काठमाडौं प्रहरी प्रमुख भन्छन् : आत्तिनु पर्दैन

|

काठमाडौं  : उपत्यकामा केही दिनयता सिरिञ्जबाट आक्रमण भएको भन्दै महिलाहरु त्रसित भएका छन्। १० दिनको अवधिमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सिरिन्ज जस्तो वस्तुले आक्रमण गरेको भन्दै उपचार गर्न आउनेको संख्या बढ्दै गएको छ।

सिरिन्जको माध्यमबाट विभिन्‍न प्राणघातक सरुवा रोग सारिदिने त्रास विशेष गरी महिलामा देखिँदै गएको छ। तर अहिलेसम्मको अनुसन्धानमा प्रहरीले सिरिन्ज प्रयोग नभएको जनाएको छ। 

बुधबार मात्रै बनेपाकी ३४ वर्षीया एक युवतीमाथि सिरिञ्‍ज आक्रमण भएको समाचार आएको छ। तर उक्त घटनामा पनि आक्रमण भएको वस्तु सिरिञ्‍ज नै भन्‍ने एकीन हुन नसकेको प्रहरीले जानकारी दिएको छ।  

बनेपाकी महिला पनि उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकु आइपुगेकी छन्। उनको रगत परीक्षण भइरहेकाले प्रतिवेदन आएपछि मात्रै केही बताउन सकिने चिकित्सकहरुको भनाइ छ। उपत्यकाको भन्दा काभ्रेको घटना फरक रहेको चिकित्सकहरुले बताएका छन्।

पाँच जनामाथि आक्रमण

 टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार केही दिनअघिदेखि डल्लु, सीतापाइला र स्वयम्भूक्षेत्रबाट आएका पाँचजना महिलाहरुमाथि काँटी जस्तो तिखो वस्तु प्रहार भएको भन्दै उपचार गर्न आएका छन्। ती सबै युवतीहरुमा एउटै समयमा एकै खालको वस्नुले शरिरको तल्लो भागमा आक्रमण गरेको पाइएको छ। तर त्यो वस्तु सिरिन्ज नै हो भन्‍ने एकीन नभएको उनले बताए। 

 सिरिन्‍ज हो भन्‍न सकिँन्‍न

डा बाँस्तोलाले आक्रमणमा प्रयोग गरिएको बस्तु सिरिन्ज नै हो भन्‍न नसकिने बताए। ‘त्यसलाई सिरिन्ज नै भनेर हामीले भन्‍न सक्दैनौँ। घाउको प्रकार हेर्दा मिडियामा सिरिन्ज भनेर आए जस्तो सत्य होइन', बाँस्तोलाले भने, स्वास्थ्य परीक्षण गर्दा सिरिन्ज प्रमाणित भएको छैन। यदि सिरिन्ज नै हो भने नशामा आक्रमण हुनुपर्छ। नशाभन्दा बाहिर सिरिन्ज लगाइयो भने त्यसले खासै अर्थ राख्दैन।‘

बनेपाकी युवतीमाथि भएको सिरिन्ज आक्रमण काठमाडौंको भन्दा फरक रहेको टेकु अस्पतालकै अर्का चिकित्सक डा. शेरबहादुर पुनले बताए। 'यो घटनामा सिरिन्ज प्रयोग भएको आशंका गरिएको छ। तर सिरिन्ज नै हो होइन भन्‍ने थाहा हुन कम्तीमा ३ महिना लाग्छ। आक्रमण गरिएको बिरामीमा तीन महिनापछि कुनै संक्रमण देखिएमा मात्रै टुंगो लाग्छ।;

किलाले घोपिएका पनि अस्पतालमा

कोही मान्छेसँग ठोक्किएर कोतरिए पनि सिरिन्ज हान्यो भन्दै आउने बढिरहेका छन्। धारिलो वस्तुले शरिरममा कोपिएको भन्दै आउने विरामीको संख्या अस्पतालमा बढ्दै गएको डा बाँस्तोलाले बताए।  

‘सिरिन्ज अट्याक भनेर समाचार आएपछि मानिसमा मनोवैनिक त्रास बढेको देखियो। त्यसकै परिणाम किलाले घोच्दा पनि आत्तिएर अस्पताल आउने क्रम बढेको छ', उनले भने, ' काठमाडौंका पाँचवटा केस चाहिँ संवेदनशीलै थिए। त्यो भन्दा पछाडि डर त्रासले अस्पताल आउने बढेका छन्।'

प्रहरी भन्छ : डराउनु पर्दैन 

उपत्यकामा सिरिन्ज आक्रमण बढेको भन्दै धेरै त्रास फैलिएपछि प्रहरीले यसको गम्भीर अनुसन्धान भइरहेको जनाएको छ। डल्लु, सीतापाइलामा सिरिन्ज आक्रमण गरेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको माहानगरीय परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। 'हामीले यो घटनालाई गम्भीर रुपमा लिएका छौँ',  उनले भने, 'केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ।'

एसएसपी सुवेदीले केही व्यक्तिको रिसइवी तथा विभिन्‍न रोग सार्ने उद्धेश्यले सिरिन्ज आक्रमण हुने गरेको बताउँदै नआत्तिन आग्रह गरे।

जिल्ला प्रहरी काभ्रेका डिएसपी दीपक गिरीले बनेपमा युवतीमाथि भएको आक्रमणमा सिरिन्ज प्रयोग भएको अनुमान गरिए पनि पुष्टि हुन नसकेको बताए । उनले अनुसन्धान भइरहेकाले सिरिन्ज आक्रमण भएको एकीन भइसकेको छैन। 'ती युवतीमाथि आक्रमण गर्ने पुरुष या महिला हुन् एकीन भएको छै', उनले भने, 'युवतीलाई स्वास्थ्य जाँचका लागि काठमाडौँ पठाएका छौँ। आक्रमणका संलग्नको पनि खोजी भइरहेको छ।'

कसरी सर्छ रोग?

रोग नै सार्ने उद्धेश्यले यदि काठमाडौं र काभ्रेमा युवतीमाथि सिरिन्ज आक्रमण भएको हो भने केही प्राणघातक रोग सर्न सक्ने सम्भावना हुन्छ। सिरिन्ज आक्रमण गरिएको भए पीडितमा एचआईभी-एड्स, क्षयरोग, हेपाटाइटिस बी र सी जस्ता प्राणघातक रोग सर्न सक्ने समेत डा. बाँस्तोलाले बताए।

‘यदि रोग सार्ने उद्धेश्यले नै सिरिन्ज आक्रमण गरिएको हो भने संक्रमण भए नभएको तीन महिनापछि स्वास्थ्य परीक्षणबाट थाहा हुन्छ', बाँस्तोलाले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.