रोजगारीको पहल गर्दै छौँ : वडा अध्यक्ष

|

बैतडी : 'हुने हार दैव नटार' भनेझै बैतडीकी एक महिलाले बिहे गर्ने उमेरमै चार सन्तानकी आमा त्यसैमा पनि एकल हुनुपर्‍यो। बैतडीको मेलौली नगरपालिका वडा नं ६ हडेलीकी सुनिता दयालको बिहे १४ वर्षमा भयो। बिहे भएको १ वर्षमै पहिलो सन्तानका रुपमा छोराको जन्म दिइन्।

२० वर्षको उमेरमा उनका ४ सन्तान जन्मिए। बिहे गर्न उमेर नहुँदै ४ सन्तानकी आमा बनेकी सुनितालाई ठूलै संकट पर्‍यो।  सुनिता २० वर्षको हुँदा उनका श्रीमान जसी दयालको क्यान्सरले मृत्यु भयो। १४ वर्षको  उमेरमा बिहे गरेकी सुनिताको जुनीजुनी सँगै बाँचौला सँगै मरौँला भन्ने भन्ने बाचा कसमसहित मागी विवाह भएको थियो।  तर ६ वर्ष नबित्दै सँगै जिउँला सँगै मरौँला भनेर कसम खाने मान्छे सधैंका लागि एक्लै छोडेर गए।

२८ वर्षीया सुनिताका श्रीमानको ८ वर्ष अगाडि मृत्यु भएको हो। मृत्यु हुनुभन्दा १ वर्ष पहिलादेखि क्यान्सरले थला परेका जसीले सम्झाएको कुरा सुनितालाई ताजा नै छ। जसिले भनेका थिए, 'तिमीलाई जीवनभरी साथ दिन सकिनँ बालबच्चाको राम्रोसँग स्याहार गर्नू है।'  सुनिता भक्कानिन्छिन्। 

बिहेपछिका ६ वर्ष सुखदुखका साथै बिताएकी सुनिताले ४ सन्तानको समेत जन्म दिइन्। ३ छोरा र १ छोरी गरी ४ सन्तानको जन्म दिएकी सुनितालाई हाल ती सन्तानको पालनपोषण गर्न निकै समस्या भएको छ। 

सुनिताका पहिलो सन्तान ललित दयालको उमेर १४ वर्ष भयो दोस्रो सन्तान लक्ष्मी दयालको उमेर १२ वर्ष भयो। यस्तै तेस्रो सन्तान महेश दयाललाई ९ वर्ष भयो। चौथो तथा  अन्तिम सन्तान रोशन दयाललाई ७ वर्षको भयो। रोशन गर्भमै छदाँ श्रीमानको मृत्यु भएको सुनिताले बताईन्। ललित कक्षा ६, लक्ष्मी कक्षा ५, महेश कक्षा ३ र रोशन कक्षा १ मा पढ्छन्। 

साने उमेरमा बिहे भएकोले उनलाई बिहे गरेको समेत याद छैन।  उनी भन्छिन्, 'बिहे भएको समेत याद छैन,  बिहे भएको कसरी याद होस्।' सानै उमेरमा बिहे भयो। त्यसबेला बाध्यताले बिहे गरियो। यतिसम्मकी बच्चाहरू पनि कहिले जन्मिएक उनलाई कुनै याद छैन।

श्रीमानको मृत्यु भएपश्चात सुनिताको ३ महिनासम्म मानसिक सन्तुलन समेत गुमाइन। श्रीमानकै सम्झनामा उनको मानसिक सन्तुलन गुमेको सत्य हो।

