कार्यगत एकताका लागि बाबुरामसँग सर्त

|

काठमाडौं : संघीय गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका गतिविधि मुलुकलाई प्रतिगमनमा धकेल्ने किसिमका भएको आरोप लगाएको छ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बिहीबार काठमाडौंमा बसेको गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बैठकले संविधान संशोधनको विरोधको नाममा नेकपा एमालेले दिएको अभिव्यक्ति नश्लीय भएको निष्कर्ष निकालेको छ। एमालेले मुलुकमा जातीय/सामाजिक सहिष्णुतालाई भड्काउने कार्य गरेको आरोप गठबन्धनले लगाएको छ। 

मुलुकलाई विभाजन गरी राष्ट्रिय एकतालाई कमजोर बनाउँदै मुलुकलाई अनिश्चितकालिन गृहयुद्धतर्फ धकेल्ने प्रतिगमनकारी गतिविधि एमालेले गरेकोले त्यसलाई रोक्न सामूहिक रुपमा अघि बढ्ने निर्णय गरेको फोरम महासचिव राजेन्द्र श्रेष्ठले बताए। गठबन्धनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धीलाई धरापमा पार्ने र मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्य तत्काल रोक्न एमालेलाई चेतावनी दिएको छ।

बैठकपछि गठबन्धनका अध्यक्ष यादावद्वारा जारी विज्ञप्तिमा आगामी एक साता भित्र संघीय गठबन्धनले काठमाडौमा बृहत अन्तरक्रिया गर्ने र त्यसपछि गैरभौगोलिक प्रदेशसहित १० वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी निर्णायक आन्दोलनका लागि जनमत निर्माण गर्ने जनाइएको छ। 

सरकारसँग भएको तीन बुँदे सहमति अनुासर संविधान संशोधन प्रस्ताव परिमार्जन सहित व्यवास्थापिका संसदमा अविलम्ब प्रकृया अघि बढाउन संसदमा प्रतिनिधित्व गर्ने सबै दल र सभामुखसँग समेत माग गरिएको श्रेष्ठले थाहाखबरलाई बताए।

अधिकांश शीर्ष नेता अनुपस्थित

संघीय गठबन्धनका अध्यक्ष उपेन्द्र यादवले फोरम केन्द्रीय कार्यालयमा बोलाएको बैठकमा गठबन्धनसहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध दलका शीर्ष नेताको उपस्थिति थिएन।

बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टी अध्यक्ष महन्थ ठाकुर, तमसपाका अध्यक्ष महिन्द्रप्रसाद यादव, रामसपा अध्यक्ष शरतसिंह भण्डारी, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा कोही पनि उपस्थित थिएनन्।

बैठकमा यादव, संघीय लिम्वुवान पार्टीका कुमार लिङ्देन र थरुहट पार्टीका भानुराम थारुबाहेक कुनै पनि पार्टीका अध्यक्ष उपस्थित थिएनन्।

बैठकमा मोर्चाआवद्ध दल फोरमका नेता असोक राई, सद्भावना महासचिव मनिषकुमार सुमन, राष्ट्रिय मधेह समाजवादी पार्टीका उपाध्यक्ष शेखर सिंह, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झा लगायतको सहभागिता थियो।

बाबुरामसँग सर्त

बैठकमा फोरम अध्यक्ष यादवले डा. बाबुराम भट्टराईले संविधान जारी गर्दा खेलेको भूमिकाप्रति आत्मलोचना गर्नु पर्ने र गठबन्धनले अघि सारेका २६ बुँदे मागमा समर्थन जनाए मात्र कार्यगत एकता गर्न सकिने प्रस्ताव अघि सारेका थिए। यादवको सो प्रस्तावप्रति बैठकका अधिकांश नेताले समर्थन गरेका थिए। 

सरकारले संविधान संशोधन विधेयक गत मंसिर १४ गते संसदमा दर्ता गर्दा फोरम अध्यक्ष यादव र डा. बाबुराम भट्टराईले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विधेयकप्रति आपत्ति प्रकट गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.