विद्युत् प्राधिकरण भन्छ : समस्या भदौसम्म रहन सक्छ

|

चितवन : छिनछिनमा विद्युत् काटिदा चितवनको भरतपुर महानगरपालिकाका उपभोक्ता केही समययता हैरानी व्यहोरिरहेका छन्। छिनमै जाँने र छिनमै आउने विद्युत्‍का कारण उद्योगी व्यवसायी, व्यापारी, सञ्चारमाध्यमदेखि विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयसमेत हैरानीमा परेका छन्।

चितवनलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा भए पनि अघोषित रुपमा विद्युत अवरोध भइहँदा गर्मीको सिजनमा आम उपभोक्ता झन समस्यामा परेका हुन्। धेरैजसोले लोडसेडिङमुक्त भएपछि थन्क्याएका जेनेरेटर, इन्भर्टरलगायतका विद्युत 'व्याकप'का सामग्री धुलोपुच्छदै निकाल्न थालेका छन्।

भरतपुर १० का रमेस शर्माले उखर्मउलो गर्मीमा लाइन जाँदा कोठामा बस्नै समस्या परेपछि थन्क्याइएको इन्भर्टर निकालेको बताए। यस्तै भरतपुर १० कै (भित्री कोठामा अर्डरमा टाइपिङको काम गर्ने) रेसम लामाले पनि छिनछिनमा विद्युत् अवरोध भइरहँदा काम गर्नै समस्या भइरहेकाले केही विकल्प सोचिरहेको बताए। अघोषित रुपमा हुनेगरेको विद्युत् अवरोधबारे अधिकांस उपभोक्ता अनविज्ञ देखिन्छन्।

यतिमात्रै होइन विभिन्न नीजि तथा सार्वजनिक सभा समारोह लगायतका कार्यक्रम पनि प्रभावित हुनेगरेका छन्। केहि दिनअघि भरतपुर महानगरपालिकाको चौँथो नगरसभा पनि छिनछिनमा गइरहने विद्युतका कारण प्रभावित भएको थियो। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेको सो नगरसभामा मेयर रेणु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पटकपटक लाइन काटिएको थियो।

यस्तै, अन्य अतिथिले सम्बोधन गर्नेक्रममा पनि विद्युत् अवरोध हुँदा कार्यक्रम अन्धकार बनेको थियो भने कार्यक्रममा सहभागिले नीति कार्यक्रममा महानगरलाई लोडसेडिङमुक्त बनाउने कार्यक्रम नराखेकाले यस्तो भएको भन्न भ्याएका थिए। सो बेला २९ वटै वडाका जनप्रतिनिधिदेखि महानगरका प्रमुख उपप्रमुख, राजनीतिक दलका प्रमुख, सांसद हुँदै नेकपा अध्यक्ष प्रचण्डले पनि महानगरवासीले भोगेका अघोषित लोडसेडिङको अनुभव रामैसँग गरेका थिए।

लोड बढ्दा समस्या

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार गर्मीको मौसममा लोड बढी हुँदा समस्या भएको हो। केन्द्रका प्रमुख सुरेस कुमार महत्तोले गर्मीमा धेरै विद्युत खपत हुँदा बढेको लोड बेलाबेला अहिले भएको पूर्वाधारले नधान्दा यो समस्या आएको बताए। भएका पूर्वाधारले लोड नधान्दा फ्युज जाने, तार चुटिने, एमसिबी क्रिट हुने, ट्रान्सफर्मर जल्ने, तार जुध्ने लगायतका समस्या भइरहेको उनको भनाई छ।

भदौँसम्म कायम रहनसक्छ

प्रमुख महत्तोका अनुसार पौष माघको तुलनामा अहिले डबल भन्दा बढी विद्युत खपत हुने गरेको छ। पौष माघमा भरतपुर केन्द्रअन्तर्गत १ करोड युनिट खपत हुनेगरेकोमा अहिले गर्मीको समय जेठमा साढे २ करोड युनिट विद्युत खपत भएको थियो। उनले भने ‘असार, साउन र भदौमा पनि त्यहि हाराहारीमा खपत हुनेछ।’ उनका अनुसार छिनछिनमा विद्युत् जाने समस्या अगामी भदौसम्म कायम रहनसक्छ।

पूर्वाधार निर्माणका काम जारी

केन्द्रका प्रमुख महत्तोले केही पूर्वाधार निर्माणका क्रममा रहेकाले केही समयपछि लोड व्यवस्थापन हुने र यो समस्या समाधान हुने विश्वास व्यक्त गरे। भरतपुर सवस्टेसनमा ८, चनौली सवस्टेसनमा ४ वटा, माडी सवस्टेसनमा २ गरी १४ वटा फिडर रहेको छ। केन्द्रबाट नारायणगढतर्फ जाँने नयाँ लाइनमा ब्रेकर नहुँदा सञ्चालनमा आउन नसकेको महत्तोको भनाई छ। उनले ब्रेकरका लागि हेटौँडा ग्रिडमा पत्रचार गरिसकिएको बताए।

यस्तै आपटाँडीमा ५ वटा फिडर क्षमताको सवस्टेसन अन्तिम चरणमा पुगेको छ। उनका अनुसार सो सवस्टेसनको काम ८० प्रतिशत सकिएको छ। 

उता, भरतपुर महानगर ६ देवनगरमा ४ वटा फिडर क्षमताको एउटा सवस्टेसन थप्ने प्रकृया सुरु भएको छ। अहिले जग्गा खरिदको काम अघि बढेको छ। यस्तै चनौलीमा रहेको ८ एमभिएको पावार ट्रान्समिटरको क्षमता वृद्धि गरी २० एमभिए गर्ने काम अघि बढेको छ। अहिले टेण्डर आव्हान गरिएको महत्तोले बताए। यस केन्द्र अन्तर्गतका ८६ हजार ग्राहक रहेका छन्। जिल्लामा भरतपुर वितरण केन्द्र र टाँडी वितरण केन्द्र गरी २ स्थानबाट विद्युत वितरण भइरहको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.