नेकपाका ३५ नगरसभा सदस्यद्वारा बैठक बहिष्कार

|
File Photo

विराटनगर : विवादका बीच नगरसभा बहिष्कार गरेर सदस्य हिँडेपछि नगरसभा स्थगित भएको विषय गलत भएको मोरङ सुन्दर हरैंचाका प्रमुख शिव ढकालले दाबी गरेका छन्।

विभिन्न संचारमाध्यमका समाचार गलत ढंगले नगरसभा स्थगित भएको भनिएको भन्दै उनले असहमति पनि प्रकट गरे। ‘नगरसभा ३६ जना उपस्थित भएर सानदार ढंगले सम्पन्न भएको हो,’ ढकालले भने, ‘क्लोजिङमा पनि बहुमत सदस्यको हस्ताक्षर भएको छ।’

उनले कानूनी र वैधानिक हिसाबले प्रक्रिया पूरा गरेर सभा स्थगन गरेको जानकारी गराए। बाहिर निस्किएर विज्ञप्ति जारी गर्नु र बहिष्कार गर्नुको कुनै अर्थ नभएको उनले बताए। ‘हामीले कानूनी हिसावले वैधानिक तरिकाले नगरसभा स्थगित गरेका छौं, बाहिर विज्ञप्ति जारी गर्ने र बहिष्कार गर्ने कुराको कुनै अर्थ छैन,’ उनले भन, ‘असहमति र बिमती भए कानूनी उपचारका लागि माथिल्लो निकाय वा अदालत जाँदा हुन्छ।’

बजेट, नीति तथा कार्यक्रम उपमेयरले प्रस्तुत गरेको बताउँदै उनले त्यो विधिसम्मत तरिकाले नै आएको पनि बताए। तर, सधैँभरि विरोध गर्ने, दुःख दिने झमेला निकाल्ने योजनामा केही मानिस लागेको पनि उनले बताए। ‘आजसम्म तीन वटा नगरसभामा प्रस्तुत बजेटमध्ये तीनै वटामै विरोध र बहिष्कारको नाटक भएको छ,’ उनले भने, ‘बजेट सजिलै पारित भए जस मेयरलाई जान्छ भनेर अनेक बखेडा हुन खोजेको हो।’

उनले विज्ञप्तिमा जारी गरेको जस्तो जनताको २० प्रतिशत र सरकारको ८० प्रतिशत लगानीमा सडक निर्माण गर्नुपर्ने मागमा आफू सहमत भएको पनि बताए। ‘जनताको २० र १० प्रतिशत लगानी हुनुपर्ने माग सम्बोधन भएको छ, त्यति पनि लगानी गर्न नसक्नेलाई १ सय प्रतिशत सरकारले लगानी गर्ने हाम्रो नियम हो’ उनले भने।

नगरपालिकाले हिसाब सार्वजनिक गर्नुपर्छ भन्ने विषय आन्तरिक लेखापरीक्षण, महालेखापरीक्षणपछि हुने पनि उनले बताए।

यता, सुन्दरहरैंचा नगरकार्यपालिकाका सदस्य भक्तकिरण राईले नगरसभा सम्पन्न भएको नभई स्थगित भएको दाबी गरे। ‘बाटोमा जनताको लागत कति हुने भन्ने विषयमा विवाद भएपछि सदस्यहरू हल छोडेर निस्किनु भयो,’ उनले भने, ‘त्यसपछि मेयरसावले नगरसभा सम्पन्न भएको घोषणा गर्नुभयो भने उपमेयरले स्थगित भएको हो सम्पन्न भएको होइन भन्नुभएको छ।’

यसअघि बुधबार बिहान सुरु भएको नगरपरिषद् बैठक ३५ जना नगरसभा सदस्यले बहिष्कार गरेपछि स्थगित भएको समाचार सार्वजनिक भएको थियो।

नगरसभा नेकपाका ३५ नगरसभा सदस्यले बहिष्कार गरेका छन्। सुन्दरहरैचामा कुल ४८ जना नगरसभा सदस्य रहेका छन्। जसमा ३५ जना नेकपाका र १३ जना नेपाली कांग्रेसका छन्। नगरप्रमुख ढकाल कांग्रेस र उपप्रमुख तामाङ नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन्। नगरप्रमुख ढकालले भने ४८ जना नगरसभा सदस्यमध्ये ३६ जनाले हस्ताक्षर गरेको दाबी  गरे।

सम्बन्धित समाचार 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.