ल्याब कक्षमा मदिराका बोतल भेटिए

|

 

जनकपुरधाम : प्रसूति गराउन पुगेकी एक महिलालाई ठग्ने प्रयास गरेको र मापदण्डविपरीत संचालनमा रहेको भन्दै जनकपुरधाम उपमहानगरपालिका ६ स्थित श्री आस्था हस्पिटललाई प्रशासनले बन्द गराएको छ।

उजुरी परेपछि धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दिनेश साह नेतृत्वमा पुगेको अनुगमन टोलीले उक्त हस्पिटललाई बन्द गराएको हो। हस्पिटलले एउटै विरामीलाई चार खालको बिल दिएको र मापदण्डसमेत पूरा नगरेको देखिएकोले तत्कालका लागि हस्पिटल बन्द राख्न निर्देशन दिएको सहायक प्रजिअ साहले बताए। उनले बन्द राख्न निर्देशन दिएको र संचालन गरेको पाइए कानूनबमोजिम थप कारबाही हुने जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिका १३ कि ललिता साह प्रसूति गराउँदा हस्पिटलले ५ लाख ६५ हजारको बिल थमाएको थियो। पछि जनप्रतिनिधि र समाजका अगुवा हस्पिटल पुग्दा मात्र ३५ हजार लिएर ललितालाई डिस्चार्ज गरेका थिए। त्यसपछि हस्पिटलले ठगी गरेको पुष्टि भएको भन्दै स्थानीय युवा कारबाहीको माग राख्दै प्रदर्शनसमेत गरेको थियो।

सामान्य प्रसूति गराउँदा पनि ५ लाख ३५ हजार बढीको बिल थमाएर अस्पतालले ठगीको प्रयास गरेको पुष्टि भएको भन्दै पीडित परिवारले यही असार ९ गते जिल्ला प्रशासन कार्यालय धनुषामा जाहेरी दर्ता गराएका हुन्।

त्यसपछि बुधबार प्रशासनले हस्पिटलको अनुगमन गरेको हो। अनुगमनका क्रममा पीडित बिरामीका आफन्त, उपस्थित जनप्रतिनिधि र उक्त हस्पिटलका इन्चार्ज मुकेश यादबसँग प्रशासनले सोधपुछ गरेको छ।

‘सबै पक्षसँग वयान लिँदा अस्पताल दोषी देखिएको छ’, अनगुमन टोलीको नेतृत्व गरेका सहायक प्रजिअ साहले भने, ‘हस्पितलका इन्चार्ज भनिएका मुकेश यादबले चार किसिमको हिसाब देखायो। यसले ठगीको प्रयास भएको प्रष्ट भएको छ।’

उनले हस्पिटलमाथि ठगी मुद्दा चल्ने बताए। स्वास्थ्य कार्यालयका प्रतिनिधि नभएकाले तत्काल सिल नगरिएको र बन्द राख्न निर्देशन दिएको बताए।

ल्याब कक्षमा मदिराका बोतल भेटिए

प्रशासनले हस्पिटल निरीक्षण गर्दा ल्याब कक्षमा मदिराको बोतल फेला परेको छ। सिग्नेचर नामक मदिराको खाली दुई वटा बोतल फेला परेको हो। साथै १५ बेडको उक्त हस्पिटलका सबै बेड अत्यधिक फोहोर देखियो। बेड रहे पनि कुनैमा पनि बेडसिट देखिएन। सिरानी पनि कहिल्यै सफा नगरेको अवस्थामा राखिएको थियो।

सहायक प्रजिअ साहले हस्पिटल फोहोरले कुरुप रहेको र मापदण्डसमेत उल्लंघन गरी संचालन गरेको प्रतिक्रिया दिए। उनले हस्पिटलमा आवश्यक चिकित्सकसमेत नरहेको बताए। उनका अनुसार कति चिकित्सक हस्पिटलले राखेको र कति तलब दिइरहेको कागजातसमेत उपलब्ध गराएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.