|

काठमाडौं : समाजवादी पार्टी नेपालबाट निलम्बनमा परेका प्रदीप यादवले पार्टीभित्रबाटै अन्तरसंघर्ष गर्ने प्रतिक्रिया दिएका छन्। लाटभियामा भएको ‘फ्रि तिब्बत’सम्बन्धी कार्यक्रममा पार्टीलाई जानकारी नगराई भाग लिएको प्रकरणमा ६ महिनाका लागि निलम्बनमा परेका यादवले पार्टीको निर्णयलाई स्वीकार गर्दै अन्तरसंघर्ष गर्ने बताएका हुन्।

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै समाजवादीले मंगलबार यादवलाई कारवाही स्वरूप ६ महिनाका लागि निलम्बन गरेको थियाे। थाहा खबरसँगको कुराकानीमा यादवले पार्टीको निर्णयले आफूलाई दुःखी बनाएको बताए। ‘पार्टीले कारवाही गरेको पत्र मलाई दिएको छैन। कारवाहीको कुरा विज्ञप्तिबाट थाहा पाएको छु।’ ‘पार्टीको औपचारिक रूपमा चिठी आउनु पर्‍याे', उनले भने, 'अनि साथीहरूसँग सल्लाह गरेर अघि बढ्छु। यो विषयमा आफ्नो धारणा स्पष्ट पार्छु।’

तपाईँले दिएको जवाफ पार्टीले चित्त बुझाएन नि? भन्ने प्रश्नमा यादवले 'जवाफ राम्रोसँग नै दिएको' बताए। निलम्बनमा परे पनि जनताको काममा खटिरहने उनले बताए। एक दिन पनि जनता र संसद्को कामबाट टाढा नरहने उनको भनाइ छ।

कारवाही भएपछि पार्टी छोड्ने मनस्थितिमा पुग्नु भएको हो? भन्ने प्रश्नमा यादवले भने, ‘पार्टी किन छोड्ने? पार्टीभित्रै संघर्ष गर्ने हो।’ प्रतिशोध राखेर कारवाही भएको हो? भन्ने प्रश्नमा यादवले भने, ‘त्यो त अब कारवाही गर्नेलाई सोध्नुपर्छ। पार्टीलाई सोध्नु पर्छ। म त पार्टीको हाइट बढाउनका लागि खटिएको मान्छे हुँ।’

यादवले आफूले सधैँ पार्टीको उचाइ बढाउने काम गरेको सुनाए। ‘सबैलाई थाहा छ, पर्सा जिल्लाले पार्टीको हाइट बढाएको छ भन्ने। तीनवटै निर्वाचनमा पर्सा जिल्लामा पार्टीले राम्रो स्थान हासिल गरेको छ।’ उनले भने ‘जसको नेतृत्व मैले गरेको छु। आन्दोलन पनि मेरै नेतृत्वमा भएको छ।’ ‘पार्टीले कुन तरिकाबाट निर्णय गर्‍यो म आफैँ दुःखी छु’, उनले भने, ‘तर पार्टीको निर्णय सहर्ष स्वीकार छ।’ यादवले पार्टीको निर्णयलाई स्वीकार गरेर पार्टीभित्रै संघर्ष गर्ने जानकारी गराए। जनता र संसदका लागि गर्दै आएको दैनिक कार्य नरोकिने उनले बताए।

स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी हुन युरोपेली मुलुक लाटभिया पुगेका यादवले आफू झुक्किएर त्यहाँ पुगेको दाबी गरे। उनले आफू नयाँ सांसद भएकाले पनि यस्तो अवस्था आएको बताए। विषयवस्तु नै नबुझी कार्यक्रममा सहभागी भएको प्रसंगमा यादवले आफू झुक्किएर कार्यक्रमको सुरूआती सत्रमा सहभागी भए पनि कुनै धारणा नराखेको र 'स्टेटेमेन्ट'मा पनि हस्ताक्षर नगरेको दाबी गरे।

वैशाख २४ देखि २७ गतेसम्म लाटभियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको भेलामा नेपालको प्रतिनिधिसभाका सांसद यादवसँगै अर्का सांसद राष्ट्रिय जनता पार्टी नेपालका अकवाल मियाँ सहभागी भएका थिए। उनीहरू लाटभिया गएको विषयमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पनि सोधखोज गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.