सुनिताको श्रीमान जसीलाई बचाउन निकै कोसिस गरिएको थियो। जसीलाई  माइती पक्षले समेत २ लाख खर्च गरेका थिए। छोरीको बिहे गर्ने उमेर नहुँदै बिधवा हुँदा माइतीलाई पनि कम पिडा भने पक्कै छैन। 'छोरी विधुवा भएको हेर्न नसकिने रहेछ', सुनिताका बुवा भकतराम पार्कीले आशुँ लुकाउदै बोले, 'उतीबेला चेतनाको अभाव थियो सानै उमेरमा बिहे गरिदिए अहिले आएर छोरीको बिच्चली भयो।'

भकतरामको समेत आर्थिक अवस्था निकै कमजोर रहेको छ। उनका ५ छोरी र २ छोरा छन्। बिधवा छोरीको लालनपालन तथा नातीनातनीको हेरचाह पनि भगतले आर्थिक अवस्था कमजोर भएर पनि गरेका छन्। भारतमा रोजगारी गरेर भकतरामले घरधन्दा चलाउदै आएका छन्।

स्थानीय सरकारले चासो नदिएको आरोप

स्थानीय सरकारसंग कुनै रोजगारको लागी आग्रह गरेको भएपनि चाँसो नदिएको सुनिताको आरोप रहेको छ। सुनिता हाल बैतडीकै शिवनाथ गाउँपालिका ६ डाडाँकोटस्थित माइतीको शरणमा छन्।  सासु ससुरा समेत गुमाएकी सुनिताका घरमा अन्य साहारा नहुँदा उनी माइतीको शरणमा पुगेकी हुन्। सुनिताका ४ जेठाजु भए पनि वास्ता नगर्दा उनी बिचल्लीमा परेकी हुन्।

छोराछोरीको लागी कुनै रोजगार नहुँदा उनीहरुको लालनपालन गर्न समेत गाह्रो भएको छ। ८ कक्षा पास गरेकी सुनिताले रोजगारीको लागी वडा कार्यालय तथा नगरपालिका पनि गुहारेको बताईन। तर कुनै सम्बोधन नभएको उनको गुनासो रहेको छ। उनी भन्छिन्, 'एक वर्ष अगाडी नगरपालिकामा रोजगारीको लागी निवेदन दिएको भएपनि हालसम्म कुनै सुनुवाई भएन।'

रोजगारीको पहल

सुनिताको गुनासो बारे मेलौली नगपालिकाका उपप्रमुख राधा ओझाले भने रोजगारीको लागी नगरपालिकाका हालसम्म निवेदन नआएको बताइन्। उनले भनिन्, 'एकल महिलाका लागि आउने भत्ता भने नियमितरूपमा बुझ्दै आउनुभाछ।'

यता प्रत्यक्ष सरोकार रहेको मेलौली नगरपालिका वडा नं ६ का वडा अध्यक्ष प्रमानन्द भट्टले भने रोजगारीका लागि वडा कार्यालयवाट पहल थालिएको बताए।  जनता आवास कार्यक्रमअन्तर्गत सुनिताको घर निर्माणको लागि ३ लाख रुपैयाँ आएको छ। उनले भने, 'घरमा बस्न नमान्दा समस्या भएको छ, माइतीघरमै बस्छु भन्नुहुन्छ।'

'वडामा सञ्चालन हुने सीपमूलक तालिममा पनि सुनितालाई सहभागीताका लागि आग्रह गरेका छौं', वडा अध्यक्ष भट्टले भने 'आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले वडा सञ्चालन हुने सीपमूलक तालिममा पनि सहभागी हुन मान्नुभएन।' 

वडा कार्यालयमा कुनै रोजगारी अन्य अवसर आए सुनितालाई प्राथमिकता राखिने वडा अध्यक्ष भट्टले बताए।  तर माइतीमै बस्ने भएकोले भने सुनिताले गुनासो गरे पनि घरमा नबस्ने भनेपछि कठिनाइ भएको छ। २० वर्षको उमेरमै एकल महिला भएर विचल्लीमा परेकी सुनिताले भने आफ्नो रोजगारीको लागि गुहार गर्दै आएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.