|

दमक : झापाको धरमपुरस्थित मानवअधिकार निगरानी समितिका सदस्य दधिराम धितालले आफ्नो छिमेकीहरुले उपभोग गरिआएको ३ कठा जग्गा कृते गरि आफनो नाममा कायम गरेको खुलासा भएको छ। 

धरमपुर–९ घर भएका धितालले छिमेकी वीरबहादुर खुलालको १० धुर तथा श्रीप्रसाद खरेल, खेमप्रसाद बाँस्कोटा, भेटमाया नेम्बाङ र चन्द्रकला भट्टराईको २ कठा ५ धुर जग्गा कृतेको घटना सार्वजनिक भएको हो। 

धितालमाथि छिमेकी खुलाल बस्दै आएको कित्ता नम्बर २०६६ नम्बरको १० धुर नम्बरी जग्गा जालसाझ गरेर आफनो नाममा बनाएको आरोप छ। 

उनले २०५१ सालमा तत्कालिन सुकुम्बासी समाधान आयोगबाट छिमेकीले उपभोग गरिआएका ऐलानी जग्गाहरु आफ्नो नाममा कायम गरेका थिए।

वडा नागरिक मञ्चका सदस्य धितालको भूमाफिया चर्तिकला बाहिर आएपछि उनी एक सातादेखि फरार छन्। पीडीतहरुले कृते गरेको जग्गा फिर्ता गराउन गाँउलेहरुले दबाब सृजना गर्न थालेपछि धिताल गत मंसीर २५ गते एकाएक सम्पर्कविहीन छन्।

स्थानीयवासीका अनुसार गत मंसीर २५ गते झिलझिलेस्थित इलाका प्रहरी कार्यालयमा भएको छलफलमा धितालले छिमेकीको जग्गा फिर्ता गर्ने बताएका थिए। ‘धितालले सामाजिक रुपमा छिमेकीका भोग्दै आएका ऐलानी जग्गा नियमानुसार दिने सहमति भएको थियो’ बुधबार भएको सर्वपक्षीय भेलामा सहभागी धरमपुरका अग्रज चन्द्रवीर नेम्बाङले भने,‘ अबैध ढंगले जग्गा जालसाझी गर्ने मनसायबाट धितालले छिमेकीलाई ठगे, हामी पीडितलाई सामाजिक न्याय तथा कानुनी न्याय दिन लागेका छौ।’

लामो समय रोजगारीका क्रममा खाडी मुलुक गएका खुलालले केही महिना अघि पुरानो घर भत्काएर पक्की घर बनाउँदा जग्गा धितालले हड्पेको घटना सार्वजनिक भएको थियो। खुलालका अनुसार घर बनाउँदा धितालले धाकधम्की दिदैं आफनो नाममा रहेको जग्गा आफनो भएको दाबी गरेका थिए।
‘धितालले जग्गा मेरो नाममा भएको भन्दै घर बनाउन नदिने जस्ता धम्की दिदै आए,सरकारी अमिनी आएर फिल्ड हेर्दा धितालको माफिया चलखेल पुष्टि भयो ’ पीडित खुलालले भने,‘यसरी छिमेकीलाई उठिबास गराउने माफियालाई हदैसम्मको सजाय हुनुपर्छ।’

उदयपुरको गाइघाटबाट बसाई सरेर धरमपुर आएका धितालले बस्नका लागि शर्मानन्द ढुङगानाबाट त्यहाँ १० धुर जग्गा मात्रै किनेका थिए। तर उनले १ कट्ठा ५ धुर जग्गा भोगचलन गरिआएको खुलेको छ। ‘स्थलगत जग्गानाप जाँच गर्दा धितालले कृते गरि त्यतिका जग्गा हड्पेको देखिएको छ’ वडा नागरिक मञ्चकी संयोजक समेत रहेकी इन्द्रकुमारी पाण्डेले भनिन्,‘धितालले कृते जालसाझ गरि छिमेकी माथि अन्याय गरेका छन्।’

बुधबार सम्पन्न सर्वपक्षीय भेलाले जग्गा कृते गर्ने धितालले पीडितहरुका जग्गा फिर्ता दिनु पर्ने निर्णय गरेको छ।  यो निर्णय कार्यान्वयन गराई सहयोग पु¥याईदिन सरोकारवाला निकायसम्म त्यसबारे पत्राचार गर्ने निर्णयमा उल्लेख छ। निर्णयको बोद्यार्थ धरमपुर गाविस,मालपोत,नापी कार्यालय दमक, जिल्ला प्रशासन कार्यालय,राजनीतिक दलहरुलाई समेत दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.