रुट परमिट माग्‍न कोही आएका छैनन् : प्रजिअ

|

मुगु : सदरमुकाम गमगढी २०६९ साल पौष १ गतेदेखि औपचारिकरूपमा सडक यातायातसँग जोडिएपछि धमाधमरूपमा गाउँगाउँमा सडक खन्ने काम पनि भयो। गाउँ गाउँमा सडक खन्ने कामसंगै गाडी पुर्‍याउन प्रतिस्पर्धा भए पनि जिल्ला भित्रका धेरै जसो सडकमा रुट  परमिट नै नभई गाडी गुडिरहेका छन।

 २०६९ साल पौष १ गते तत्कालीन प्रधानमन्त्री बावुराम भट्टराईले नाग्म– गमगढी सडक खण्ड निर्माण भएपछि सदरमुकाम गमगढी भव्यका साथ गाडी उद्घाटन गरे  पनि नाग्मदेखि गमगढीमा गाडी गुडाउन रुट परमिट भने चार वर्ष पछि दिइएको थियो।

नाग्म गमगढी सडक खण्डबाहेक रुट परमिट छैन

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सम्बन्धित क्षेत्रको यातायात व्यवस्था विभागका अञ्चल तथा क्षेत्रीय कार्यालयबाट रुट परमिट लिनुपर्ने प्रावधान रहेको छ। अहिले नाग्म – गमगढी सडक खण्डबाहेक अन्य जिल्ला जोड्ने कुनै पनि सडकमा गाडी गुडाउने अनुमति छैन।

गमगढीदेखि उत्तर सोरु गाउँपालिकाको तारापानीसम्म २३ किमी सडकमा अहिले ट्याक्टर तथा साना सवारीसाधन रुट परमिटबिनै चलेका छन् भने तारापानीदेखि कालै र तारापानीदेखि सोरुकोट सडकको अवस्था उही छ।

सिंजाको गोठी ज्युला –कालाकाँडा –गम्था सडकको पनि रुट परमिटयता पश्चिम खत्याड गाउँपालिकालाई जोड्ने सिंजाको गोठि ज्युला –कालाकाँडा –गम्था सडकको पनि रुट परमिट छैन। गमगढी–नाक्चेलाग्ना सडक खनिएको छाईलसम्मको १७ किलोटरमा पनि व्यवसायीले मालबाहक तथा यात्रुबाहक गाढी गुडिरहेका छन्।

यता, छायानाथ रारा नगरपालिका भित्रका गमगढी– रोवा, गमगढी – बालै– राताचौंर लगायतका सडकमा पनि धमाधम गाडी रुट परमिट विना नै गुडिरहेका छन्।

ठूलो जोखिम उठाएका छौँ : व्यवसायी

यसरी रुट परमिट नपाएका सडकमा गाडी गुड्दा कुनै घटना भए सम्बन्धित व्यवसायी वा गाडी मालिक आफैँले जोखिमको सामना गर्नुपर्ने भए पनि सम्पतिको ठूलो जोखिम उठाएर रुट परमिट नभएका सडकमा सवारीसाधन चलाई रहेको रारा छायानाथ यातायात बस व्यवसायी समितिका अध्यक्ष नवराज चौलागाईले बताए।

रुट परमिट दिने काम जिल्ला प्रशासन कार्यालयको भए पनि कार्यालयले खासै चासो नदेखाएको उनको भनाइ छ।

रुट परमिट माग्न कोही आएका छैनन् : प्रजिअ

यातायात व्यवसायिले यी सडकमा हामी गाडी गुडाउँछौ हामीलाई रुट परमिट चाहियो भनेर आए सम्बन्धित सडकको अवस्था हेरी आफूहरूले यातायात व्यवस्था विभागलाई सिफारिस गर्ने भए पनि व्यवसायी नआएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए। 

यता, यातायात व्यवसायी र स्थानीय प्रशासनले रुट परमिटका विषयमा आ-आफनै दावी गरि रहँदा कच्ची तथा धुलौंटे सडकको यात्राले यात्रुहरुको ज्यानको जोखिम छ। रुट परमिट नलिएका सडकमा कुनै दुर्घटना भई हालेमा  विरामी पर्दा नत उपचार, ज्यानै जाँदा नत विमा तथा क्षतिपूर्ति दाबी गर्ने अवस्था नै रहेको छ।

एक त हिलाम्मे र धुलाम्मे सडकले आफैँमा जोखिम छ भने स्थानीय प्रशासन र व्यवसायीको उदासिनताले रुट परमिट नभएका सडकमा सवारी चलाउनु झन् ठूलो जोखिम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.