा आधारित यस क्षेत्रको माटो सुहाउँदो कार्यक्रम तथा विकास गतिविधि सञ्चालन गरी यस क्षेत्रका जनताको गरिवी न्यूनीकरण गर्ने प्रमुख नीति गाउँपालिकाले लिएको छ। 

विकास र समृद्धि, कृषि क्षेत्रमा लगानी वृद्धि, ‘स्वास्थ्यको सुविधा पुगोस् सबै जन-जन, जिन्दगीमा सबैभन्दा स्वास्थ्य ठूलो धन’, 'सुखी शान्त, समृद्ध होस् हाम्रो गन्यापधुरा, कोही कसैको हुन्या छैन सपना अधुरा’, ‘गन्यापधुरा घुम्न जाउँ तनावबाट मुक्ति, जीवनमा एक पटक पुग्न सबै सोचौं जुक्ति’, ‘स्वच्छ राखौं साफा राखौं हाम्रो गन्यापधुरा, चारैतिर रुख रोपौं पारौं हराभरा’, ‘धनीको सम्मान हुन्छ। आफ्नै गाउँ घर, विद्वान मान्छेको पूजा हुन्छ विश्वभर’, ‘कुरीति र अन्धविश्वास फालौं जरैदेखि, सभ्य समाज निर्माण गर्न जुटौं आजैदेखि’ लगायतका नारा दिइ काम गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ।  

कुनै पनि क्षेत्रमा आवतजावत सुविधाको लागि एवं उत्पादित मालवस्तु निर्यात तथा आवश्यक पर्ने मालवस्तु आयात गर्न यातयातको भरपर्दो सुविधा हुनु पर्ने, गन्यापधुरा गाउँपालिका क्षेत्रभित्र जनताको जीउ धनको सुरक्षा गर्ने, प्राकृतिक विपत्ति, आकस्मिक कार्य, सार्वजनिक सम्पत्तिको संरक्षण एवं जनतालाई विधिको शासनको अनुभूति दिलाउन आवश्यक व्यवस्था गरिने, वर्तमान सूचना प्रविधिको भरपुर उपयोग गर्ने नीति गाउँपालिकाले लिएको नीति तथा कार्यक्रम छ। 

गाउँपालिका क्षेत्रभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाको प्रभावकारी अनुगमन गरी सहकारीका सिद्धान्त, मूल्य मान्यता, आदर्श बमोजिम संचालन हुने वातावरण तयार गरिने, गाउँपालिकामा सुशासन कायम गर्नको लागि सुशासनका आधारस्तम्भहरू: सहभागिता, जावाफदेहिता, प्रतिनिधित्व तथा पारदर्शिता आदिमा इमान्दारिताका साथ जोड दिइने, गाउँपालिका क्षेत्रभित्र रहेका वेरोजगार युवालाई लक्षित गरी युवा उद्यमशिलता प्रवर्द्धन गर्ने नीति लिइने जनाइएको छ। यसका साथै गाउँपालिकामा खेलकुद विकास समिति गठन गरी खेलकुद विकासको लागि विशेष व्यवस्था गरिने भएको छ। 

गाउँपालिकाले अपांगमैत्री वातावरण तयार गर्ने, यसको लागि गाउँपालिकाभित्र निर्माण हुने भौतिक संरचनाहरू अपांगमैत्री बनाइने र अपांग लक्षित कार्यक्रमहरू संचालन गरी उनीहरूको क्षमता विकासमार्फत सम्मानित जीवनयापन गर्ने वातावरण तयार गर्न गाउँपालिकाले पहलकदमी चाल्ने भएको छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष ठगुन्नाले भनिन्, ‘गाउँपालिका भित्रका सुकुम्वासी, मोहियानी समस्या र हलिया पुनःस्थापना कार्यक्रमबाट वञ्चित भएका व्यक्तिहरुको लगत तयार गरी समस्या समाधानको लागि सम्बन्धित निकायमा आवश्यक पहल गरिने छ।’ 

रुवाखोला-रडुवा खण्ड, रडुवा-सकायल खण्ड र कोरायल खोला क्षेत्रमा नदी नियन्त्रणको लागि सम्वन्धित निकायमा आवश्यक पहलकदमी चालिनुका साथै सिँचाइ आयोजनाहरू निर्माण तथा मर्मत सम्भारको लागि आवश्यक बजेटको व्यवस्था गरिने भएको छ। 

महाभारत श्रृंखला तथा जडिबुटीको भण्डारको रुपमा रहेको गन्यापधुराको वन क्षेत्रभित्र चोरीसिकारी, जडिबुटी ओसारप्रसार कार्यलाई निरुत्साहित गर्दै जडिवुटीको पहिचान गरी संकलन केन्द्र स्थापना गर्ने, गाउँपालिकाभित्रका बहुवर्षीय ठूला योजनाहरूलाई गाउँपालिकाका गौरवका योजनाको रुपमा निर्धारण गरी कार्यान्वयनमा लैजाने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.